१० साउन २०८३, आइतबार

सिराहामा प्रहरीको गोली लागेर दुई जना घाइते, ६ जना पक्राउ

साउन ७, २०८३
काठमाडौं
सिराहामा प्रहरीको गोली लागेर दुई जना घाइते,  ६ जना पक्राउ

सिराहाको लहानमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन्। घटनामा २४३ ग्राम खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरिएको छ।

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका अनुसार भारतबाट नेपालतर्फ खैरो हेरोइन ओसारपसार तथा बिक्री–वितरण गर्ने भारतीय नागरिकहरूको गतिविधिमाथि निगरानी गर्ने क्रममा बिहीबार सिराहाको लहान नगरपालिका–३ स्थित अस्पताल चोकमा उनीहरूलाई पक्राउ गर्न खोजिएको थियो।

ब्युरोका अनुसार पक्राउ गर्न खोज्दा उनीहरूले प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि पाँच राउन्ड हवाई फायर गरी चेतावनी दिएको थियो। चेतावनीलाई बेवास्ता गरेपछि प्रहरीले गोली चलाउँदा सप्तरी रुपनी गाउँपालिका–१ का ४० वर्षीय मोहम्मद नसिरको बायाँ खुट्टा र भारतको बिहार राज्यका २२ वर्षीय बिद्यानन्द यादवको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।

घाइते दुवै जनालाई तत्काल प्रादेशिक अस्पताल, लहानमा उपचारका लागि भर्ना गरिएको छ।

पक्राउ पर्नेमा सप्तरी बोदेबसाइन गाउँपालिका–२ का २८ वर्षीय शम्भु प्रसाद यादव, सोही स्थानका २४ वर्षीय बैधनाथ प्रसाद, सप्तरी डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय मोहम्मद जमाहिर आलम र ३२ वर्षीय मोहम्मद इमामुदिन पनि रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट २४३ ग्राम खैरो हेरोइन, दुई वटा मोटरसाइकल र सात थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

घटनामा पक्राउ परेका चार जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्