भदौ २४, २०८०
विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको फोरम ‘जी २०’ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर भारतले आफ्नो कूटनीतिक सक्षमताको उम्दा उदाहरण प्रस्तुत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्ला...
काठमाडाैं | बैशाख २६, २०८१
‘कति ठाउँमा दोहोरो भिडन्त गरियो, यसो गणना गर्दा ४१ ठाउँमा प्रत्यक्ष भिडेको रहेछु । बमका ९ वटा छर्रा शरीरमै टाँसिएको छ । असर गर्दैन रे, डाक्टरको सल्लाहमै झिकेको छैन’, कुनै बेला काठमाडौं उपत्यकालाई थर्कमान बनाउने तत्कालीन वाईसीएल कमान्डर चन्द्रबहादुर थापा ‘सागर’ले विगत सम्झिए ।
‘कुन–कुन ठाउँमा भिड्नुभयो ?’ भन्ने प्रश्नमा हतारहतार पुराना दिनको आत्मसमीक्षा गर्दै सागरले भने, ‘थुप्रै साथीहरूको शहादत भएको छ । तिनका परिवार र आफन्तजन छन् । मैले प्रचण्डले जस्तो ५ हजारको जिम्मा लिन्छु भन्न सक्दिनँ, त्यो विगततिर नजाऔं ।’
२०६२ अन्त्यतिर उपत्यकावरपर सशस्त्ररूपमा निकै ठूला झडप भए । हरियो घाँस बोकेका मान्छेहरू हुलका हुल सडकमा निस्किए । त्यसैको कमान्डमा थिए, सागर । वाईसीएलको उपत्यका कमान्डर भएका सागरको नाम मात्र लिए पुग्थ्यो माओवादीलाई । औद्योगिक घराना, व्यापारी व्यवसायी, प्रहरी प्रशासनदेखि ‘गुण्डागर्दी समूह’सम्म सागर भनेपछि थर्कमान हुन्थे ।
मुख्यगरी काठमाडौं र ललितपुरमा ‘गुण्डागर्दीमा संलग्न चल्तीका समूह’लाई सागरको नेतृत्वले २०६३ साउनमा गोदावरीको एउटा गोदाममा लगेर थुनिएको थियो । थुनिनेमा पछि प्रहरी इन्काउन्टरमा परेका कुमार ‘घैँटे’देखि मीनकृष्ण महर्जन (हाल ललितपुर १ (१)का प्रदेशसभा सदस्य)सम्म थिए ।
सागर अहिले विगतका कुरा सम्झनै मान्दैनन् । यतिखेर उनको एउटै लक्ष्य छ, ‘देशभक्त राष्ट्रवादी विचार । राजनीति, अर्थतन्त्र, सामाजिक–सांस्कृतिक हिसाबबाट समृद्धि ।’ नायिका रेखा थापाबाट भाइटीका लगाएर होस् वा बेरोजगार युवा संघ खोलेर अथवा एमालेका सचिव गोकर्ण विष्टलाई हराएर नै किन नहोस्, २०७० अघिसम्म सागरको चर्चा चुलिएको थियो । त्यसयता उनको चर्चा सेलाएको छ । सागरको नाम खासमा चन्द्रबहादुर हो । अहिले उनी निकै फरक बाटोमा छन् । ‘मार्क्सवादबाट बिल्कुल अलग छु’, उनी भन्छन् । ‘मार्क्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथ’को आलोकबाट स्थापित सागर यतिखेर त्यो बाटोबाट पूर्ण ‘फ्रस्टेट’ भएर वैकल्पिक शक्ति निर्माणकोे कसरतमा लागेका छन् । उनका ती निराशालाई शक्तिमा बदल्ने हुटहुटीले सागरबाट फेरि चन्द्रबहादुर बनेका छन् ।
चन्द्रबहादुर सागरदेखि फेरि चन्द्रबहादुरसम्म
नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियू बुटवल क्याम्पसकोे इन्चार्ज थिए, चन्द्र बहादुर । २०५३ मा बीएल अध्ययन सकेपछि उनी राष्ट्रिय खेलकुद परिषद्मा अधिकृत तहको जागिरे भएर गृहजिल्ला गुल्मीको तम्घास गए । सितोरियो कराँतेबाट २०५० मै ब्ल्याकबेल्ट प्राप्त चन्द्र उत्कृष्ट प्रशिक्षक र कुशल खेलाडी थिए ।
उनी २०५४ तिर माओवादी ‘जनयुद्ध’प्रति आकर्षित भए । गुल्मीको ईस्मा गाउँपालिका–४ का सागर एकाएक माओवादी बने । उनीसँगै सुदर्शन बराल (हाल नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश अध्यक्ष) सहितको समूह माओवादीमा प्रवेश गर्यो । गुल्मीमा एमालेको निकै प्रभाव थियो । त्यही मेसोमा चन्द्र माओवादीको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को जिल्ला उपाध्यक्ष बने ।
माओवादीले उनको कला बुझ्यो । उनलाई लडाकू दस्ता स्क्वार्ड (माओवादीको जनमुक्ति सेना घोषणा हुनुअघि जनमिलिसियापछि स्क्वार्ड लडाकू दस्ता थियो) गुल्मीको भीसी बनायो । त्यसपछि प्लाटुन गण्डक क्षेत्रअन्तर्गत प्लाटुन भ्वाइस कमान्डर बने । लगत्तै कम्पनी कमान्डर बन्न पुगे । सितोरियो कराँतेको ब्ल्याकबेल्ट प्राप्त गरेको कला माओवादी लडाकूमा अवसर बन्यो । माओवादीले जनमुक्ति सेना उत्पादन गर्दै जाने क्रममा चन्द्रको पद बढ्दै गयो ।
माओवादीको चुनवाङ बैठकले ‘ढाडमा टेकेर टाउको (राजधानी)मा हान्ने’ नीति लियो । त्यहीबेला उनी ‘अर्वान बटालियन कमान्डर’ बने । जिम्मा आइलाग्यो, माओवादी सैन्य भ्याली कमान्डर । त्यो बेला भ्यालीवरपरको क्षत्रलाई माओवादीले विशेष ब्यूरो बनाएको थियो । यस क्षेत्रको पार्टी कमिटी र सैन्य इन्चार्ज वर्तमान अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ थिए ।
त्यहीबेला २०६२/६३ को आन्दोलनले उचाइ लियो । उपत्यकावरपर सशस्त्र आक्रमण र जनआन्दोलनको कमान्डर भए, सागर । त्यसैको रापतापले उनी उपत्यकामा २०६३ पछि ५/६ वर्ष निक्कै चर्चामा आए । शान्ति प्रक्रियापछि पार्टीले सेना समायोजनमा जाने प्रस्ताव गर्यो । उनले मानेनन् । पछि वाईसीएलको उपत्यका प्रमुख भए । सोही क्रममा ०६४ को पहिलो संविधान सभाको चुनावमा गुल्मी क्षेत्र नं. ३ (साविक) हाल नेकपा (एमाले)का सचिव गोकर्ण विष्टलाई हराए । विष्ट र चन्द्र एउटै वडाका हुन । राजनीतिक हिसाबले विष्ट सागरका राजनीतिक गुरु हुन् ।
दोस्रो संविधान सभा चुनाव २०७० वरपर आइपुग्दा फेरि उनी सागरबाट चन्द्र बन्ने ध्याउन्नमा लागे । जसका कारण माओवादी नेतृत्वसँग आन्तरिक रूपमा निहुँ खोज्दै गए । त्यसअघि नै २०६६ तिर उनले बेरोजगार युवा संघ गठन गरेका थिए, जुन वाईसीएलको समानान्तर संगठनजस्तो बन्यो । त्यसपछि पार्टीभित्र विवाद सिर्जना भयो । ‘यसो हेरेको पार्टी संसदीय व्यवस्थामा चुर्लुम्मै डुब्दै गयो । संघीयताको खाका पनि भएन । धर्म निरपक्षेताको नाममा क्रिश्चियन लाइन देखियो । आमूल परिवर्तन नगर्ने देखिएपछि २०७० को दोस्रो संविधान सभा चुनाव लडिनँ’, चन्द्रले भने ।
