साढे ३३ किलो सुन काण्डमा न्यायाधीशमाथि पनि ‘कारबाही’ !

माघ ३, २०७५

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको आदेशमा उच्च अदालत विराटनगरका ५ जना न्यायाधीशलाई न्याय परिषद सचिवालयमा तानिएको छ । 

तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको संगठित अपराध, कर्तव्य ज्यान तथा शरीर बन्धक तथा अपहरण मुद्दामा गलत नियतले न्याय सम्पादन गरेको भन्दै ५ जना न्यायाधीश परिषदमा तानिएका हुन् । 


ADVERTISEMENT

परिषद सचिवालयमा तानिने उच्च अदालतका न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंह छन् । 

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले पुर्पक्षमा पठाएका अभियुक्तमध्ये केहीलाई उच्च अदालतले धरौटी र साधारण तारेखमा रिहा गरेको थियो । 

न्यायाधीशहरुले गलत नियतका साथ न्याय सम्पादन गरी आदेश उल्ट्याएको भन्दै महान्यायाधीवक्ताको कार्यालयले न्याय परिषदको ध्यानाकर्षण गराएको थियो । 

न्याय परिषद स्रोतले विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई काजमा परिषद सचिवालयमा झिकाउन लागिएको जानकारी दियो । यद्यपि उनीहरुमाथि ‘कारबाही’को प्रक्रिया शुरु नै भइनसकेको स्रोतको भनाइ छ । 

‘५ जना न्यायाधीशविरुद्ध विभिन्न प्रकारका उजुरी परेकाले उहाँमाथि अनुसन्धान शुरु भएको छ,’ स्रोतले भन्यो, ‘अनुसन्धान नसकिँदासम्म न्याय परिषदमा हाजिर लागउने गरी काजमा तानिएको हो ।’ 
 

माघ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस