जाँदाजाँदै डा. देवकोटाले स्थापित गरिदिएका तीन मानक

असार ९, २०७५

केही समय पहिले इमेज टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा डा.उपेन्द्र देवकोटाले भनेका थिए– ‘म सामान्य मानिस हुँ, म आफूलाई असाधारण भन्दिन, मान्छेमा हुने सवल र दुर्बल पक्ष भएको, असल र खराव गुणको मिश्रण भएको मान्छे हुँ ।’ आफैंले भनेजस्तै केही कमजोरी थिए होला, तर उनले धेरै नेपालीलाई पुनर्जीवन दिएका छन् । र, नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।

पछिल्ला दुई महिना नेपाली सञ्चारमाध्यममा र सामाजिक सञ्जालमा उपेन्द्र देवकोटाले भरिए । एकाध बाहेक अधिकाशंले उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा कामना गरे । राजाको मन्त्रिमण्डलमा सहभागी भएको भनेर कतिपयले उनीप्रति तुच्छ टिप्पणी गरेको देखियो । कतिपयले उपेन्द्रले धनीको मात्र उपचार गरे भन्ने खालका टिप्पणी गरेको देखियो सुनियो । तर त्यति धेरै मानिसलाई दिएको पुनर्जीवनका अगाडि पैसा गौण कुरा भयो । उसो त न्युरो सर्जरी आफैंमा महंगो उपचार हो ।


ADVERTISEMENT

गएको बैशाख २३ गते गते म लगायत तीनजना डा. उपेन्द्रको स्वास्थ्यस्थिति बुझ्न न्युरो अस्पताल पुगेका थियौ । उपेन्द्रलाई भेटनुपूर्व हामी उनलाई राखिएको कोठा बाहिर उभियौं । भित्र एकजना शुभेच्छुक डाँको छाडेर रोइरहेको सुनिथ्यो । बुझ्दै जाँदा उनी नेपाल सरकारका कर्मचारी रहेछन्, उपेन्द्रबाट पुनर्जीवन  पाएका, प्रेमराज जोशी । पशुपतिको चन्दन लिएर उपेन्द्रलाई भेट्न पुगेका नेपाल सरकारको सहसचिव स्तरका ती कर्मचारीलाई डा. देवकोटाले भने– ‘तपाईहरूको कामनाले मलाई निको हुन्छ !’

केहीबेरमा हामी डा. देवकोटालाई भेट्न पुग्यौ । त्यो अवस्थामा पनि उनी हँसिलो अनुहारमा थिए । ‘कति गरौला भन्ने थियो, यस्तै भयो ध्रुबजी’ लोकान्तर डटकमका अध्यक्ष वरिष्ठ पत्रकार ध्रुबहरि अधिकारी देखेपछि देवकोटाले भने । उनले आफ्नो जीवनका केही अनुभवहरु भावी पुस्ताका लागि छाडौं भनेर छिटो स्वदेश फर्केको बताए । 

‘उहाँ त एउटा इन्टिच्यूसन नै हो, मैले नेपाल फर्के लगत्तै तपाईलाई खोजेको थिए’ ध्रुबहरि दाईसँग उपेन्द्रले भनेका अन्तिम शब्द यिनै थिए । करीब ५ मिनेट जति सामान्य भलाकुसारी भएपछि हामी (ध्रुबहरि अधिकारी, बिमल गौतम र म) फर्कियौं । ध्रुबहरि दाइसँग डा. देवकोटाको पुरानो सम्बन्ध थियो । उपेन्द्रले आफूलाई अलि विसेक भएपछि कुरा गर्न बोलाउँछु भनेका थिए, तर त्यो संयोग जुरेन ।

उपेन्द्रलाई भेटेर फर्कदा अस्पतालको परिसरमा जोशीका आँसु थामिएका थिएनन् । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत जोशी उपेन्द्रलाई भेट्न आएका थिए । हामीले उनीसँग कुरा गर्यौ । उपेन्द्रलाई भगवान मान्ने उनी हामीहरुसँगको कुराकानीमा पनि रोए । जोशीजस्ता कयौलाई डा.देवकोटाले पुनर्जीवन दिएका थिए । 

गएको जेठ २५ गते राति उपेन्द्र देवकोटाको निधन भएको अफवाह सामाजिक सञ्जालमा फैलियो । सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जलि दिने प्रतिष्पर्धा चल्यो । उसो त नेपालमा ज्यूँदो व्यक्तिलाई श्रद्धान्जली लेख्ने हतारो एउटा रोगको रुपमा विकसित हुँदैछ । अमर गुरुङदेखि राष्ट्रकवि माधव घिमिरेसम्म यसको शिकार बनेका थिए । ज्यूँदो मानिसलाई श्रद्धाञ्जलि दिएर ‘रिप’ लेख्न के हतारो होला ?

