
नेपाली कांग्रेसका नेता केदार कार्कीले सभापति गगन थापामाथि गम्भीर आरोप लगाएका छन् । उनले गगनले गरेका ‘अनियमितता’को एक/एक हिसाब गरिने चेतावनी समेत दिए ।
बुधबार ४४ औं बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित संस्थापन इतरको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले गिरिजाप्रसाद कोइरालाले तत्कालीन अवस्थामा गगनलाई कहीँबाट परिचालित छन् भनेको कुरा आज प्रमाणित भएको बताए ।
नेविसंघ विघटन गर्दा गुरु (गुरु घिमिरे) र गगनलाई हटाइयो भनेर हल्ला चलाइएको, सभापति गिरिजा प्रसाद कोइरालाका विरुद्ध लागेको र कपाल मुण्डन गरिएको कार्कीले स्मरण गरे ।
‘मलाई झल्झली याद छ गिरिजाबाबुले नेविसंघ विघटन गर्दा गुरु र गगन हटाइयो भनेर हल्ला चलाइएको, गिरिजाबाबुका विरुद्ध लागेको, कपाल काटेको’, कार्कीले भने, ‘गिरिजाबाबुले त्यतिखेरै भन्नुभएको थियो- यिनीहरू कहीँबाट सञ्चालित छन् भनेर । आज त्यसको प्रमाणित हुँदैछ । विस्तारै आफ्नै नाङ्गो आँखाले देखिँदैछ ।’
यति मात्र होइन कार्कीले गगनले एनजीओ, आईएनजीओ र सरकारी संयन्त्र प्रयोग गरेर पैसा कमाएको समेत आरोप लगाए ।
‘हामीलाई थाहा छ, तपाईं मन्त्री भएको बेलामा नियुक्त भएका भीसीको मृत्यु कसरी भएको हो भन्ने । हामीलाई थाहा छ हामी एक/एक हिसाब गर्छौं । कसलाई लगाएर एनजीओमार्फत् पैसा लिनुहुन्छ त्यो पनि हामीलाई थाहा छ । भ्रष्ट कांग्रेस कता छ, प्रस्ट कांग्रेस कता छ आजबाट दिनगन्ती शुरू हुन्छ’, कार्कीले भने ।
कार्कीले सभापति थापाले कांग्रेसका पुराना सबै नेतालाई प्रयोग गरेको र झुक्याएको आरोप पनि लगाए ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका कार्कीले २०३३ सालको भन्दा पनि अहिले देश गम्भीर अवस्थामा रहेको बताए । राष्ट्रियता खतरामा रहेको उल्लेख गरे ।
‘यो बेलामा नेपाली कांग्रेस जिम्मेवार हुनुपर्ने हो । राष्ट्रियता खतरामा भएका बेला बीपी म प्रधानमन्त्री बन्छु भनेर आउनुभएन । म मरे मेरै देशमा मर्छु भनेर बीपी स्वदेश फर्किनुभयो’, कार्कीले भने, ‘तर आज केवल पदका लागि म नेपाली कांग्रेसको सभापति हुँ, म भोलि प्रधानमन्त्री बन्छु र मेरा अग्रज नेताहरूलाई घोक्र्याएर निकाल्छु भन्ने ! भदौ २४ गते घरमा आगो लाग्दा आफ्ना मातापितालाई लिएर छुट्टै घरमा डेरा बस्न जाने सभापतिले पार्टीका अभिभावकहरूलाई डाँडामा लिएर फाल्छु भन्न सुहाउँछ ? नैतिकताको पनि कसी हुन्छ ।’
सभापति थापाले बीपी स्मृति दिवसलाई खिल्ली उडाएको पनि कार्कीको टिप्पणी छ ।
‘बीपीको विचार मन्थन गर्ने पार्टी अफिसलाई उहाँहरूले शुटिङस्पट बनाउनुभएको छ । बीपी विचारलाई बाहिर ल्याउने, जनजीवन र जनजीविकाको स्वतन्त्रतासँग जोडिएका विषयलाई बाहिर ल्याउनुपर्नेलाई टिकटक र रिलमार्फत् बाहिर मजाक उडाइरहनुभएको छ । हामी त्यो दु:खमा छौं अहिले’, कार्कीले भने ।