०७ साउन २०८३, बिहीबार

म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाको सुरुवाती अग्रता

असार २८, २०८३
काठमाडौं
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ को अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्याण्ड विरुद्ध सुरुवाती अग्रता लिएको छ। 

कान्सास सिटी स्टेडियममा जारी प्रतिस्पर्धाको १०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १–० को स्थितिमा पुर्‍याएका हुन्।

खेलको सुरुवाती केही मिनेटमा स्विजरल्याण्डले निकै राम्रो र आत्मविश्वासपूर्ण प्रदर्शन गरेको थियो। डान एनडोए र फाबियन रिडरले अर्जेन्टिनाको रक्षापंक्तिलाई व्यस्त राख्दै केही राम्रा मुभहरू बनाएका थिए। विशेषगरी छैटौं मिनेटमा स्विजरल्याण्डले गोल गर्ने सुन्दर अवसर पाएको थियो, तर एनडोए र ग्रानिट झाकाका प्रहारहरू सफल हुन सकेनन्। स्विजरल्याण्डले दबाब बनाइरहेका बेला कप्तान लियोनेल मेस्सीको जादुमयी उपस्थितिले खेलको लय अर्जेन्टिनातिर मोडिदियो।

मेस्सीले बल छुने बित्तिकै स्टेडियममा समर्थकहरूको उत्साह चुलिएको थियो। मेस्सीले मिलाएको बलमा म्याक एलिस्टरले डिब्बा बाहिरबाट गरेको प्रहार स्विजरल्याण्डका डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो। यस गोलसँगै अर्जेन्टिनाले खेलमा पकड जमाएको छ।

अर्जेन्टिनाका लागि यो खेल निकै महत्त्वपूर्ण छ, किनकि आजको विजेताले आगामी बुधबार हुने सेमिफाइनलमा इङ्गल्याण्डको सामना गर्नेछ। इङ्गल्याण्डले यसअघि नै नर्वेलाई हराउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरिसकेको छ। अर्जेन्टिनी कप्तान मेस्सी यस विश्वकपमा ८ गोल गर्दै गोल्डेन बुटको दौडमा केलियन एमबाप्पेसँगै शीर्ष स्थानमा रहेका छन्।

कमेन्ट गर्नुहोस्