अफवाह फैलिएको भोलिपल्ट लोकान्तरमा स्वास्थ्यको रिर्पोटिङ गर्ने रिता लम्साल र फोटो पत्रकार गगन अर्याल सूर्योदय अगाडि नै न्युरो अस्पताल पुगेका थिए । डा. देवकोटालाई ह्वीलचेयरमा राखेर अस्पताल परिसरमा ल्याएको एक्सक्लुसिभ तस्वीर पहिलो पटक लोकान्तरमा सार्वजनिक भएपछि त्यो अफवाह गलत सावित भयो । उपेन्द्रका छोरीहरुले रोक्दा-रोक्दै पनि गगनले त्यो फोटो लिन भ्याइहाले । उपेन्द्रको स्वास्थ्य अवस्थाका कारण धेरैलाई उनी धेरै समय संसारमा रहने छैनन् भन्ने अनुमान गर्न गाह्रो भने थिएन ।

०००

जन्मपछि मृत्यु शाश्वत हो । उपेन्द्र बितेर गए । उपेन्द्र अल्पायुमै बिते । उनको आवश्यकता देशलाई अरु जरुरी थियो । आफ्नो जीवनमा उनले हजारौलाई पुनर्जीवन दिए । प्राण त्याग्दा पनि उनले आम नेपालीलाई केही सन्देश दिएका छन् ।

जीवनको उत्तरार्धमा डा. देवकोटाले जन्मघर गोरखा जाने इच्छा देखाए । नाकमा अक्सिजनको पाइप लगाएर भएपनि उनी हेलिकप्टरमा केही मिनेटका लागि गोरखास्थित जन्मघरमा गए । घर नजिकै सिस्नेको पानी पिए । सिस्नेको पानी पिउँदा खुसीको भाव व्यक्त गरे । यसमा धेरै ठूलो अर्थ लुकेको छ । 

विश्वव्यापीकरणको प्रभाव, नेपालभित्र पनि शहरीकरणको प्रभावका कारण प्रतिष्ठित र उच्च ओहोदामा पुगेका व्यक्तिले आफ्नो जन्मघरलाई उजाड बनाएका छन् । विदेशमा गएर पीआर लिनुलाई ठूलो सफलता मान्ने नेपाली समाजमा गलत संस्कार झांँगिदै छ । आर्थिक रुपमा विपन्न र पहुँच नभएका मात्र गाउँमा बस्ने हो भन्ने गलत संस्कार र सोचाइले जरो गाडेका कारण गाउँवस्ती उजाडिन थालेका छन् । डिभीपिआरको चक्करका कारण विदेशमा दोस्रो दर्जाको नागरिक बन्न राजी बन्नेको कमी छैन । विश्वका जुनसुकै देशमा प्रतिष्ठा साथ बस्ने हैसियत भएपनि देवकोटाले स्वदेशी माटोलाई नै रोजे ।

आफ्नो थातथलोलाई बिर्सेर आफूलाई भुइफुट्टा शहरीया भन्नमा रमाउनेहरुलाई उपेन्द्रले ज्यादै ठूलो सन्देश छाडेका छन् । जतिसुकै सम्पन्न र सुखसयल भएपनि अन्तिममा आफू जन्मे हुर्केको माटो नै चन्दन हो भन्ने उपेन्द्रको सन्देश धेरै दूरगामी छ । उपेन्द्रको यो सन्देशले चेतनशील जो कोहीलाई आफ्नो गाउँ ठाउँको विकास गर्नुपर्छ भन्ने चेत खुलेको छ । स्मरणीय छ, उपेन्द्रले समय-समयमा गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका थिए । 
जटिल रोगसँग लड्न सकेनन्, उपेन्द्र यो संसारबाट बिदा भए । संसारबाट बिदा भएर जाँदा पनि उनले देशप्रेम छाडेनन् । धेरैले याद गरेको हुनुपर्छ, श्रद्धाञ्जलिका लागि राखिएको उनको शीरमा ढाका टोपी थियो । शरीरमा दौरा सुरुवाल लगाइएको थियो । नेपाली मौलिकता बोकेको ढाका टोपीप्रति उनको प्रगाढ प्रेम र आस्था साँच्चिकै प्रशंसायोग्य छ । ढाका टोपी र दौरा शुरुवाल कसैका लागि ‘महेन्द्रीय राष्ट्रवाद’ जस्तो लाग्न सक्छ, तर उनीहरुले ढिलो चाडो बुझ्ने नै छन् । 

