
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत गाईघाट नजिकै माथिबाट ढुङ्गा खस्दा सडक आवागमन प्रभावित भएको छ।
शनिबार बिहान ढुङ्गासहितको पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको हो ।
सडक डिभिजन कार्यालय, भरतपुरले दिएको जानकारीअनुसार, शनिबार बिहान ६:४५ बजेको समयमा सडकमा ढुङ्गा खसेर अवरोध सिर्जना भएको हो ।
सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएर आवागमनलाई पूर्ण रूपमा सुचारु गर्न सम्बन्धित स्थानमा मेसिन परिचालन गरिसकिएको कार्यालयले जनाएको छ।
हाल मेसिनले पहिरो पन्छाउने काम गरिरहेकाले सडक छिट्टै दुईतर्फी रूपमै सञ्चालनमा आउने अपेक्षा गरिएको छ। अवरोध पूर्ण रूपमा नहटुन्जेलसम्म यस सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।