अर्को विद्युत आयोजना बन्ने, इलेप खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर

असार २६, २०७५

काठमाडौं – धादिङको रुवीभ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत आयोजनाको विद्युत् खरिद—बिक्री सम्झौता (पीपीए) भएको छ ।

नेपाल विद्युत प्राधिकरणकातर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाकातर्फबाट प्रवर्द्धक जलशक्ति हाइड्रो कम्पनी प्रालीका अध्यक्ष तिलक लामाले सोमबार पीपीएमा हस्ताक्षर गरेका हुन् ।


प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)मा प्रतियुनिट क्रमशः .४० र ४.० रुपैयाँमा खरिद गर्ने छ । आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि (स्कालेसन) पाउने छ । आयोजनाबाट वार्षिकरुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।

एक वर्षभित्रमा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरी आयोजनाको निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । उनले निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए । पीपीएअनुसार आयोजनाले व्यापारिकरूपमा विद्युत उत्पादन गर्नुपर्ने मिति डिसेम्बर २०२४ छ ।

निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रुपैयाँ छ । अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउने लगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । उत्पादित विद्युत् ३२ किलोमिटर प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिसूली ३ बी हव सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।

असार २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस