काठमाडौं– कांग्रेसका एक सांसदले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भएको विवादको घटनाले राजनीतिमा लागेका सबैको शिर निहुरिएको टिप्पणी गरेका छन् ।
मंगलवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा कांग्रेस सांसद रमेशजंग रायमाझीले नेकपाका दुई नेताबीच गत बिहीवार भएको विवादले राजनीतिक दलका कार्यकर्ताको शिर निहुरिएको बताएका हुन ।
‘प्रधानमन्त्री र माधवकुमार नेपालबीचको संवाद दुःख लाग्दो छ । त्यही पार्टीका नेताले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्रीले तपाईंको शुभकामना चाहिन्न भनेको सुनियो,’ रायमाझीले भने, ‘यसले हामी कुन संस्कारमा राजनीति गर्दैछौं भन्ने प्रकट गएको छ । राजनीतिमा लागेका सबैको शिर झुक्ने काम भएको छ । राजनीतिमा विचलन देखिएको छ ।’
बिहीवार बालुवाटारमा बसेको सचिवालय बैठकमा नेकपाका दुई नेताबीच भएको चर्चाचर्कीको समाचार बाहिर आएको थियो ।
सांसद राजमाझीले परिवर्तन ल्याएका राजनीतिक शक्तिहरू एकले अर्काको अस्थित्व स्वीकार गर्न नसक्दा देशले सही निकास पाउन नसकेको बताए ।
लोकान्तर संवाददाता