०४ साउन २०८३, सोमबार
विश्वकप फुटबल

उपाधि दाबेदार फ्रान्स सेमिफाइनलमै स्तब्ध, स्पेन फाइनलमा

असार ३१, २०८३
काठमाडौं
उपाधि दाबेदार फ्रान्स सेमिफाइनलमै स्तब्ध, स्पेन फाइनलमा

स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान अमेरिकाको डालस स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार फ्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा पुग्न सफल भएको हो।

स्पेनको जितमा मिकेल ओयार्जाबाल र पेद्रो पोरोले एक–एक गोल गरे। खेलको २२ औं मिनेटमा ओयार्जाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई सुरुवाति अग्रता दिलाएका थिए।

त्यसपछि ५८ औं मिनेटमा टोटेनहामका डिफेन्डर पेद्रो पोरोले डानी ओल्मोको पासमा उत्कृष्ट गोल गर्दै स्पेनको जित सुनिश्चित गरे।

पुरै खेल अवधिभर स्पेनले बलमाथि नियन्त्रण राख्दै फ्रान्सलाई दबाबमा राख्यो। 

विश्वकै उत्कृष्ट फरवार्ड मानिएका किलियन एम्बापेका लागि यो रात निकै बिर्सनलायक रह्यो। स्पेनिस डिफेन्डर मार्क कुकुरेलाले एम्बापेलाई पुरै खेलभर चल्न दिएनन् । 

खेलको अन्तिम समयतिर हतास देखिएका एम्बापेले स्पेनिस गोलकिपर उनाई सिमोनलाई धक्का दिएपछि पहेँलो कार्ड समेत पाएका थिए।

फ्रान्सको राष्ट्रिय दिवस 'बास्टिल डे' कै दिन भएको यस हारले फ्रान्सेली समर्थकहरूलाई स्तब्ध बनाएको छ। सन् २०१२ देखि टोली सम्हाल्दै आएका प्रशिक्षक दिदिएर डेसक्याम्प्सका लागि यो हार निकै महँगो साबित भएको छ। 

१४ वर्षको कार्यकालमा फ्रान्सलाई एक पटक विश्वकप जिताएका र अर्को पटक फाइनल पुर्‍याएका डेसक्याम्प्स यसपटक सेमिफाइनलबाटै बाहिरिनु परेको छ।

स्पेनले अब उपाधिका लागि फाइनलमा इङ्गल्याण्ड वा अर्जेन्टिना मध्ये एकको सामना गर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्