११ साउन २०८३, सोमबार

बास नपाएपछि काठमाडौँको सडकमै लघुवित्त पीडितको बिचल्ली

साउन १०, २०८३
काठमाडौं
बास नपाएपछि काठमाडौँको सडकमै लघुवित्त पीडितको बिचल्ली

 वित्तीय शोषणविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरू रातको समयमा बासस्थान नपाउँदा सडकमै बिचल्लीमा परेका छन्।

आइतबार दिनभर काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन र नाराबाजी गरेका पीडितहरू राति बासको खोजीमा भौंतारिन बाध्य भएका हुन्।

प्रहरीको समन्वयमा पशुपतिस्थित गौशाला धर्मशाला लगिएका पीडितहरूलाई धर्मशालाले बस्न नदिएपछि अवस्था झनै जटिल बनेको छ। धर्मशालामा सीमित कोठा मात्रै रहेको भन्दै फर्काइएपछि पीडितहरूको बिचल्ली भएको अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिइन्।

प्रहरीले झुक्याएर गौशाला पुर्‍याएको भन्दै आन्दोलनकारीहरूले प्रहरी प्रशासनको भर्त्सना गरेका छन्।

गौशालाबाट फर्केका पीडितहरू राति नै नाराजुलुससहित सेतोपुल र अनामनगर हुँदै पुनः माइतीघर मण्डलातर्फ अघि बढेका छन्। सेतोपुलमा बाक्लो संख्यामा खटिएका नेपाल प्रहरीले केहीबेर घेराबन्दी गरी रोक्ने प्रयास गरे पनि जुलुस अगाडि बढेको अभियन्ता घिमिरेले बताइन्।

आन्दोलनकारीहरूले गृह प्रशासनको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। समस्या समाधानका लागि पहल गर्नुको साटो गृह सचिवले ‘जे गर्नुहुन्छ, गर्नुस्’ भन्दै पन्छाउने र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी थमाउने गरेको उनीहरूको आरोप छ। प्रमुख जिल्ला अधिकारीले पनि कुनै ठोस प्रतिक्रिया नदिएको पीडितहरूले गुनासो गरेका छन्।

माग पूरा नभएसम्म आन्दोलन जारी

देशका विभिन्न भागबाट काठमाडौं आएका पीडितहरूले ‘किसान मजदुर आन्दोलन नेपाल’को आयोजनामा आइतबार बल्खुबाट र्‍याली निकालेका थिए। बल्खुबाट सुरु भएको र्‍याली रत्नपार्कस्थित शान्ति बाटिका हुँदै माइतीघर मण्डला पुगेर प्रदर्शनमा परिणत भएको थियो।

लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीका नाममा दिइने मानसिक यातना र आर्थिक भारका कारण हजारौं परिवार विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ। लघुवित्तका कर्मचारीहरूले घर–घरमा पुगेर दुःख दिने गरेको र सरकारले पटक–पटक वार्ताको आश्वासन दिए पनि माग सम्बोधन नगरेको उनीहरूले बताएका छन्।

पीडितहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै काठमाडौंमै प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्