रामायण सर्किट बीआरआईको विकल्प होइन : पर्यटन मन्त्री अधिकारी [अन्तर्वार्ता]

बैशाख १२, २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही महिना नेपाल आउने चर्चा छ । समाचारहरूमा जनाइएअनुसार मोदी काठमाडौंबाट जनकपुर पनि पुग्ने छन् । यसबीचमा नेपालसहित विभिन्न मुलुक जोड्ने रामायण सर्किटको कुरा पनि चलेको छ । जसले मुख्यरूपमा रामायणकी पात्र सीताको जन्मभूमि जनकपुरलाई रामको जन्मभूमि अयोध्यालगायतका क्षेत्रसँग जोड्ने बताइएको छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण र रामायण सर्किटबारे जनकपुरस्थित लोकान्तरकर्मी अजय अनुरागीले संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसँग कुराकानी गरेका छन् । मन्त्री अधिकारी मंगलबार जानकी नवमी महाउत्सवमा सहभागी हुन जनकपुर पुगेका थिए । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही महिना नेपाल आउने र त्यसक्रममा जनकपुर पनि आइपुग्ने बताइएको छ, कस्तो हुँदैछ तयारी ?


ADVERTISEMENT

यही वैशाख अन्त्यतिर उहाँ नेपाल आउँदै हुनुहुन्छ, त्यसका लागि हामीले तयारी गरिसकेका छौं । भारतीय प्रधानमन्त्री मोदी काठमाडौंबाट जनकपुर आउँदा जनकपुरवासीले, प्रदेश नं. २ को सरकारले, जनकपुर उपमहानगरपालिकाको स्थानीय सरकारले र केन्द्रको संघीय सरकारले उहाँलाई भव्य स्वागत तथा सम्मान गर्न तयारी हामीले गरिसकेका छौं । जनकपुरमा उहाँले जानकी मन्दिरमा पुगेर पूजा गर्नुहुनेछ भने उहाँले जनकपुरवासीद्वारा आयोजना हुने नागरिक अभिनन्दन कार्यक्रमलाई समेत सम्बोधन गर्नुहुनेछ ।

मोदीको आसन्न नेपाल भ्रमणसँगै रामायण सर्किटको पनि चर्चा छ, के हो यो रामायण सर्किट ?

रामायण कालमा राम र सीता जुन–जुन ठाउँमा पुगेका छन् ती देशहरुको बीचमा कनेक्टिभिटी बढाउनका लागि नेपाल सरकार र भारत सरकारले रामायण सर्किटको अवधारणा ल्याएका हुन् । रामको जन्मभूमि अयोध्या, जानकी जन्मभूमि जनकपुर, हनुमान पुगेको स्थान इन्डोनेसियाको बाली र रावण रहेको तथा अशोक बाटिका जोडिएको श्रीलंका गरी कूल चारवटा देशहरुलाई जोड्नका लागि रामायण सर्किटको कुरा आएको छ । भारतीय प्रधानमन्त्री मोदी जनकपुर भ्रमणमा आउँदा नेपाल सरकारले औपचारिकरूपमा खास गरेर मेरै मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भएकाले पनि मैले त्यसको तयारी पूरा गरेको छु ।

यसका लागि नेपाल सरकारले कस्तो तयारी गर्दैछ ?

सडक र हवाइ मार्गमार्फत् ती चारवटा देशको बीचमा कनेक्टिभिटी बढाउने अवधारणाअन्तर्गत कामहरू अगाडि बढिरहेका छन् । सडक सञ्जाल केहीदिनमै जोडिने छ । भारतको अयोध्या वा पटनाबाट सिधा जनकपुरसम्म बसमार्फत् पर्यटकहरू जोडिने छन् । त्यो केहीदिनमै कार्यान्वयनमा आउने छ । अर्को महत्वपूर्ण कुरा जनकपुर विमानस्थलबाट पटना, बनारस वा लखनउसम्मको हवाई उडानका लागि समेत मैले तयारी अगाडि बढाइसकेको छु । त्यसका लागि जनकपुर विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाइसकेको छु । मैले आफ्नो सयदिने कार्ययोजनामा समेत त्यसलाई समावेश गरेको छु । आगामी बजेटमा समेत योजना तथा कार्यक्रम समावेश हुन्छ ।

