फिडेल क्यास्ट्रोको गोहीले आक्रमण गरेर घाइते बनायो वृद्धलाई

काठमाडौं – क्युबाका नेता फिडेल क्यास्ट्रोले कुनै बेलामा पालेको एउटा गोहीले स्विडेनमा एकजना वृद्धमाथि आक्रमण गरेको छ । 

मंगलवार राति  राजधानी स्टकहोमको स्कानसेन एक्वारियममा आयोजित पार्टीमा ती व्यक्तिमाथि आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । 


Advertisement

प्रहरीका अनुसार, ती व्यक्तिले गलत ठाउँमा हात राखेकाले एउटा गोहीले हात टोकिदिएको थियो । 

उनको हातमा बेस्सरी पट्टी बाँधेर अस्पताल लगिएको थियो । तर उनलाई कत्तिको घाउ भएको हो भनी खुलेको छैन ।

अनुसन्धान अधिकारीहरूले उक्त व्यक्ति, चिडियाखानाका कर्मचारी र प्रत्यक्षदर्शीहरूसँग घटनाको विषयमा सोधपुछ गरेका छन् । यस्तो घटना पहिलोपटक भएको एक्वेरियमले बतायो । 

स्कान्सेनमा दुईवटा क्युबाली गोही छन् र ती अत्यन्तै दुर्लभ तथा आक्रामक गोहीका प्रजाति हुन् । उनीहरूको नाम क्यास्ट्रो र हिलारी हो । 

क्युबामा जन्मेका ती गोहीलाई क्यास्ट्रोले रुसी अन्तरिक्षयात्री भ्लादिमिर शातालोभलाई उपहार दिएका थिए । 

शातालोभले गोहीहरू ठूला भएपछि मस्कोको चिडियखानालाई दिएका थिए । त्यहाँ गोही राख्ने राम्रो ठाउँ नभएपछि तिनलाई स्कान्सेन सारिएको थियो । 

क्युबाली गोहीहरू ८० वर्षको उमेरसम्म बाँच्न सक्छन् र जिन्दगीभरि बच्चा पाइरहन्छन् ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्