माओवादी ‘जनयुद्ध’मा होमिएर आफूलाई आत्मग्लानि नभएको तर अहिले मार्क्सवादलाई पूर्णरूपमा परित्याग गरेको उनले पटक–पटक दोहोर्याए ।
‘माओवादी जनयुद्ध मेरा लागि राजनीतिक विश्वविद्यालय भयो । यो एउटा अवसर हो, जसले नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्तर्राष्ट्रिय अन्तर्विरोध बुझ्न र सिक्न सिकायो । संगठन निर्माण, परिचालन र संगठनमा आउने अन्तर्विरोध हल गर्ने चेतना, लड्ने चेतना सबै त्यहीँबाट पाएँ’, उनले भने ।
माओवादी र मार्क्सवादबाट अलग हुनुको कारण प्रस्ट्याउँदै उनले थपे, ‘आमूल परिवर्तनको दिशामा वैचारिक विचलन तथा योजना र काम–कारबाहीमा शून्यता देखियो । खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रूपमा रहेको संसदीय व्यवस्थामा पार्टी चुर्लुम्मै डुब्यो । अन्ततः माओवादी, एमाले वा कांग्रेस हुनुमा कुनै भिन्नता छैन भन्ने निष्कर्षमा पुगें ।’
हिजोका दिनमा समाज परिवर्तन गर्न भनेर आएको माओवादी र अहिलेको माओवादीलाई हेर्ने दृष्टिकोण प्रस्ट्याउँदै चन्द्रले भने, ‘सामामिकरूपमा जे गर्नुहुँदैन भन्थ्यो माओवादीले, अहिले ती सबै काम गरेको छ । रक्सीको भट्टीमा माओवादी, म्यानपावरमा माओवादी, निजी स्कूलमा माओवादी भेटिन्छन् । अहिले म बिल्कुल नयाँ सोचसहितको अभियानमा लागेको छु । मार्क्सवाद भन्ने मेरो दिमागमै छैन ।’
अझै ‘परिवर्तन’को भोक
‘माओवादी जनयुद्ध अर्थात् मार्क्सवादी विश्व विद्यालय’को सिकाइलाई कसरी प्रयोगात्मक बनाउने ?’ भन्नेमा उनी लागेका छन् । उनको राजनीतिक मोह अझै भंग भएको छैन । मोह भंग भएको मार्क्सवादी दर्शनबाट मात्रै हो । ‘विश्व विद्यालयमा अध्ययन गर्ने हो, सिक्ने हो, तर सबै त्यही सिकाइ हुबहु लागू गर्नुपर्छ भन्ने होइन । त्यसैले केही राजनीतिक परिवर्तन गरौं भनेर अभियान जारी राखेको छु’, उनले भने ।
मुलुकले आर्थिक संकट झेलिरहेका बेला केही सस्ता र लोकप्रिय नारा उनले अघि सारेका छन् । बैंकिङ कर्जा ब्याजदर अधिकतम ७ प्रतिशत कायम गरी न्यूनतम् २ वर्ष कालो सूची/लिलामी अवधि थप गर्नुपर्ने चन्द्रको माग छ । लिलामीको हकमा पुनः मूल्यांकन गर्नुपर्ने र पुरानो धितोमा २० देखि ३० प्रतिशतसम्म पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने माग उनले उठाएका छन् ।
मुलुकभर गम्भीर समस्यामा देखिएका सहकारी तथा वित्तीय संस्थाका समस्यालाई उनले अभियानमा अर्को एजेन्डाका रूपमा उठाएका छन् । ‘बचतकर्ताको बचत पूर्ण रक्षाका लागि सरकारले तुरुन्त भूमिका खेल्नुपर्छ र चेक बाउन्स मुद्दा देवानी कानूनअन्तर्गत राख्नुपर्छ,’ उनले आफ्नो माग सुनाए ।
