०७ साउन २०८३, बिहीबार

ठगी आरोपमा एकै परिवारका तीन जना पक्राउ​​​

साउन २, २०८३
जनकपुरधाम
ठगी आरोपमा एकै परिवारका तीन जना पक्राउ​​​

दृष्टि बन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ ।

अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनका श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

प्रहरी उपरीक्षक खड्काका अनुसार गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२ निवासी गोविन्दकुमार साहले व्यापार व्यवसाय गर्नका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर ९९ लाख ऋण लिएका थिए ।

गोविन्द साहले दृष्टि बन्धकमा रजिष्ट्रेसन गरिदिएको जग्गापछि जग्गाधनीलाई थाहै नदिइ गोपाल साहसहित तीनै जनाले बैंकमा धितो राखी रु चार करोड ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताए ।

जनकपुरधामस्थित गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप र विभिन्न छाप तथा नक्साहरू बरामद गरिएको प्रहरी उपरीक्षक खड्काको भनाइ छ ।

पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्