
भक्तपुर सल्लाघारीमा डेरा गरी बस्दै आएका आकार रसाइलीको हत्याका पछाडि हातमा खोपिएको ‘टाटु’ मुख्य कारण रहेको तथ्य बाहिर आएको छ ।
एउटा होटलमा दुई युवाले टाटुको विषयमा सोधपुछ गर्दा भएको सामान्य विवादमा रसाइलीको चक्कु प्रहार गरी हत्या भएको हो । यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तेह्रथुम संक्रान्तिबजार घर भएका दोर्जे भन्ने पासाङ छिरिङ शेर्पा र गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ घर भएर भक्तपुर सल्लाघारी बस्ने रमेश कुँवर छन् ।
गत असार ८ गतेको घटनामा अनुसन्धान सक्काएर सरकारी वकिल कार्यालयले शेर्पा र कुँवरविरुद्ध साउन ४ गते मात्रै भक्तपुर जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयमा शेर्पाले रसाइलीको हत्या स्वीकार गरेका छन् । प्रहरीले रसाइलीको हत्यामा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ ।
शेर्पाले बयान दिए अनुसार एउटा होटलमा मदिरा पिइरहेका बेला उनले रसाइलीले हातमा खोपेको टाटुको मूल्य सोधेका थिए । रसाइलीले ५० हजार रूपैयाँ लागेको जवाफ दिए । त्यही विषयमा शेर्पा र रसाइलीबीच भनाभन हुन्छ । त्यहीबीचमा झगडा छुट्याएर दुवैलाई आ–आफ्नो घर पठाएको केही समयपछि रसाइलीले साथीसहित शेर्पा र कुँवर भएको ठाउँमा पुग्छन् ।
दुवै समूहबीच हात हालाहाल हुन्छ । शेर्पाले बयान दिए अनुसार उनले घटनास्थल नजिकै चटपटे बनाउन प्रयोग भएको चक्कुले रसाइलीमाथि प्रहार गर्छन् ।
‘त्यतिबेला कुँवरले रसाइलीलाई कसिलोसँग समात्छन्, मैले रसाइलीको शरीरको पछाडि भागमा दुई पटक चक्कु प्रहार गरेको हो’, शेर्पाले बयानमा भनेका छन्, ‘हामी भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । मेरो ट्रयाकबाट बरामद भएको चक्कु नै रसाइलीको हत्यामा प्रयोग भएको हो ।’
उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा रसाइलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल प्रहरी नियन्त्रणमा रहेका शेर्पा र कुँवर पेशाले ज्यामी हुन् । शेर्पा भने यसअघि पनि प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहार मुद्दा खेपेका आरोपी हुन् ।
प्रहरीमा जाहेरी दिएकी रसाइलीकी श्रीमती शर्मिला बास्कोटेका अनुसार छोरा बिरामी परेपछि रसाइली औषधि लिन बाहिर गएका थिए ।
‘रातिको खाना नखाइ बच्चालाई औषधि र आफूलाई चुरोट लिन डेराबाट बाहिरिएका मेरो श्रीमानलाई मारियो’, बास्कोटेले बयानमा भनेकी छिन्, ‘राति ९ बजे उहाँ डेराबाट निस्कनुभयो, साढे १० बजे अस्पताल लगेको खबर आयो ।’
मृतक रसाइली पेशाले ‘टाटु आर्टिस्ट’ हुन् । घटना भएको दिन पनि उनले हाल प्रहरी नियन्त्रणमा रहेका शेर्पा र कुँवरलाई आफू टाटु आर्टिस्ट भएको बताएका थिए ।
कुँवरले बयानमा भनेका छन्,‘टाटु खोप्न तीन हजार भए पुग्नेमा रसाइलीले १५ हजार भनेपछि विवाद शुरू भएको हो । विवादकैबीच घर ठेगाना किन सोधेको भनेर रसाइली उल्टै कराउन थाले । शेर्पाले सहन सकेनन् । अनि चक्कु प्रहार गरे ।’
आरोपीमध्ये शेर्पाले हत्या स्वीकार गरिसकेका छन् । उनले नै कुँवरको नाम बयानमा पोलेका हुन् ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्काका अनुसार यो मुद्दामा अहिले अदालतमा थुनछेक बहस चलिरहेको छ ।