०९ साउन २०८३, शनिबार

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न सरकारसँग कांग्रेसको माग

साउन ७, २०८३
काठमाडौं
भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न सरकारसँग कांग्रेसको माग

 नेपाली कांग्रेसले भारतको बिहारस्थित जेलमा रहेका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि आवश्यक कूटनीतिक र कानुनी पहल गर्न सरकारसँग माग गरेको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा बिहीबार जारी विज्ञप्तिमा सर्लाहीको बलरा नगरपालिकाका कृषक सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह बजारमा समयमै रासायनिक मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवरसाबाट युरिया र डीएपी मल खरिद गरेर नेपाल फर्किने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा दुवै किसानलाई पक्राउ गरी भारतको बिहार राज्य, सीतामढीस्थित डुमरा जेलमा करिब २० दिनदेखि राखिएको छ। कांग्रेसले परिवार तथा स्थानीय समुदायसँग जानकारी लिएर वास्तविकता बुझ्दा उनीहरू आफ्नै खेतमा प्रयोग गर्नका लागि मल खरिद गर्न गएको पाइएको जनाएको छ।

कांग्रेसले मल अभावका कारण छिमेकी देशबाट दुई बोरा युरिया र डीएपी मल ल्याउन बाध्य भएका किसानलाई पक्राउ गरी जेलमा राखिएको २० दिन बितिसक्दा पनि प्रभावकारी पहल हुन नसकेको भन्दै दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा ‘मल गोदाममा, किसान जेलमा’ भन्ने अवस्था अत्यन्त विडम्बनापूर्ण रहेको उल्लेख गरिएको छ।

कांग्रेसले सरकारलाई किसानहरूको रिहाइ तथा समस्या समाधानका लागि व्यवहारिक, कूटनीतिक र कानुनी प्रक्रियामार्फत तत्काल पहल गर्न आग्रह गरेको छ।

साथै, भारत सरकारसमक्ष पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास तथा दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राखी आफ्नै खेतीका लागि आवश्यक मल खरिद गर्ने क्रममा पक्राउ परेका ती किसानलाई अविलम्ब रिहा गर्न अनुरोध गरेको छ।

विज्ञप्तिमा नेपाल–भारत सम्बन्ध केवल दुई सरकारबीचको सम्बन्ध नभई दुई देशका जनताबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेकाले यस्ता संवेदनशील विषयलाई सोही भावनाअनुसार समाधान गर्न दुवै सरकारसँग कांग्रेसले आग्रह गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्