०५ साउन २०८३, मंगलबार
चौथो फिफा विश्वकप–१९५०

द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो

जेठ २, २०८३
काठमाडौं
द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो

प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने फिफा विश्वकपले यसबीचमा निकै लामो समय विश्राम लियो । कारण थियो, दूर्भाग्यपूर्ण द्वितीय विश्वयुद्ध । त्यसैले सन् १९३८ मा तेस्रो संस्करण सम्पन्न भएको १२ वर्षपछि सन् १९५० मा चौथो संस्करण आयोजना भएको थियो ।

चौथो संस्करण जुन २४ देखि जुलाई २६ तारिखसम्म ब्राजिलमा आयोजना भएको थियो । सन् १९५० को फिफा विश्वकपलाई फुटबलको इतिहासमा मात्र होइन, विश्व राजनीति र खेलकुदको पुनर्जागरणको दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ ।

द्वितीय विश्वयुद्धको विभीषिकापछि फर्किएको चौथो संस्करणले फुटबललाई पुन: विश्वव्यापी मञ्चमा उभ्याएको थियो । दक्षिण अमेरिकाले दोस्रो पटक विश्वकप आयोजनाको अवसर पाएको थियो । यो संस्करणमा १३ राष्ट्रले मात्र सहभागिता जनाएका थिए ।

चौथो संस्करणमा एसिया र अफ्रिकाबाट कुनै पनि टोली सहभागी भएनन् । एसियाबाट भारतले भाग लिने पक्का भएको थियो । तर, अन्तिम समयमा आएर भारतले पनि प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको थियो ।

उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट अमेरिका र मेक्सिकोले भाग लिएका थिए । दक्षिण अमेरिकाबाट आयोजक ब्राजिलसँगै बोलिभिया, चिली, पाराग्वे र पूर्वविजेता उरुग्वेले सहभागिता जनाएका थिए ।

यसैगरी, युरोपबाट इङ्ल्यान्ड, साविक विजेता इटाली, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड र युगोस्लाभिया सहभागी थिए । पिफा पुरुष विश्वकपमा इङ्ल्यान्डको यो पहिलो सहभागिता थियो । सहभागिता पक्का गरेका फ्रान्स, स्कटल्यान्ड र टर्कीले अन्तिम समयमा आएर नाम फिर्ता लिएका थिए ।

युद्धको छायाँ, आयोजनाको चुनौती र ट्रफीको नामाकरण

सन् १९४२ र सन् १९४६ मा आयोजना हुनुपर्ने विश्वकप दोस्रो विश्वयुद्धका कारण रद्द भएका थिए । युद्धले थिलथिलो बनेको युरोपमा त्यसबेला खेलकुदभन्दा आधारभूत आवश्यकता नै प्राथमिकतामा पर्नु स्वभाविक थियो ।

null

यस्तो नाजुक परिस्थितिमा फिफाले आयोजक राष्ट्र पाउनसमेत निकै संघर्ष गर्नुपरेको थियो । अन्ततः सन् १९४६ को फिफा कंग्रेसमा ब्राजिलले आयोजनाको जिम्मा लियो । विश्वकप फुटबलको इतिहासमा यो महत्त्वपूर्ण क्षण थियो । यही कारणले विश्वकपले पुनर्जीवन पाएको थियो ।

यही संस्करणबाट विश्वकप ट्रफीको नामसमेत परिवर्तन गरिएको थियो । यो संस्करणबाट उपाधि विजेता टोलीलाई दिइने ट्रफीको नाम फिफाका अध्यक्ष जुल्स रिमेटको सम्मानमा ‘जुल्स रिमेट कप’ नामकरण गरिएको थियो ।

इटालीको शोक र प्रतियोगिताको उदेकलाग्दो ढाँचा

साविक विजेता इटालीका लागि यो विश्वकप निकै त्रासदीपूर्ण रह्यो । प्रतियोगिता शुरू हुनुभन्दा एक वर्षअघि मात्र भएको सुपेर्गा विमान दुर्घटनामा इटालीका अधिकांश उत्कृष्ट खेलाडीले ज्यान गुमाएका थिए ।

