काठमाडौं, २८ चैत – दशपटकसम्म विना अक्सिजन सगरमाथा चढ्ने व्यक्तिका रूपमा विश्व कीर्तिमान राखेका आङरिता शेर्पा अहिले काठमाडौंको न्यूरो अस्पतालको आईसीयूमा विगत ६ दिनदेखि शिथिल अवस्थामा रहेका छन् । हिमचितुवाको रूपमा परिचित आङरिताको अवस्था स्थिर रहेको छ । उपचार खर्च अभावमा उनका परिवार सहयोगका लागि हारगुहार गर्दैछन् ।
आङरिताले सन् १९८३ देखि सन् १९९६ भित्रमा विना अक्सिजन सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका थिए । ७० वर्षीय आङरिता गत बुधवार छोरी डोल्माको घरमा खाना खाँदै गर्दा अचानक बिरामी परेपछि छोरीले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा पु–याएकी थिइन् ।
प्रेसरका बिरामी आङरितालाई मेडिकल कलेजका चिकित्सकहरूले गम्भीर बिरामी भन्दै सीटी स्क्यान गरेर हेरेका थिए । ब्रेनमा खराबी देखिएपछि उनलाई बुधवार नै बाँसवारीस्थित न्यूरो अस्पतालमा रिफर गरिएको थियो । सगरमाथामा भरियाको रूपमा काम गर्ने उनका कान्छा छोरा फुनरु शेर्पाको केही समय पहिले बेसक्याम्पबाट फर्किंदै गर्दा हिउँमा चिप्लेर खुट्टा भाँच्चिएको थियो । उनलाई उपचारका लागि काठमाडौं ल्याएर जोरपाटीको अपाङ्ग अस्पतालमा भर्ना गरिएको छ ।
कान्छा छोरा फुनरुको त्यो अवस्था देखेर आङरिता निकै तनावमा रहेको उनकी छोरी डोल्माले सुनाइन् । पहिलादेखि प्रेसरको बिरामी उनी छोराको खुट्टा भाँचिएपछि थप तनावमा थिए । तनावका कारण पनि त्यस्तो अवस्था आएको हुनसक्ने छोरी डोल्माले बताइन् ।
न्यूरो अस्पतालमा ल्याएपछि उनको स्वास्थ्य स्थिति गम्भीर भएका कारण आईसीयूमा राखेर उपचार गरिएको हो । मस्तिष्कको थलामस भन्ने भागमा प्रेसरका कारण नसा फुटेर रगत जम्मा भएको न्यूरो अस्पतालका रजिष्ट्रार डा.सुवास लोहनीले लोकान्तरलाई जानकारी दिए ।
मस्तिष्कभित्र हुने पानीको थैलीमा रगत पसेका कारण आङरिताको हातखुट्टा चल्नमा सामान्य असर परेको डा. लोहनीले बताए ।
देब्रेपट्टिको मस्तिष्कको हातखुट्टा चल्नेभागमा रगत नपसेका कारण हातखुट्टा चल्नै नसक्ने अवस्था भने नरहेको डा. लोहनीले बताए । ‘आङरिताको चेतनाको स्थिति सामान्य नै छ अहिलेसम्म, हामीले बोलाउँदा बोल्न खोज्ने र आफन्त चिन्नसक्ने अवस्था रहेको छ । त्यसैले आत्तिनुपर्ने स्थिति छैन,’ डा. लोहनीले भने । ‘आङरिताको स्वास्थ्य हेरेर अहिले नै हामीले अपरेसन गर्ने सोच बनाएका छैनौं ।’
अस्पताल भर्ना भएको दिनभन्दा अहिले सुधार भइरहेको र उनलाई थप महिनादिन जति अस्पतालमा राखेर उपचार गर्नुपर्ने डा. लोहनीले बताए । उनको प्रेसर निकै उच्च रहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । कार्डियालोजीका चिकित्सकले पनि शेर्पाको स्वास्थ्य अवस्थाबारे हेरिरहेको डा. लोहनीले जानकारी दिए । १७ वर्षअघि पनि टीबी रोगका कारण आङरिता गम्भीर बिरामी भएका थिए । त्यतिबेला उनको उपचार खर्च तत्कालीन राजा वीरेन्द्रले उपलब्ध गराइदिएका थिए ।
