वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा महर्षि दीर्घतमा पनि बिर्सनै नसकिने नाम हो । महान् वैदिक वैज्ञानिक यी महर्षिका बाबु अङ्गिरा पुत्र उतथ्य हुन् भने आमाको नाम ममता हो । गर्भज्ञानी, तपोमूर्ति, वेद, वेदान्तवेत्ता आदि विभिन्न विशेषणले विभूषित यी महर्षिका जीवन वृत्तान्त भने निकै मार्मिक छ ।
उनी गर्भमा छँदा माता ममतासित जेठा बाबु (कतै कान्छा बाबु पनि भनिएको) बृहस्पतिले समागम चाहेका थिए । यसमा ममताले श्रापको डरले आत्मसमर्पण गरेकी भएपनि दीर्घतमाले भने गर्भभित्रैबाट विद्रोह गरी रोकथामको प्रयास गरेका थिए तर बृहस्पति जस्ता प्रौढ व्यक्तित्वका अघि विचरा गर्भे बालकको के लाग्थ्यो र !
उनले बृहस्पतिलाई रोक्न त यसै पनि सकेनन् नै, उल्टै जन्मदै अन्धो हुनुुपर्ने श्रापको भागी भने हुनुप–यो । धन्न अग्नि र सोमले कृपा गरेकाले नेत्रलाभ भयो । अन्यथा यस्ता महान् ज्ञानी महर्षिले अकारण आजीवन अन्धो हुनुपर्ने थियो । यसको सम्यक् विवेचन ऋग्वेद १ । १४७ । ३ तथा ऐ. ऐ. ४ । ४ । १३ र ऐ.ऐ. १० । २५ । ११ मा पाइन्छ । प्रद्वेषीसित विवाह गरेका गरेका यी महर्षिका गौतम र कुक्षीवान दुई पुत्र थिए ।
ज्ञान र विज्ञानका धनी महर्षि दीर्घतमा ऋग्वेद १ । १४० देखि १६४ सम्मका २५ वटा सूक्तका द्रष्टा ऋषि पनि मानिन्छन् । यी सूक्तहरूमा अग्नि, मित्रावरुण, विष्णु, अश्विनिकुमार, द्यावा पृथ्वी, ऋभुगण आदि देवताका गुणगान गरिएका कुल २४२ मन्त्र छन् ।
आग्नेय तत्त्वको प्रकाण्ड विद्वान् मानिएका उनले यी सूक्तहरूमा अग्निको उत्पत्ति, उनको शिर, स्वरूप, गति, आहार, व्यवहार, ज्योति, ज्वाला, निवासस्थान, कार्यप्रणाली, उसले लोकहितका लागि उपलब्ध गराउने पोषक तत्त्व र उपलब्ध गराउने तरिका आदिबारे जसरी विवेचन गरेका छन्, साँच्चै त्यो उन्नत छ ।
खासगरी उनले अग्निको तीनवटा रूपको विवेचन गरेका छन् । यीमध्ये पहिलोलाई भौतिक रूप मानिएको छ जसले आहार भक्षण गर्ने काम गर्छ । दोस्रो रूपलाई अन्तरिक्षमा रहेको विद्युत् अग्नि भनिएको छ भने तेस्रोलार्ई सूर्यरूप अग्नि भनिएको छ जसले प्रकृतिका यावत् रसतत्त्वलाई दोहन गरी आवश्यकताअनुसार वितरण गर्ने काम गर्छ । आधुनिक विज्ञानले जुन किसिमको सूर्य किरणहरूको रस सञ्चयन र वितरण प्रणालीको कुरो गरेको छ, त्यसको बीजाङ्कुर यी मन्त्रहरूमा प्रस्टै अनुभूत गर्न सकिन्छ ।
परम ब्रह्मज्ञानी यी महर्षिले त्यतिबेलै पानीभित्रको अग्निलाई देखेका मात्र छैनन्, त्यसमा संसारलाई प्रकाशित गर्ने शक्ति रहेको कुरा गर्नसमेत पुगेका छन् । अझ आश्चर्य त के भने उनी त्यस्ता वैज्ञानिकमा पनि पर्छन्, जसले आगोभित्रको पानीलाई समेत देखेका मात्र छैनन् अग्नि किरणले तिनलाई कसरी जन–जीवनसम्म पु–याउँछन् र जन–जीवनले पनि तिनलाई कसरी ग्रहण गरी आफुलाई पुष्ट पार्छन् भन्न समेत भ्याएका छन् ।
दया, माया र परोपकारको त्रिवेणी मानिएका यी महर्षि कतै वैभवपूर्ण विश्वका लागि मित्रावरुणसित प्रार्थना गरिरहेका देखिन्छन् भने कतै विष्णुले विश्वब्रह्माण्डलाई तीन पाउमा समेटेर कसरी आध्यात्मिक स्वरूप दिए भन्ने कुराको विशद व्याख्यान दिइरहेका भेटिन्छन् ।
महर्षि दीर्घतमा कतिपय प्रसङ्गमा अश्विनिकुमारको झण्डै समकक्षी बन्न पुगेका मात्र देखिँदैनन्, एक अर्काको परिपूरक नै हुन पुगेका पाइन्छन् । उनले कतै आफ्नो आवश्यकता पूरा गर्न अश्विनिकुमारलार्ई जहाँ चाहियो त्यही बोलाएका छन् भने कतै अश्विनिकुमार आफंै उनको सुरक्षामा चट्टान बनेर खडा हुन पुगेका देखिन्छन् ।
