११ साउन २०८३, सोमबार

सुकुनामा विद्यार्थीको डिजिटल विद्रोह : एउटा इमेलले उदाङ्गो पार्‍यो ‘गुरू’हरूको कर्तुत

साउन ७, २०८३
विराटनगर
सुकुनामा विद्यार्थीको डिजिटल विद्रोह : एउटा इमेलले उदाङ्गो पार्‍यो ‘गुरू’हरूको कर्तुत

यही साउन ३ गते राति मोरङको सुन्दरहरैंचा-१० स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थी सुतेका थिएनन् । उनीहरूका औंला मोबाइलको स्क्रिनमा तीव्र गतिमा चलिरहेका थिए भने मनमा वर्षौंदेखि गुम्सिएको आक्रोशको ज्वालामुखी दन्किरहेको थियो । 

उनीहरू नसुत्नुको कारण भने विद्यालयका शिक्षकको अमर्यादित व्यवहारले हैरान भएर आन्दोलनको तयारीमा रहेका विद्यार्थी हुन् । यो आन्दोलनको शुरूआत भने अलिक अगाडिबाट भएको देखिन्छ । 

गत असार १९ गते जिल्ला प्रशासन कार्यालय मोरङमा इमेलमार्फत् एउटा पत्र जान्छ ।  त्यो पत्रले शिक्षाको मन्दिर भनिने विद्यालयभित्र लुकेको कुरूप र वीभत्स यथार्थलाई सडकमा ल्याइदियो ।

यो कुनै सामान्य उजुरी थिएन, यो त कक्षा ११ र १२ का विद्यार्थीहरूले आफ्नो अस्मिता र आत्मसम्मानका लागि राज्यलाई पुकारेको एउटा ‘डिजिटल चिच्याहट’ थियो ।

विद्यार्थीहरूले प्रशासनलाई पठाएको पत्रमा विद्यालयका शिक्षक सुरेन्द्र बाबु श्रेष्ठको क्रूरताको नालीबेली थियो । शिक्षकले विद्यार्थीलाई सामान्य गल्तीमा पनि पाइप र भाटाले अत्यन्त अमानवीय तरिकाले कुटपिट गर्ने गरेको विद्यार्थीले जिल्ला प्रशासनमा पठाएको पत्रमा उल्लेख छ । 

घटना त्यतिमा मात्र सीमित छैन; उजुरीका अनुसार शिक्षक श्रेष्ठले छात्राका संवेदनशील अंगमा समेत पाइपले प्रहार गर्ने जस्ता हिंसात्मक र अत्यन्तै अनुचित व्यवहार गर्दै आएका थिए ।

वर्षौंदेखि विद्यार्थीहरू यो पीडा सहँदै आएका थिए । उनीहरूले विद्यालय प्रशासन र विभागीय प्रमुखहरूलाई गुहारे, तर परिणाम शून्य रह्यो । 

विद्यालय प्रशासनले घटना रोक्नुको साटो मौन समर्थन जनाइरह्यो । स्थानीय नगरपालिकामा दुई पटक लिखित निवेदन दिँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर विद्यार्थीहरूले सिधै जिल्ला प्रशासन कार्यालयको ढोका ढक्ढक्याएका थिए ।

विद्यार्थीको इमेलपछि जिल्ला प्रशासन कार्यालय मोरङ एक्सनमा उत्रियो । सीडीओ युवराज कट्टेलको निर्देशनमा प्रहरीले तत्कालै शिक्षक सुरेन्द्र बाबु श्रेष्ठलाई नियन्त्रणमा लियो । तर, कथा यहाँ सकिँदैन ।

शिक्षक पक्राउ परेलगतै विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतको टोली उनलाई छुटाउन सिधै जिल्ला प्रशासन कार्यालय पुग्यो । स्रोतका अनुसार, प्रअ बस्नेतले सीडीओ कट्टेललाई भेटेर घटना सामसुम पार्न र शिक्षकलाई छोड्न निकै दबाब दिएका थिए । तर सीडीओ कट्टेल टसमस भएनन् ।

‘यस्तो अपराध लुकाउनु हुँदैन । यस्ता घटनालाई बाहिर ल्याएर कारबाही गरेपछि मात्र अरु विकृति बाहिर आउँछन्,’ सीडीओ कट्टेलले प्रअको टोलीलाई भनेका थिए, ‘तपाईंहरू यस्तो व्यक्तिलाई छुटाउन नआउनुस् । राम्रो हुँदैन ।’

