
पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२६ मा नेपाली टोलीले लगातार दोस्रो हार बेहोरेको छ ।
नेपाली टोली बिहीबार सम्पन्न आफ्नो दोस्रो खेलमा श्रीलंकासँग २–३ को सेटमा पराजित भएको हो । यो खेल निकै प्रतिस्पर्धात्मक थियो ।
पहिलो सेटको नतिजालाई श्रीलंकाली टोलीले २५–१८ अंकले आफ्नो पक्षमा पार्यो । त्यसपछि नेपालले खेलमा उत्कृष्ट पुनरागमन गर्यो ।
नेपालले दोस्रो सेटको नतिजालाई २५–२१ अंकले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा पनि नेपाली टोली २५–१९ अंकले अगाडि रह्यो ।
चौथो सेटमा अर्को उलटफेर भयो । निकै प्रतिस्पर्धात्मक यो सेटको नतिजालाई श्रीलंकाली टोलीले २५–२१ अंकले आफ्नो पक्षमा पार्यो ।
त्यसपछि थप रोमाञ्चक बनेको खेल पाँचौं तथा निर्णायक सेटमा गयो । अन्तत: अन्तिम सेटको नतिजालाई १५–१० अंकले आफ्नो पक्षमा पार्दै श्रीलंकाले खेल जित्यो ।
यसअघि, बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली कजाकस्तानसँग २–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो ।
उक्त खेलमा कजाकस्तानले पहिलो सेटको नतिजालाई २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि कजाकस्तानको टोली २५–२१ अंकले अगाडि रह्यो ।
त्यसपछि, नेपालले खेलमा उत्कृष्ट पुनरागमन गर्यो । नेपालले तेस्रो सेटको नतिजालाई ३४–३२ अंकले आफ्नो पक्षमा पार्यो ।
चौथो सेटमा पनि नेपाली टोली २५–१९ अंकले अगाडि रह्यो । तर, पाँचौं तथा निर्णायक सेटमा कजाकस्तानले नेपाललाई १५–९ अंकले जिल्याएको थियो ।
जारी प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ । त्यसपछि, आइतबार नेपाल र बंगलादेशबीच भिडन्त हुनेछ ।
नेपाली टोलीले आफ्नो अन्तिम खेल आगामी सोमबार उज्बेकिस्तानसँग खेल्नेछ । श्रीलंकाले भने जारी प्रतियोगितामा पहिलो जित हात पारेको हो ।
यसअघि, आफ्नो पहिलो खेलमा श्रीलंकाली टोली आयोजक पाकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । उक्त खेलमा पाकिस्तान २५–१६, २५–१५ र २५–१८ ले विजयी भएको थियो ।