
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् ।
मंगलबार एक सन्देश जारी गर्दै देउवाले प्रतिशोध र निषेधको राजनीति गर्न नहुने बताएका छन् । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने उल्लेख गर्दै देउवाले आफू नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्ने बताएका छन् ।
देउवाले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य सबैको साझा संकल्प बन्नुपर्ने सन्देशमा उल्लेख गरेका छन् । आफू सोही विश्वासका साथ पुन: नेपाली भूमिमा पाइला टेक्न लागेको देउवाको भनाइ छ ।
‘म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु’, देउवाले भनेका छन्, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदैछु ।’
सन्देशमा देउवाले प्रजातन्त्र बलियो बनाउन मेलमिलापको नीति आवश्यक रहेको भन्दै सरकारको आलोचना समेत गरेका छन् । प्रजातन्त्रमा प्रतिपक्षका आवाज थुन्न नसकिने देउवाको भनाइ छ ।
‘प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ,’ देउवाले भनेका छन् ।
देउवाले लोकतन्त्र, संविधान र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा तथा आम नेपालीलाई आह्वान गरेका छन् ।
उनले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मेलमिलापको नीति आज पनि नेपाली कांग्रेसको मार्गदर्शक सिद्धान्त रहेको बताएका छन् । देउवाले बीपीको नेतृत्वमा राजनीतिक यात्रा शुरू गर्न पाएको अवसरलाई आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको उल्लेख गरेका छन् ।
‘आज देशलाई विभाजन होइन, एकता चाहिएको छ । अविश्वास होइन, विश्वास चाहिएको छ,’ देउवाले भनेका छन् ।
देउवाले लोकतन्त्रको रक्षा गर्नु नै राष्ट्रको रक्षा भएको उल्लेख गर्दै नेपाली कांग्रेसमाथि लोकतन्त्र, संविधान, राष्ट्रियता तथा जनताको सुरक्षाको अनुभूति जोगाउने ऐतिहासिक जिम्मेवारी थपिएको बताएका छन् ।
देउवा गत चैत ७ गते सिंगापुरबाट थप उपचारका लागि भन्दै पत्नी आरजु राणासहित हङकङ पुगेका थिए । त्यसयता उनी नेपाल फर्किएका छैनन् ।