उपेन्द्रले मृत्युपछि पनि दिएको अर्को महत्त्वपूर्ण सन्देश, उनको काजकिरीया पनि हो । पछिल्ला वर्षहरुमा छोरीहरु मलामी जाने चलन विस्तारै बढ्दै गएको छ । त्यो चेतना अत्यन्त सुस्त गतिमा फैलिरहेको छ । त्यसैले पनि आधुनिक र शिक्षित भनिएका नेपालीसमेत अहिलेको समयमा पनि छोराकै रहर गर्छन् । छोरा पाउने नाममा भ्रुण हत्या गर्ने प्रचलन डरलाग्दो ढंगले बढेको छ । त्यसैको मापक हो, शहरी क्षेत्रमा झुण्डाइएका सुरक्षित गर्भपतनका होडिङ बोर्ड । सम्पन्नतामा हुर्केका उपेन्द्रका छोरीहरुले बुबाको शव बोकेको दृष्यले छोराको रहर गरेर गर्भपतन गराउनेहरुलाई पश्चाताप भएको हुनुपर्छ । छोरीहरु पनि मलामी हुन्छन् भन्ने चेतना उनीहरुले दिएका छन् । 

उपेन्द्रले मृत्युपूर्व आफ्नो काजकिरीया ७ दिनमा टुंगाउन भने । यो सामाजिक सुधारको पक्षमा अर्को महत्त्वपूर्ण काम हो । मृत्यु संस्कार १३ दिन नै कायम राख्ने र ३ दिनमा झार्नुपर्ने भन्नेमा बहस भइरहेको छ । उपेन्द्रले दिएको विकल्प धेरैका लागि मध्यमार्गी विकल्प हुन सक्छ । र, उपेन्द्रले आफ्नो शव विद्युतीय शवदाह गृहमा जलाउन लगाए । अहिले पनि विद्युतीय शवदाह गृहभन्दा पशुपति आर्यघाटमा परम्परागत रुपमा दाउराबाटै शव जलाउने गरेको देखिन्छ । उपेन्द्रजस्ता नाम चलेका व्यक्तिको शव विद्युतीय शवदाह गृहमा जलाउँदा आम सर्वसाधारणमा विद्युतीय शवदाह गृहमा शव जलाउन उत्प्रेरित गर्न सक्छ । यो पनि उनले दिएको सन्देश हो ।

२०७० चैत १९ गते इमेज टिभीमा प्रशारण भएको र युट्युवमा हेर्न सकिने अन्तर्वार्तामा देवकोटाले त्यो बेलासम्म झण्डै १२ लाख नेपालीको उपचार गरेको बताएका छन् । ‘मैले उपचार गरेका बिरामीमध्ये धेरै बिरामीको खुट्टा छोएको छु’ उनले भनेका थिए । शाही सरकारमा स्वास्थ्य मन्त्री बनेको समयमा उपेन्द्रले स्वास्थ्य बीमाको अवधारणा ल्याएको भनेर उनका साथी रामकुमार श्रेष्ठले लेखेका छन् । स्वास्थ्य मन्त्री रहेको समयमा पनि उनी शल्यक्रियाका लागि समय निकाल्थे ।

स्वयं उपेन्द्रले भनेजस्तै उनका केही कमजोरी थिए होलान्, तर उनले दिएको योगदानसामु ती गौण हुन् । बैकुण्ठ बास होस् प्रिय डाक्टर देवकोटा । 

यो पनि पढ्नुहोस् 

संसार छाडेका डा. देवकोटाको शिरमा देशको माया !
सामाजिक क्षेत्रमा सँगै काम गरेका व्यक्तिको सम्झनामा डा. देवकोटा : थियो माटोप्रति अगाध प्रेम
डा. उपेन्द्रको उपचारबाट पुनर्जीवन पाएका जोशीले भक्कानिंदै भने, ‘भगवान् चमत्कार भैदेओस्’
 

असार ९, २०७५ मा प्रकाशित

सुशील पन्त

लोकान्तरका समाचार संयोजक सुशील पन्त समसामयिक राजनीति र  संसदीय मामिलामा कलम चलाउँछन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस