
पर्यावरणविद् तथा सामाजिक कार्यकर्ता सोनम वाङ्चुकको स्वास्थ्य अवस्था बिग्रिएपछि दिल्ली प्रहरीले उनलाई जन्तर–मन्तरबाट स्थानीय अस्पतालमा भर्ना गरेको छ।
वाङ्चुक पछिल्लो २० दिनदेखि एनईईटी, सीबीएसई, सीयूईटी र एसएससीजस्ता परीक्षामा प्रश्नपत्र चुहावट भएको भन्दै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आमरण अनशनमा थिए। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि अदालतको आदेश र चिकित्सकहरूको सल्लाहअनुसार प्रहरीले उनलाई अस्पताल पुर्याएको हो।
वाङ्चुक अस्पताल भर्ना भएपछि जन्तर–मन्तरमा प्रदर्शन गरिरहेका अन्य प्रदर्शनकारीलाई पनि त्यहाँबाट हटाइएको छ। उनी २८ जुनदेखि अनशनमा बसेका थिए।
शुक्रबार राति सार्वजनिक गरेको भिडियो सन्देशमा वाङ्चुकले आफ्नो तौल करिब २० प्रतिशत घटेको र मांसपेशीसमेत प्रभावित हुन थालेको बताएका थिए। उनले शरीरको बोसो घटिसकेपछि अब अन्य तन्तु र मांसपेशीमा असर परेको तथा लामो समयसम्म यस्तो अवस्था रहे भित्री अङ्ग र अन्ततः मस्तिष्कमा पनि असर पर्न सक्ने बताएका थिए। यद्यपि आफ्नो मानसिक अवस्था अझै बलियो रहेको उनको भनाइ थियो।
उनले २० जुलाईमा आयोजना हुने ‘चलो संसद’ मार्चमा ठूलो संख्यामा सहभागी हुन देशवासीलाई आह्वान गर्दै करोडौँ विद्यार्थीको भविष्यसँग जोडिएको शिक्षा प्रणालीमा देखिएको कथित गडबडीबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन्। एनईईटी विवादपछि केही विद्यार्थीले आत्महत्या गरेको दाबी गर्दै उनले त्यसबारे पनि सरकारसँग जवाफ मागेका छन्।
वाङ्चुकको आन्दोलनलाई विभिन्न नागरिक संस्था तथा राजनीतिक दलका नेताहरूले समर्थन जनाएका छन्। शिवसेना (यूबीटी) प्रमुख उद्धव ठाकरेले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै केन्द्र सरकारको आलोचना गरेका छन्।
चिकित्सकहरूका अनुसार लामो समयदेखि भोजन नगर्दा वाङ्चुकको तौल निरन्तर घटिरहेको छ। चिकित्सक डा. सतीश लाम्बाका अनुसार शुक्रबार ५६.५५ किलोग्राम रहेको उनको तौल २४ घण्टामै थप ३५० ग्रामले घटेको छ। शरीरमा पानीको मात्रा पनि कम हुँदै गएको र अनशन लम्बिए अन्य अङ्गहरूमा समेत असर पर्न सक्ने भन्दै चिकित्सकहरूले चेतावनी दिएका छन्। हाल उनको स्वास्थ्य अवस्था २४ घण्टा चिकित्सकीय निगरानीमा राखिएको छ।