०८ साउन २०८३, शुक्रबार

इन्स्पेक्टर मल्ल मधेशको सर्वोत्कृष्ट प्रहरी घोषित

साउन ७, २०८३
काठमाडौं
इन्स्पेक्टर मल्ल मधेशको सर्वोत्कृष्ट प्रहरी घोषित

सिरहामा कार्यरत नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल मधेश प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले प्रहरी निरीक्षक मल्ललाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले बुधबार मल्ललाई प्रशंसापत्र र पुरस्कारसहित सम्मान गरे । मल्लले सांगठनिक जिम्मेवारी पूर्ण रूपमा लगनशील र कर्तव्यनिष्ठ भई निर्वाह गरेको, समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराध अनुसन्धान तथा लागूऔषध नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेलेको मधेश प्रहरीले जनाएको छ ।

सिरहास्थित इलाका प्रहरी कार्यालय, महेशपुरका प्रमुख रहेका प्रहरी निरीक्षक मल्लले गत असार ७ मा सिरहा नगरपालिका-२१ लगडीगोठबाट कुख्यात लागूऔषध कारोबारी भारतीय नागरिक २८ वर्षीय छोटु भन्ने रंजितकुमार पासवान र नवराजपुर गाउँपालिका-५ स्थित सीमावर्ती क्षेत्रबाट असार १९ मा भारतको मधुवनी जिल्लाका अब्दुल कलामलाई खुट्टामा गोली प्रहार गरी लागूऔषधसहित नियन्त्रणमा लिएका थिए ।

यस्तै, सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित दोनवारी टोलकी २४ वर्षीया आनन्दी सदाय मृत्यु प्रकरणका अभियुक्तहरू २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवलाई समेत मल्लको कमान्डमा खटिएको प्रहरी टोलीले सीमावर्ती क्षेत्रबाट खोजतलास गरी पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्