आत्मनिर्भर अर्थतन्त्र, पूर्ण लोकतन्त्र, सनातन संस्कृतिसहितको सुशासनका लागि प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था लागू गर्नुपर्ने मुद्दा उनले अघि सारेका छन् । देशलाई समृद्धिको दिशामा लैजानका लागि कृषि, खनिज, जलस्रोत, जडिबुटी, पर्यटन क्षेत्रमा व्यवसायीकरण गरेर जाने अभियानमा चन्द्रले जोड दिएका छन् ।
चन्द्रबाट सागर, सागरबाट फेरि चन्द्र बन्दै गर्दाको राजनीतिक उतारचढावबारे कुराकानीपछि प्रश्न गरियोे, ‘माओवादीबाट फ्रस्टेट भएपछि अभिव्यक्त विचार हो यो ?’ उनले जवाफ फर्काए, ‘हो मलाई माओवादीबाट फ्रस्टेट भएको मान्छे भन्दा हुन्छ । मुलुकलाई समृद्धिको दिशामा लानुपर्छ भन्ने हुटहुटीका कारण अर्को बाटो समाएको छु ।’
मोबाइलमा रिङ (घन्टी) बजेकोबज्यै थियो । पहिले कमान्डर हुँदा जसरी बोल्थे, बोलीमा त्यस्तो फरकपन छैन । कमान्ड नै छ, तर आर्टिफिसियलजस्तो देखिन्छ । यो नयाँ अभियानलाई कति अगाडि लान सक्छन्, त्यो भने भविष्यका दिनहरूले नै देखाउनेछ ।
विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको फोरम ‘जी २०’ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर भारतले आफ्नो कूटनीतिक सक्षमताको उम्दा उदाहरण प्रस्तुत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्ला...
नेपालको राजनीतिमा कोइराला परिवारको छुट्टै इतिहास छ । कोइरालाहरू भौतिकवादी होइनन्, तर उनीहरू परम्परा र चाडबाड मान्ने अभ्यासमा भने कम्युनिस्ट भन्दा प्रगतिशील छन् । कांग्रेसका संस्थापन बीपी कोइराला मा...
प्याथोलोजिस्ट डा. अञ्जन श्रेष्ठले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ब्लड क्यान्सरको उपचार गर्दै आएका छन् । अस्पतालको प्याथोलोजी विभाग प्रमुख समेत रहेका डा. श्रेष्ठ क्यान्सर तथा रगतसम्बन्धी रोग...
यातायात व्यवस्था विभागले अवैधरूपमा जारी भएका २९ हजारभन्दा बढी लाइसेन्स रद्द गरेको दाबी गरे पनि त्यसको वैधतामा प्रश्न उठेको छ । लाइसेन्स जारी वा रद्द गर्ने अधिकार भएका सम्बन्धित कार्यालयबाटै रद्द गराउनुपर्नेमा व...
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्नका लागि तीन हप्ताको समय बाँकी रहँदा देशभर चुनावी रौनक बढेको छ । कात्तिक १७ गतेदेखि मात्र उम्मेदवारले झण्डा लिएर औपचारिक रूपमा घरदैलो शुरू गर्न पाउने भए प...
पुरानो सम्झौता रद्द गरी गौशाला खाली गर्न पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गरे पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पुनः मारवाडी सेवा समितिलाई नै जिम्मा दिने तयारी गरेका ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...