
भूमध्यसागरीय स्वस्थ खानपानको नमुनाका रूपमा चिनिएको इटालीमा बालबालिका र किशोरकिशोरीमा मोटोपन तीव्र रूपमा बढ्दै गएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार इटालीका बालबालिका अहिले युरोपकै सबैभन्दा बढी तौल भएका समूहहरूमध्ये पर्छन् ।
दक्षिणी इटालीको क्याम्पानिया क्षेत्रमा समस्या झन् गम्भीर छ । त्यहाँका केही स्थानमा आठदेखि नौ वर्ष उमेरका ४० प्रतिशतभन्दा बढी बालबालिका अधिक तौल भएका छन् । नेपल्स नजिकको पोन्टिचेली शहरलाई विश्वकै बालमोटोपन बढी भएका क्षेत्रमध्ये एक मानिन थालेको छ ।
१७ वर्षीय साल्भातोरे यस संकटको प्रतिनिधि उदाहरण बनेका छन् । उनको तौल १७० किलोग्राम पुगेको छ । हिँड्नसमेत कठिन हुने उनी जुत्ताको फिता आफैं बाँध्न सक्दैनन् भने उनको भेस्पा स्कुटरले समेत उनको तौल थेग्न नसक्ने अवस्था आएको छ ।
उनी हाल नेपल्सको बेटानिया अस्पतालमा उपचाररत छन् । चिकित्सकहरूले उनको पेटको करिब ९० प्रतिशत भाग हटाउने शल्यक्रिया गर्ने योजना बनाए पनि अत्यधिक तौलका कारण तत्काल शल्यक्रिया जोखिमपूर्ण हुने निष्कर्ष निकालेका छन् । अहिले उनको तौल घटाउन जीएलपी–१ औषधिको प्रयोग भइरहेको छ ।
परम्परागत खानपानबाट जंक फुडतर्फ
दशकौंसम्म इटालीलाई स्वस्थ भूमध्यसागरीय आहारको नमूना मानिन्थ्यो । तर अहिले त्यो संस्कृति हराउँदै गएको विज्ञहरू बताउँछन् ।
अमेरिकास्थित युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाका दीर्घायु अध्ययन संस्थानका निर्देशक डा. वाल्टर लोङ्गोका अनुसार अहिले वास्तविक भूमध्यसागरीय खानपान अपनाउने इटालीवासीको संख्या १० प्रतिशत मात्र छ ।
उनका अनुसार अहिलेको इटालीको खानपान ‘पाँच पी’मा सीमित भएको छ– पिज्जा, पास्ता, आलु (पोटाटो), प्रोटिन र पाउरोटी ।
सुपरमार्केटमा अल्ट्रा–प्रोसेस्ड खाद्यवस्तुको बढ्दो उपलब्धता र फ्रेन्च फ्राइज, ससेज तथा अन्य तारेका परिकारले भरिएका पिज्जाले परम्परागत आहारलाई विस्थापित गरिरहेको छ ।
अभिभावकलाई नै समस्या थाहा छैन
नेपल्सस्थित फेडेरिको–दोस्रो विश्वविद्यालयका बालरोग विशेषज्ञ डा. रोबर्टो बेर्नी कानानीका अनुसार धेरै अभिभावकले आफ्ना सन्तान मोटोपनको समस्यामा रहेको स्वीकार नै गर्दैनन् ।
उनका अनुसार दुई–तीन वर्षका २५ किलोग्राम तौल भएका बालबालिकासमेत उपचारका लागि आउने गरेका छन् ।
१० वर्षीया फ्रान्चेस्काले बिहान नुटेलासहितको पाउरोटी, खाजामा चकलेट केक, दिउँसो पास्ता र बेलुका कुखुराको मासु खाने गरे पनि तरकारी भने नखाने गरेको चिकित्सकले बताएका छन् । उनका अभिभावक भने उनको तौललाई समस्या मान्दैनन् ।
विशेषज्ञहरूका अनुसार इटालीका धेरै विद्यालय पुराना भवनमा सञ्चालन हुने भएकाले पर्याप्त खेलकुद पूर्वाधारसमेत छैन ।
नेपल्सको एक विद्यालयकी शिक्षिका फ्रान्चेस्का पेक्केका अनुसार १० वर्षको उमेरमै ६० किलोग्राम तौल भएका विद्यार्थी पनि छन् । तर अभिभावकहरू यसलाई सामान्य मान्ने प्रवृत्ति रहेको उनी बताउँछिन् ।
उनका अनुसार बालबालिकामार्फत स्वस्थ खानपानबारे अभिभावकलाई समेत सचेत बनाउन सकिने विश्वास गरिएको छ ।
सन् २०२५ मा इटालीले मोटोपनलाई दीर्घकालीन, क्रमशः बढ्दै जाने र दोहोरिन सक्ने रोगका रूपमा कानूनी मान्यता दिने विश्वकै पहिलो देश बनेको थियो ।
सरकारले क्याम्पानिया क्षेत्रमा बालमोटोपन नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत २५ विद्यालयका १७ हजारभन्दा बढी विद्यार्थीलाई पोषणसम्बन्धी शिक्षा दिइँदैछ ।
यससँगै ३०० किशोरकिशोरीमा ‘फास्टिङ–मिमिकिङ डाइट’को परीक्षण पनि भइरहेको छ । उक्त कार्यक्रममा प्रत्येक तीन महिनामा पाँच दिनसम्म अत्यन्त कम क्यालोरीयुक्त आहार अपनाइनेछ, जसले शरीरको मेटाबोलिज्म सुधार्ने अपेक्षा गरिएको छ ।
तर सबै विशेषज्ञ यसमा सहमत छैनन् । बालरोग विशेषज्ञ डा. कानानीले किशोरावस्थामा अत्यधिक खानामा प्रतिबन्ध लगाउँदा खानपानसम्बन्धी मानसिक समस्या, एनोरेक्सिया र शरीरप्रतिको नकारात्मक सोच बढ्न सक्ने चेतावनी दिएका छन् ।
यसबीच, साल्भातोरेले आगामी गर्मीयामसम्म शल्यक्रिया गर्न सकिने आशा व्यक्त गरेका छन् । उनी वर्षौँपछि पहिलो पटक आत्मविश्वासका साथ पौडी खेल्ने पोसाक लगाउने सपना देखिरहेका छन् ।
स्वस्थ भूमध्यसागरीय खानपानका लागि विश्वभर प्रसिद्ध रहेको इटाली अहिले भने बालमोटोपनको बढ्दो चुनौतीसँग जुधिरहेको छ ।