
मारिया सान्टाना
विश्वकपको रौनक ओरालो लागेसँगै संसारभरका करोडौं फुटबल प्रेमीहरूमा यतिबेला एउटा अनौठो ‘शून्यता’ छाएको छ ।
करिब एक महिनासम्म फुटबलको तालमा चलेको दैनिकी अचानक अवरुद्ध हुँदा समर्थकहरू ‘स्पोर्ट्स फ्यान ब्लुज’ अर्थात्, खेलप्रेमीहरूको मानसिक शिथिलताबाट गुज्रिरहेका छन् ।
पछिल्लो एक महिनाभन्दा लामो समय फुटबलप्रेमीको जीवनको केन्द्रमै ‘विश्वकप’ थियो । विश्वकपका लागि समर्थकहरूले क्यालेन्डर फेरे, बैठकहरू सारे र खाजा खाने समय पनि लम्ब्याए ।
खेलको विश्लेषण, चर्को बहस, मीम र हार–जितका अनुमानले भरिएका ह्वाट्सएप ग्रुपहरू २४सै घण्टा सक्रिय रहे । विश्वकप केवल एउटा प्रतियोगिता मात्र रहेन, त्यो त एउटा दैनिकी नै बन्न पुग्यो ।
न्यू योर्कको सेन्ट्रल पार्कमा स्पेनको जितको उत्सव मनाइरहेका श्रीश बिरेड्डीको भनाइ थियो, ‘कामबाट फर्किनेबित्तिकै ४ बजेको खेलका लागि तयार हुनुपर्ने दिनचर्या नै बनेको थियो । तर, विश्वकपको अन्तिम सिट्ठी बजेसँगै सबै कुरा सकिएको छ ।’
यतिबेला, समर्थकहरूका लागि बिहान कफी खाँदै तालिका हेर्ने, काममा जाँदा आफ्नो मनपर्ने राष्ट्रको जर्सी लगाउने वा अन्तिम मिनेटको गोलमा अपरिचितसँग अंकमाल गर्ने दिन सकिएका छन् ।
अर्का समर्थक आमिर भन्छन्, ‘अबका दिनहरू पक्कै पनि बोरिङ हुनेछन् । म र मेरा साथीहरूलाई त विश्वकपका सबै खेल हेर्ने बानी नै परिसकेको थियो ।’
मनोवैज्ञानिकहरूका अनुसार ठूला खेलकुद प्रतियोगिताले समर्थकको मनोविज्ञान र सामाजिक लयमा गहिरो प्रभाव पार्छन् ।
समर्थकहरूले आफ्नो समय, पहिचान र उत्साहलाई हरेक खेलमा लगानी गरेका हुन्छन् । आफ्नो टोलीले ट्रफी जितोस् वा हृदयविदारक हार ब्यहोरोस्, खेलको रमझम अचानक टुंगिँदा समर्थकहरू आफूलाई एक्लो वा अलमलमा परेको महसुस गर्छन् ।

बिरेड्डी थप्छन्, ‘महिनाभरि खेल हेर्ने, जर्सी किन्ने र साथीहरूसँग बहस गर्ने बानी परेको थियो । विश्वकप सकिएपछि अब घरबाट बाहिर निस्कने कुनै गतिलो बहाना नै भेटिँदैन ।’
आजको डिजिटल युगमा मानिसहरू विभाजित भइरहेको समयमा, विश्वकपले संसारभरका मानिसलाई एउटै सूत्रमा बाँध्ने काम गरेको थियो ।
सम्पूर्ण राष्ट्र एकसाथ खुसी मनाउँथे अनि, दु:खी हुन्थे । परिवारहरू एकजुट हुन्थे र साथीभाइसँगको सम्बन्ध नवीकरण पनि हुन्थ्यो ।
खेलका क्रममा गरिने रणनीतिक छलफल र रेफ्रीका निर्णयमा गरिने टिप्पणीले अपरिचितलाई पनि नजिक ल्याएको थियो ।
सेन्ट्रल पार्कमा भेटिएका समर्थक तास्फिक तनिम भन्छन्, ‘विश्वकपले जस्तो मानिसहरूलाई एक ठाउँमा अरु केहीले उभ्याउन सक्दैन । अब हाइलाइट्स हेर्दै पुरानो यादमा रमाउनुको विकल्प छैन ।’
अर्का समर्थक ग्लेन भियोलाका अनुसार ‘तपाईं यति धेरै हुटहुटीमा डुब्नुहुन्छ कि यो कहिल्यै नसकिएला जस्तो लाग्छ । तर, भोलिपल्ट बिहान उठ्दा जब कुनै खेल छैन भन्ने थाहा हुन्छ, अनि महसुस हुन्छ कि अब अर्को चार वर्ष कुर्नुपर्छ । त्यो पक्कै पनि कठिन क्षण हुन्छ ।’

मानोवैज्ञानिकहरूका अनुसार यो ‘इमोसनल ह्याङ्ओभर’ लामो समय रहँदैन । यो शून्यतालाई हटाउने उत्तम उपाय भनेको विश्वकपका क्रममा बनेका सामाजिक सम्बन्धहरूलाई निरन्तरता दिनु नै हो । साथीहरूसँगको ग्रुप च्याटलाई सक्रिय राख्ने र अन्य नयाँ काममा ध्यान लगाउनु नै यसको विकल्प भएको उनीहरू बताउँछन् ।
केही समयपछि जर्सीहरू दराजमा थन्किनेछन् र वार्तालापका विषयहरू फेरिनेछन् । तर, अहिले पनि यदि तपाईंले आफ्नो फोन खोल्नुभयो र आज कुनै खेल छैन भनेर थाहा पाउनुभयो भने मनमा पक्कै पनि थोरै खिन्नता महसुस हुन्छ ।
यदि, यस्तो भयो भने ढुक्क हुनुहोस्, तपाईं एक्लो हुनुहुन्न । अहिले संसारका धेरै समर्थकहरू आफैंलाई प्रश्न गरिरहेका छन्, ‘अब के गर्ने ?’ -सीएनएन