जनकपुर विमानस्थलमा ७० देखि ८० सिटसम्मको ठूलो जहाजहरू भारतको पटना, दिल्ली, बनारसबाट जनकपुरमा उडान हुन सकोस्, आफ्नै देशमा जनकपुरबाट पनि अन्तरप्रादेशिक उडानहरू हुन सकोस भन्ने योजनासहित जनकपुरको टर्मिनल भवन सञ्चालनमा ल्याउन बजेट व्यवस्थापन गरिने कार्यक्रम छ । अहिले जनकपुर विमानस्थलको १३ सय मिटर रनवेलाई १५ सय मिटरमा विस्तार गर्नका लागि जग्गा रोक्का गरिसकिएको छ, मुआब्जा दिएर रनवे विस्तारको काम अगाडि बढ्छ । आईएफआर उडानका लागि उपकरण जडान गरिनेछ ।

केहीअघि मात्र धनगढीमा सञ्चालन भएको रात्रिकालीन उडान जस्तै जनकपुरमा पनि रात्रिकालीन उडान शुरु हुनेछ । आधुनिक एक्स रे मेसिन आइसकेको छ, त्यसलाई जनकपुर विमानस्थलमा तत्काल जडान गरिनेछ । यी सबै कामहरू गर्नुको मुख्य उद्देश्य भारत र नेपालबाट जनकपुरमा पर्यटकको संख्या बढोस् भन्ने नै हो ।

रामायण सर्किटको कुरा गर्दा जनकपुर मात्र होइन, जनकपुर र धनुषाधाम पनि जोड्छौं । मैले यहाँको मुख्यमन्त्रीसँग समेत कुरा गरेर चाँडै पर्यटन बोर्डको विकास समिति गठन गर्न कानून बनाउन भनिदिएको छु । त्यो कानून बनेलगत्तै यहाँ पर्यटकको संख्यामा वृद्धि हुनेछ ।

रामायण सर्किट चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विकल्प त होइन ?

बिलकुलै होइन । हामीले यो रामायण सर्किटको अवधारणालाई चार देशसँग जोड्न खोजेका मात्र हौं । रामायण सर्किट फेरि जनकपुरमा मात्र सीमित नभएर जनकपुरबाट मुक्तिनाथ, पशुपतिनाथ लगायतका हिन्दूहरुको तिर्थस्थलसम्म जोड्ने छौं । रामायण सर्किटको अवधारणा कार्यान्वयनमा आएलगत्तै त्यसलाई विस्तार गरेर हिन्दू सर्किट बनाउनेतर्फ हामी अगाडि बढ्छौं ।

हाम्रा प्रधानमन्त्री भारत गएर आउनुभयो, अब उताका प्रधानमन्त्री नेपाल आउँदै हुनुहुन्छ, सम्बन्धमा सुधार आएको हो  ?

दाजुभाइ र छिमेकीहरूबीच तिक्तता बेला बखत भइहाल्छ । आफ्नो घरमा त सानोतिनो कुरा नमिलेपछि दाजुभाइमा समेत कहिलेकाहिँ मनमुटाव हुनेगर्छ । सामान्य आगो वा पानी वा भनौं ऐंचोपैंचो नसाट्दा पनि ठाकठुक पर्छ । तर छिमेकी भनेको छिमेकी नै हो । छिमेकीलाई फेर्न सकिँदैन । छिमेकीहरू मिलेरै बस्नुपर्छ । त्यसैले अब हामी सबैलाई ज्ञान भइसकेको छ कि छिमेकीहरूका बीचमा तिक्तता उत्पन्न गर्नुभन्दा मिलेर आर्थिक विकास र समृद्धिको बाटोमा सँगसँगै जानुपर्छ । त्यसैले अहिले दुवै देशबीच त्यस्तो कुनै पनि असमझदारी वा तिक्तता छैन ।

संघीय सरकारमा राजपा र फोरम पनि सहभागी हुने चर्चा थियो, हालसम्म उनीहरू बाहिरै छन् नि !

हामीले त राजपा र फोरमलाई सरकारमा सामे गराउन पर्खेर बसिररहेका छौं । तर उहाँहरू अहिलेसम्म आउन सक्नुभएको छैन । मुख्य कुरा सरकारमा रहने वा नरहने भन्दा पनि सबैदल मिलेर देश र जनताको हितमा अगाडि बढ्नु नै हो । सीट त मिलिहाल्छ नि ! त्यो प्राविधिक कुरा हो । कसलाई फिर्ता बोलाउनु पर्छ वा कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यो सजिलै हुन्छ । तर उहाँहरूसँग पहिले मन मिल्नुपर्‍यो । पछिल्लो समय सरकार र मधेसवादी दलहरू बीच सरकारमा जाने नजाने विषयमा गम्भीर तरिकाले छलफल नै भएको छैन ।

उहाँहरूको माग बमोजिम संविधान संशोधन हुन्छ त ?

हामीले संविधान संशोधन नै हुँदैन भनेर कहिल्यै भनेका छैनौं । किनभने संविधान असंशोधनीय विषय होइन । हामीले तर्क र समझदारीका आधारमा संविधान संशोधन गर्न सकिन्छ भनेर भनेका छौं । अब सदन चलेपछि संविधान संशोधनका विषयमा घनिभूत छलफल हुनेछ । त्यो छलफलबाट जे निकास निस्किन्छ, त्यसैको आधारमा सरकार अगाडि बढ्छ ।

प्रतिपक्षी दल कांग्रेसलाई माइनस गरेर वामपन्थी सरकार अगाडि बढिरहेको भन्ने टिप्पणी पनि छ नि !

यो सरकार वामपन्थी दलहरूको गठबन्धनसहित मिलेर बनेको भए पनि हाम्रो सरकार विभिन्न किसिमका आलोचनालाई पराजित गर्दै अगाडि बढ्छ । जनताले हामीलाई म्यान्डेट दिएको छ यसको अर्थ यो होइन कि हामी एक्लै अगाडि बढ्छौं । प्रतिपक्षी दल नेपाली कांग्रेस सँगसँगै बाँकी राजनीतिक दलहरूलाई समेत साथ लिएर देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अगाडि बढाउन प्रतिवद्ध छौं । यसका साथसाथै प्रदेश सरकारहरू र स्थानीय सरकार समेतसँग सहकार्य गर्दै सुशासनयुक्त देश बनाउन हामी चाहन्छौं । कुनै पनि जनतासँग वा दलहरूका नेता तथा कार्यकर्तासँग कुनै पनि किसिमको पक्षपात नगरी हामी जान चाहन्छौं । हाम्रो सरकार प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेल्न वा हेप्नका लागि बनेको होइन । यो सरकार सबैको साझा सरकार हो ।

केन्द्रले प्रदेश सरकारलाई आवश्यक सहयोग नगरेको भन्ने आरोप छ, तपाईंहरूले अधिकार नदिन खोज्नुभएको हो ?

कतिपय कानूनहरू प्रदेश सरकारले आफैँ बनाउने हो । खास गरेर सुरक्षाको जहाँसम्म सबाल छ, पाँच दिनअघि बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकबाट सुरक्षा अधिकारीहरूलाई एउटा कार्यादेश आइसकेको छ । सुरक्षा र स्थानीय प्रशासनको सबालमा प्रदेश सरकारका मुख्यमन्त्रीसँग समन्वय गर्न भनिएको छ । स्थानीय प्रशासन सञ्चालन गर्नका लागि संघीय मन्त्रालयको निकायहरूसँग समन्वय गर्नुका साथै प्रदेश सरकारसँग पनि समन्वय गरेर जानका लागि कार्यादेश दिइसकिएको छ ।

जहाँसम्म वित्तीय स्रोतको हस्तान्तरणको कुरा हो, प्रदेशस्तरका योजना तथा कार्यक्रमहरू प्रदेश सरकारलाई हामीले पठाइसकेका छौं । प्रदेशले आफ्नो बजेट र स्रोत संविधानअनुसार उपयोग गर्न स्वतन्त्र छन् । बाँकी थप स्रोतहरू प्रदेशले आफैँ परिचालन गर्नुपर्ने कुरा हो । ती स्रोतहरु आफैँ पनि जुटाउनुपर्छ । अर्को स्थानीय सरकारको सवालमा स्थानीय सरकार सञ्चालन ऐन आइसकेको छ । २०७४ को अन्तिमसम्म कानून बनाएर कार्यान्वयन गर्नुपर्र्र्ने थियो । सेटअप हुँदैछ, सबैकुरा विस्तारै ट्र्याकमा आउनेछन् ।

रेशम चौधरीको शपथ ग्रहण कहिले हुन्छ ?

रेशम चौधरीको शपथ ग्रहण संसदको नियमावलीअनुसार हुने कुरा हो । कानूनमा व्यवस्था भएअनुसार नै हुन्छ । मैले चाहँदैमा वा सरकारले इच्छा राख्दैमा हुने कुरा होइन ।

एमाले र माओवादीबीच पार्टी एकतामा किन ढिलाइ भइरहेको हो ?

दुईवटा पार्टी र संगठनहरूलाई तलदेखि माथिसम्म एकता गर्नका लागि दुवै पार्टीको मनोविज्ञान जोड्ने कुरा पनि हो । पार्टी एकताको कुरा तय भइसकेको छ । मनोविज्ञान जोडिएपछि भइहाल्छ ।

नेतृत्वको कुरालाई लिएर पार्टी एकता रोकिएको हो ?

होइन, नेतृत्वको विषयमा दुवै पार्टीका नेतृत्व स्पष्ट छ । चाँडै पार्टी एकता हुन्छ ।

जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न सरकारले केही पहल गरेको छ ?

जानकी मन्दिरलाई विश्व सम्पदा सूूचीमा लग्नका लागि विगतमा पनि केही प्रयासहरू भएको हो, तर त्यो कागजको घोडा अगाडि नदौडेको पाएको छु । म मन्त्री भएपछि त्यसमा केन्द्रित भएको छु ।  जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउनका लागि मन्त्रालयको तर्फबाट यूनेस्कोमा फाइल अगाडि बढाइसकेको छु । तर त्यसका लागि जनकपुरवासीको तर्फबाट जनकपुर उपमहानगरपालिकाको कार्यालयले प्रतिबद्धता जनाउनुपर्‍यो कि हामी त्यसका लागि तयार छौं ।

केही महिनामा यूनेस्कोबाट प्रतिनिधि जनकपुर आएर अवलोकन गर्नेछन् । यी सबै कुराहरू भएर विश्व सम्पदा सूचीमा पर्न कम्तिमा पनि पाँचदेखि छ वर्षसम्म लाग्न सक्छ । एउटा महत्त्वपुर्ण कुरा के हो भने जानकी मन्दिरको प्राचिनता, मौलिकतालाई विग्रने गरी मन्दिरको भित्तामा टायल्सहरू निर्माण गरिएको छ । त्यो सबै संरचना भत्काएर पुरानै माटो, इट्टा, काठ आदिको उपयोग गरेर पुरानै मौलिक संरचना निर्माण हुनु आवश्यक छ ।

काठमाडौंको रानीपोखरीमा समेत त्यसको मौलिकता नष्ट गरेर दुई करोड लगानी गरी नयाँ संरचना बनाइएको थियो । तर मैले दुई खर्ब आम्दानी आउने ठाउँमा त्यो दुई करोड लगानीको संरचना भत्काएर पुरानो मौलिक रानी पोखरी बनाउन लगाएँ । ठीक त्यसैगरी जानकी मन्दिरलाई पनि पुरानै मौलिक स्वरूपमा ल्याउनु आवश्यक छ ।

बैशाख १२, २०७५ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार