१० साउन २०८३, आइतबार

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

साउन ८, २०८३
काठमाडौं
सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी
फाइल फोटो

संघीय संसद्‌का सदस्य (सांसद)हरूलाई व्यक्तिगत स्वकीय सचिव (पीए) राख्न दिने नेपाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता डा. प्रेमराज सिलवालले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रतिनिधिसभाका सभामुखलगायतलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् । उक्त रिटमा यही साउन ११ गतेका लागि पेसी तोकिएको छ ।

रिटमा सरकारको उक्त निर्णय तथा राजपत्रमा प्रकाशित सूचनालाई उत्प्रेषणको आदेशद्वारा खारेज गर्न र आवश्यक परमादेश जारी गर्न माग गरिएको छ ।

सरकारले गत २०८३ साउन ४ गते राजपत्रमा सूचना प्रकाशित गरी 'संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३' को अनुसूची हेरफेर गर्दै सांसदहरूलाई समेत १ जना निजी स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको थियो ।

रिटमा उक्त पदका लागि कुनै स्पष्ट योग्यता, क्षमता, अनुभव वा परीक्षा नतोकिएको र काम, कर्तव्य र अधिकारसमेत स्पष्ट नभएकाले यो निर्णय कानूनविपरित रहेको दाबी गरिएको छ ।

संघीय संसद्का ३३४ र प्रदेशसभाका ५५० गरी कुल ८८४ सांसदका स्वकीय सचिवलाई मासिक औसत ६० हजार रुपैयाँका दरले पारिश्रमिक दिँदा वार्षिक ६३ करोड ६४ लाख ८० हजार रुपैयाँ र ५ वर्षमा ३ अर्ब १८ करोड २४ लाख रुपैयाँभन्दा बढी खर्च हुने रिटमा उल्लेख छ ।

कानून र वस्तुगत औचित्यविना राज्यकोषबाट यति ठुलो रकम खर्च गर्नु भ्रष्टाचारजन्य कार्य भएको जिकिर निवेदकको छ ।

विगतमा सांसदका स्वकीय सचिवहरू रातो पासपोर्ट काण्ड, भुटानी शरणार्थी काण्ड, सुन तस्करीमा जोडिएको र सांसदहरूले आफ्नै नातेदार वा निकट व्यक्तिहरूलाई मात्र भर्ती गर्ने संस्कृति रहेको दाबी रिटमा गरिएको छ । यसअघि २०८२ असोज ५ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले यो व्यवस्था खारेज गरेको पृष्ठभूमि पनि रिटमा समेटिएको छ ।

देशमा रोजगारीको अभावमा लोकसेवा आयोगका नयाँ पदपूर्तिहरू रोकिने तर सांसदका लागि अनावश्यक रूपमा स्वकीय सचिव नियुक्त गरी व्ययभार थप्ने कार्य न्यायपूर्ण नभएको तर्क गरिएको छ ।

साथै, देशमा भौतिक संरचनाको पुनर्निर्माण र नागरिकका आधारभूत आवश्यकता (गाँस, बास, कपास) सम्बोधन गर्नुपर्ने आर्थिक दबाब मुलुकमाथि रहेको अवस्थामा यो निर्णय अनुचित भएको जिकिर गरिएको छ ।

रिट निवेदकले यो व्यवस्थाले संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १८ को समानताको हकको उल्लंघन गरेको दाबी गरेका छन् ।

यस विषयको गम्भीरतालाई ध्यानमा राख्दै तत्काल सुनुवाइ गर्न अग्राधिकार प्रदान गर्न र मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्