बुधवारदेखि न्यूरो अस्पतालमा भर्ना गरेको सोमवारसम्म ६ दिन भइसक्यो । आर्थिक अवस्था कमजोर रहेका आङरिताको परिवार अहिले अस्पताल उपचार गर्दा लाग्ने शूल्क तिर्न सक्ने अवस्थामा नरहेको परिवारका सदस्यहरू बताउँछन् ।
पाँचदिनसम्म बुबालाई आईसीयूमा राख्दा आफूसँग भएको दुई लाख रुपैयाँ सकिसकेको उनकी छोरी डोल्माले बताइन् । ‘बुवालाई अस्पतालमा थप कति दिन राख्नुपर्ने हो, थाहा छैन । उहाँको उपचारका लागि भएको पैसा सकिसक्यो अस्पतालले डिपोजिट रकम जम्मा गर्नु भनेर भनेको छ, बाँकी पैसा तिर्ने अवस्था नै अहिले छैन,’ छोरी डोल्माले भनिन् ।
त्यसैले हारगुहारको लागि नेपाल पर्वतारोहण संघ लगायतका पर्वतारोहण सम्बन्धी संघसंस्थासँग सहयोगको लागि अपिल गरेकी छिन् । छोरी डोल्माले सरकारी अधिकारी लगायत पर्यटनमन्त्रीलाई पनि जानकारी गराएकी थिइन् । ‘अहिलेसम्म कसैले पनि सहयोग त परको कुरा हेर्न र कस्तो छ भनेर समेत बुझ्न आएको छैनन्,’ उनले भनिन् । आङरिताको स्वास्थ्य उपचारको लागि सहयोग खोज्दै हिँडेको पेम्बा शेर्पा उपचारमा सरकारी अधिकारीले कुनै उत्सुकता नदेखाएपछि निराश भएका छन् ।
‘दशपटकसम्म विना अक्सिजन सगरमाथा चढेर देशको नाम उच्च राख्ने आङरिता शेर्पा आज आईसीयूमा भर्ना भएर थालेको पाँच दिन भइसक्यो तर कसैले वास्ता गरेका छैनन्,’ पेम्बाले भने । पटक–पटक पर्यटन मन्त्रालयका अधिकारीलाई जानकारी गराइसके पनि कसैले वास्ता नगरेको पेम्बाले बताए । नेतालाई उपचारको लागी लाखौं पैसा तुरुन्तै छुट्ट्याउन सक्ने सरकारले देशको सम्मानका रूपमा रहेका आङरिताको उपचारमा सरकारको उदासीनता लाजमर्दो भएको पेम्बाले बताए । ‘आङरिताको नाम बेचेर सम्मान कमाउने सरकारले आज जीवन र मृत्युको अवस्थामा रहँदा समेत हेरेन,’ पेम्बाले गुनासो गरे ।
आङरिताको परिवारलाई नेपाल पर्वतारोहण संघले सहयोगका लागि केही रकम दिन लागेको अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।
हेर्न आउँछु भनेका मन्त्रीको मोबाइल स्विच अफ !
आङरितालाई आइसियूमा राखेर उपचार खर्च परिवारले पु–याउन नसकेपछि पेम्बा सहयोग खोज्दै मन्त्रालय धाइरहेका छन् । आइतवार पेम्बाले पर्यटन मन्त्रालयका अधिकारीसँग कुरा गरेर आङरिता आईसीयूमा रहेको पाँचदिन भइसकेको र उपचार खर्च नभएको अवस्था जानकारी गराएका थिए ।
पर्यटन राज्यमन्त्री परशुराम तामाङ आइतवार साँझ न्यूरो अस्पताल आउने भनेर जानकारी गराइएको थियो । आफूहरूको सुनुवाई हुने भयो भनेर आङरिताका परिवार र आफन्त उत्साहित भएका थिए । साँझ पाँच बजे अस्पताल आइपुग्छु भनेर मन्त्री आएनन् । अस्पतालमा आफन्त कुर्दाकुर्दै निराश भएका थिए ।
‘मन्त्रीसँग फोनमा कुरा भएको हो र वहाँ आउँछु भनेर भन्नुभएको थियो । तर एकघण्टासम्म हामीले कु–यौं तर मन्त्री आउनुभएन । पछि सम्पर्क गर्न खोज्दा मन्त्रीज्यूको मोबाइल समेत स्विच अफ भयो ।’
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...