
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यूयोर्क सहरका मेयर जोहरान मामदानीले समाजमा 'घृणा फैलाएको' आरोप लगाएका छन्। न्यूयोर्क भ्रमणका क्रममा पक्राउ गर्ने धम्की दिएपछि नेतान्याहुले मेयर मामदानीले विभिन्न समुदायबीच विभाजन ल्याउन खोजेको बताएका हुन्।
आइतबार 'फक्स न्युज'सँग कुरा गर्दै प्रधानमन्त्री नेतान्याहुले आफू मेयरको धम्कीबाट चिन्तित नरहेको स्पष्ट पारे। 'उनी (मामदानी) यहुदी, ईसाई, मुस्लिम लगायत सबै न्यूयोर्कवासीका मेयर हुनुपर्ने हो, तर उनले एक समूहलाई अर्को विरुद्ध भड्काउने प्रयास गरिरहेका छन्,' नेतान्याहुले भने।
प्यालेस्टिनी अधिकारका कट्टर समर्थक मानिने मेयर मामदानीले गत वर्ष आफ्नो चुनावी अभियानका क्रममा नेतान्याहुलाई 'युद्ध अपराधी' भन्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतको वारेन्टका आधारमा न्यूयोर्क आएमा पक्राउ गर्ने बाचा गरेका थिए।
तर, कानुनी अड्चनका कारण गत हप्ता उनले आफ्नो सो प्रतिबद्धताबाट पछि हट्नु परेको थियो। उनले स्वीकार गरे कि नगर प्रमुखसँग अन्तर्राष्ट्रिय अदालतको वारेन्ट कार्यान्वयन गर्ने स्वतन्त्र कानुनी अधिकार छैन। यद्यपि, उनले संघीय सरकारलाई नेतान्याहुलाई पक्राउ गर्न आग्रह गर्दै भनेका छन्, 'बेन्जामिन नेतान्याहुलाई न्यूयोर्क सहरमा स्वागत छैन।'
नेतान्याहुले न्यूयोर्कमा हालै भएको छुरा प्रहारको घटनालाई जोड्दै त्यहाँका यहुदीहरू अहिले त्रसित रहेको बताए। गत बिहीबार न्यूयोर्कमा एक संदिग्धले अल्लाहू अकबर भन्दै एक यहुदी र एक एसियाली व्यक्तिमाथि छुरा प्रहार गरेका थिए।
आगामी शरद ऋतुमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन नेतान्याहु न्यूयोर्क जाने तयारीमा छन्। यो भ्रमण यस्तो समयमा हुँदैछ जब गाजामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय स्तरमा इजरायलको चर्को आलोचना भइरहेको छ।