जब प्रअ बस्नेतले ‘हामी स्कूलको बदनाम गर्न चाहँदैनौं’ भनेर तर्क गरे, तब सीडीओले झनै कडा जवाफ दिए, ‘यो बदनामको कुरा होइन, यो न्यायको कुरा हो ।’ केही बेरको नोकझोकपछि प्रअको टोली रन्किँदै त्यहाँबाट बाहिरिएको स्रोतले बतायो ।

विद्यार्थीहरूले यो लडाइँ धेरै अघिदेखि शुरू गरिसकेका थिए । उनीहरूले फेसबुकमा ‘एसकेएन’ (SKN) नामक ग्रुप चलाएका थिए, जहाँ विद्यालयका विसंगतिबारे छलफल हुन्थ्यो । तर शिक्षकहरूले उल्टै उनीहरूलाई साइबर अपराधमा फसाउने धम्की दिए । यही धम्की नै विद्यार्थीहरूका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

धम्कीबाट डराउनुको साटो उनीहरूले ‘एसकेएन कन्फेसन एन्ड मेमेज्’ नामक फेसबुक पेज नै बनाएर आन्दोलनलाई थप सशक्त बनाए । साउन ३ गते राति भएको एउटा गोप्य छलफलमा ५८७ जना विद्यार्थी ह्वाट्सएप ग्रुपमा जोडिए । १८ जनाको एउटा छुट्टै ‘डिस्कोर्ड’ ग्रुप बन्यो, जहाँ आन्दोलनको रणनीति तयार हुन्थ्यो ।

विद्यार्थीहरूको आक्रोश यतिसम्म थियो कि केहीले विद्यालय तोडफोड गर्ने योजना समेत बनाएका थिए । तर, जेन्जी आन्दोलनका घाइते अभियन्ता सन्तनु ढकाल र कानूनका विद्यार्थीहरूले उनीहरूलाई संयमित बनाए । 

‘हाम्रो लडाइँ कानूनी हुनुपर्छ, भौतिक संरचना भत्काएर होइन, प्रमाणले अपराधीलाई भत्काउनुपर्छ,’ भन्ने सल्लाहपछि विद्यार्थीहरूले संयमता अपनाए ।

विद्यार्थीहरूको आक्रोश कति भयावह थियो भन्ने कुरा यसैबाट पुष्टि हुन्छ कि, विद्यालय प्रशासनले आफ्ना बस र गाडी जोगाउन रातारात लक्ष्मी मार्गस्थित सशस्त्र प्रहरी बलको ब्यारेकभित्र लुकाउन पुग्यो । ३ गते राति १२ बजेसम्म स्थिति यति तनावपूर्ण थियो कि कुनै पनि बेला विस्फोट हुन सक्थ्यो । 

तर विद्यार्थीहरूले डिजिटल प्लेटफर्ममार्फत प्रमाण संकलन गरेर कानूनी बाटो रोजे । उनीहरूले सीडीओलाई शिक्षकले ह्यारेसमेन्ट गरेको अडियो रेकर्ड समेत पठाएका थिए । सुरेन्द्र भने छुटिसेकका छन् ।

अहिले यो घटनाले ठूलो मोड लिएको छ । सुरेन्द्र बाबु श्रेष्ठ मात्र होइन, विद्यार्थीहरूको साहसका कारण अन्य सन्दिग्ध पनि प्रहरीको फन्दामा परेका छन् । प्रहरीले शिक्षकहरू किशोरलाल गच्छदार र अविरल मास्के, सवारी चालक प्रदीप भट्टराई र नृत्य प्रशिक्षक भीम नेपाललाई पक्राउ गरिसकेको छ ।

प्रहरीले उनीहरूलाई ‘बालबालिका सम्बन्धी कसुर’मा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । पीडित छात्राहरूको गोपनीयता कायम राख्दै गोप्य रूपमा जाहेरी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

यता, प्रअ हिक्मतबहादुर बस्नेत भने अझै पनि शिक्षकहरूको बचाउमा देखिन्छन् । उनले दुईवटा इमेल आएको स्वीकार गरे पनि ‘शिक्षक किटान नभएकाले केही गर्न नसकिएको’ दाबी गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्