०८ साउन २०८३, शुक्रबार

रुसको सबैभन्दा ठूलो अनलाइन रिटेलर ‘वाइल्डबेरीज’का गोदाममा फेरि युक्रेनी ड्रोन आक्रमण

साउन ६, २०८३
काठमाडौं
रुसको सबैभन्दा ठूलो अनलाइन रिटेलर ‘वाइल्डबेरीज’का गोदाममा फेरि युक्रेनी ड्रोन आक्रमण

युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन रिटेलर वाइल्डबेरीजका गोदाममा पुनः ड्रोन आक्रमण गरेको छ । आक्रमणमा १० जना घाइते भएका छन् ।

रुसी सञ्चारमाध्यम र स्थानीय गभर्नरका अनुसार, गतराति गरिएको ड्रोन आक्रमणमा क्रास्नोडार र स्ताभ्रोपोलस्थित वाइल्डबेरीजका लजिस्टिक्स हबहरूमा क्षति पुगेको हो । आक्रमणपछि गोदाममा कार्यरत कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको कम्पनीकी मालिक तात्याना किमले जानकारी दिएकी छन् ।

गत शनिबार पनि युक्रेनले ताम्बोभ र इलेक्ट्रोस्टालस्थित वाइल्डबेरीजका गोदाममा आक्रमण गरेको थियो । उक्त घटनामा आठ जनाको मृत्यु हुनुका साथै ६२ जना घाइते भएका थिए ।

युक्रेनले ती गोदाम रुसका ड्रोन तथा नेभिगेसन उपकरण निर्माणका लागि आवश्यक सामग्री आपूर्तिमा प्रयोग भइरहेको दाबी गर्दै आएको छ ।

कम्पनीकी मालिक किमले टेलिग्राममार्फत जारी गरेको वक्तव्यमा सर्वसाधारण कर्मचारीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै यस्तो घटनाले आफूहरूलाई आफ्नो काम अझ जिम्मेवारीका साथ अघि बढाउन प्रेरित गरेको बताएकी छन् ।

युक्रेनी सुरक्षा तथा सहकार्य केन्द्रका अध्यक्ष सेर्ही कुजानले यसअघि बीबीसीसँग कुरा गर्दै वाइल्डबेरीजको वेबसाइटमार्फत रुसी स्वयंसेवकले सैन्य सामग्री खरिद गर्ने गरेको बताएका थिए ।

उनका अनुसार, यस्ता गोदाममा आक्रमण गर्नुको मुख्य उद्देश्य रुसी सेनाका लागि आवश्यक दोहोरो प्रयोग (डुअल–यूज) हुने सामग्री, महत्त्वपूर्ण इलेक्ट्रोनिक्स तथा प्रतिबन्धित वस्तुको आपूर्ति प्रणालीमा अवरोध सिर्जना गर्नु हो ।

कुजानले यस्ता आक्रमणले रुसी अर्थतन्त्रमा समेत प्रभाव पार्ने र युद्धप्रति रुसी समाजको समर्थनमा मनोवैज्ञानिक असर पर्न सक्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्