
कवि केशव निमेषको नवीन कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ सार्वजनिक भएको छ ।
शिखा बुक्सबाट प्रकाशित उक्त कृतिको शनिबार साहित्य, राजनीति र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा काठमाडौंमा विमोचन गरिएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राईले ‘मृत्युगञ्जको मौनता’ समकालीन नेपाली समाजका अन्तर्विरोध, मानवीय संवेदना र समयको गहिरो बेचैनीलाई कवितामार्फत सशक्त ढङ्गले अभिव्यक्त गर्ने कृति भएको बताए ।
उनले केशव निमेषका कविताले युगीन चेतना, प्रतिरोध र मानवीय मूल्यलाई कलात्मक रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै यो सङ्ग्रह समकालीन नेपाली कवितामा अर्थपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।
सामाजिक अभियन्ता तथा कवि अस्मिता वादीले कवितासङ्ग्रहले समाजमा दबिएका आवाज, मौन बनाइएका जीवन र सीमान्तकृत समुदायका अनुभूतिलाई संवेदनशील रूपमा अभिव्यक्त गरेको बताइन् ।
उनले साहित्य केवल सौन्दर्यबोधको विषय नभई सामाजिक रूपान्तरणको माध्यम पनि भएको उल्लेख गर्दै निमेषका कविताले पाठकलाई सोच्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने धारणा राखिन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद सुरेश कुमार चौधरी, खड्कबहादुर बुढा र रमेश मल्लले कवितासङ्ग्रहमाथि शुभकामना तथा समीक्षा प्रस्तुत गरेका थिए ।
उनीहरूले साहित्यले समाजलाई मानवीय, संवेदनशील र लोकतान्त्रिक चेतनातर्फ डोर्याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै ‘मृत्युगञ्जको मौनता’ले समकालीन नेपाली समाजका यथार्थलाई प्रभावकारी ढङ्गले उजागर गरेको धारणा राखे ।
कार्यक्रमको प्रारम्भमा शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्य सिर्जना र प्रकाशनलाई निरन्तरता दिन पाठक, लेखक र प्रकाशकबीचको सहकार्य आवश्यक रहेको बताए । उनले गुणस्तरीय नेपाली साहित्यलाई पाठकमाझ पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा कवि केशव निमेषले आफ्नो लेखन यात्राका अनुभव साझा गर्दै कविता आफ्नो समय, समाज र मानिससँगको निरन्तर संवाद भएको बताए ।
उनले ‘मृत्युगञ्जको मौनता’ आफ्ना व्यक्तिगत अनुभूति मात्र नभई समाजका असङ्ख्य आवाजहरूको प्रतिनिधित्व गर्ने प्रयास भएको उल्लेख गरे ।
कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै उनले पाठकको प्रतिक्रियाले आफ्नो आगामी सिर्जनालाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।