एकपटक डाँकुका सरदारहरूले उनलाई चुट्ने, पिट्ने र हातखुट्टा बाँधेर खोलामा फाल्ने काम गरेका थिए । त्यतिबेला उनको उद्धारमा अश्विनिकुमारले जुन शौर्य देखाएका थिए, त्यसको विवेचन ऋग्वेद १ । १५८ । ५ सम्यक ढङ्गले गरेको छ ।
धर्म, अर्थ, काम र मोक्ष चारै किसिमका पुरुषार्थ सिद्ध गरेका गरेका यी महर्षि रसायनविज्ञानमा पनि उत्तिकै कुशल देखिएका छन् । ऋग्वेदमा उनी कतै १११ वर्षसम्म तारुण्य कायम गर्ने रसायन प्राप्त विद्वानका रूपमा देखिएका छन् भने कतै वृद्ध बुवाआमालाई जवान बनाउने कौशल समेत देखाएका छन् ।
एकपाङ्ग्रे रथ आविष्कार गरी अन्तरिक्षमा कुदाएका यी महर्षिको समय विज्ञानको क्षेत्रमा पनि उत्तिकै विशिष्ट देन रहेको छ । समयलाई सर्वप्रथम संवत्सर, अयन तथा ऋतु आदि विभिन्न अवयवमा विभाजन गर्ने पनि उनै हुन् भने सर्वप्रथम संवत्सर बदलिँदा प्रकृतिले प्रकाशलाई निरन्तरता दिएर संसारलाई नित्य नवीनतम स्वरूप दिने कार्य गर्छ भन्ने कुरा पत्ता लगाउने पनि उनै हुन् । (ऋग्वेद १ । १६१ । १३ र ऐ. ऐ. १ । १६२ । १९) ।
हड्डी नहुने प्राणी नै हड्डी हुने प्राणीको जीवनको आधार हो भन्दै प्राणीशास्त्रमा समेत आफ्नो उपस्थिति देखाएका यी महर्षिले जमीनमा प्राण र जीवन कहाँबाट आउछ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन भन्दै विशुद्ध भौतिकशास्त्रीको परिचय दिन समेत भ्याएका छन् । (ऐ. ऐ. १ । १६४ । ४)
सबैलाई थाहा भएकै कुरा हो, आधुनिक वैज्ञानिकहरूले पृथ्वीलगायत सबै ग्रह तथा उपग्रह सूर्यको आधारमा अडेका छन् भन्ने कुरा भर्खरै गर्दै आएका छन् तर उनले भने त्यतिबेलै यसको छिनोफानो गरिसकेका छन् ( ऐ. ऐ. १ । १६४ । ९) त्यस्तै आधुनिक वैज्ञानिकहरूले हाल जुन किसिमको ब्र्रह्माण्डको खुम्चिने र तन्किने क्रमको कुरा गरिरहेका छन् त्यस कुराको समेत जानकारी उनले त्यतिबेले दिइसकेका छन् । (ऐ. ऐ. १ । १६४ । १९)
यी त उदाहरणका लागि टिपोट गरिएका केही बुँदामात्र हुन् । वास्तवमा भन्ने हो प्रकृतिमा जे जति छन् वा भएका छन् र आधुनिक विज्ञानले तिनलाई जे जति तन्काउन सकेका छन् ती यावत् पक्षका बीजात्मक स्वरूप उनको मन्त्रमा पाउन सकिन्छ ।
समाजशास्त्रमा पनि महर्षि दीर्घतमाको स्थान एक पाइलो अगाडि नै देखिएको छ । उनी कतै समाजमा बुवा, आमाका स्थान आकाश र पृथ्वी जत्तिकै विशाल हुन्छ भनिरहेका देखिन्छन् भने कतै आकाश पृथ्वी भनेका संसारकै बुवा र आमा हुन् जसले सबैलाई जन्मदेखि मृत्युपर्यन्त बस्ने, खाने लगायतका सबै किसिमका आवश्यकता पूरा गर्दैै आएका छन् भन्न पुगिरहेका देखिन्छन् । ऋग्वेद प्रथम मण्डलको १५९ औं सूक्तमा हामी यसको सुन्दर चित्रण पाउन सक्छौं ।
त्यति मात्र होइन उनी यज्ञविज्ञानमा पनि उत्तिकै कुशल देखिएका छन् । उनले नै गङ्गासागरदेखि गङ्गोत्रीसम्म ५५ वटा र प्रयागराजदेखि यमुनोत्रीसम्म ७८ वटा गरी कुल १३३ वटा अश्वमेध यज्ञ सम्पन्न गराई चन्द्रवंशी राजा भरतलाई चक्रवर्ती सम्राट् बनाएका थिए ।
सम्प्रति यस्ता विशिष्ट वैदिक प्रतिभाको भौतिक शरीर त हामीमाझ छैन, तर उनले जे जे दिएर गएका थिए त्यसको भने हामी अहिले पनि उत्तिकै उपयोग गरिरहेका छौं ।
Advertisment
Advertisment