त्यसैले शोकमा डुबेको इटालीलाई विश्वकप खेल्न मनाउन पनि फिफाले निकै मिहिनेत गर्नुपरेको थियो । इटालीका खेलाडी यतिसम्म त्रसित थिए कि, उनीहरू कुनै पनि हालतमा विमान चढ्न तयार थिएनन् । त्यसैले खेलाडी विमानको साटो लामो समुद्री यात्रा तय गर्दै ब्राजिल पुगेका थिए ।

null

यो विश्वकपको ढाँचा पनि विगतको भन्दा फरक र उदेकलाग्दो थियो । प्रतियोगिताको इतिहासमा यो नै एक मात्र संस्करण थियो, जसमा अन्तिम खेल ‘फाइनलका रूपमा नभई चार टोलीको ‘मिनी–लिग’को रूपमा खेलाइएको थियो ।

राजनीतिक जटिलता, विवाद र टोलीहरूको बहिर्गमन

यो विश्वकप फुटबल जगतको एउटा यस्तो अध्याय थियो, जसले खेलको मैदानमा उत्कृष्ट कलामात्र देखाएन, बरु इतिहासकै सबैभन्दा ठूला उलटफेरमध्ये एकलाई जन्म पनि दियो ।

अव्यवस्थित आयोजना, टोलीहरूको अनपेक्षित बहिर्गमन र अन्तिम खेलमा भएको नाटकीय नतिजाले यस संस्करणलाई सधैंका लागि अविस्मरणीय बनायो । 

सन् १९३८ को विश्वकपपछि विश्व राजनीतिमा धेरै परिवर्तन आइसकेको थियो । सन् १९५० को विश्वकपमा धेरै टोलीको सहभागिता नहुनु आयोजकका लागि टाउको दु:खाइको विषय थियो ।

null

खासगरी, स्कटल्यान्डले ‘समूह विजेता नभएसम्म ब्राजिल नजाने’ भन्दै लिएको अडानले धेरैलाई अचम्मित बनाएको थियो ।

अर्कोतिर, युद्धका कारण जर्मनी र जापान फिफाबाट प्रतिबन्धित थिए । यी दुवै राष्ट्रले सन् १९५० को सेप्टेम्बरमा मात्र फिफामा पुन: प्रवेश पाएका थिए ।

यसैगरी, तत्कालीन सोभियत संघको प्रभावमा रहेका देशहरूले पनि प्रतियोगिता बहिष्कार गरेका थिए । युगोस्लाभिया एक्लो पूर्वी युरोपेली राष्ट्र थियो, जसले चौथो विश्वकपमा सहभागिता जनायो ।

इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डलगायतका राष्ट्र भने १७ वर्षको स्वेच्छिक निर्वासनपछि फिफामा फर्किएका थिए ।

छनोट प्रक्रियाको विषयलाई लिएर पनि ठूलै विवाद भएको थियो । त्यसैले अर्जेन्टिना, अस्ट्रिया, बेल्जियमलगायत थुप्रै राष्ट्रले विभिन्न कारण देखाउँदै विश्वकपबाट नाम फिर्ता लिएका थिए ।

अस्तव्यस्त संरचना

चौथो विश्वकपको ढाँचा पनि निकै विचित्रको थियो । केवल १३ टोली सहभागी रहेको यो विश्वकपमा समूह विभाजन पनि सामान्य थिएन । कुनै समूहमा चार, कुनैमा तीन त कुनैमा दुई टोलीलाई राखिएको थियो ।

null

अझ रोचक त के भने, यो विश्वकपमा औपचारिक रूपमा कुनै ‘फाइनल’ नै खेलाइएन । विजेता तय गर्न अन्तिममा चार टोलीको ‘मिनी–लिग’ खेलाइएको थियो । यद्यपि, संयोगवश अन्तिम खेलले नै फाइनलको स्वरूप लिन पुगेको थियो ।

ब्राजिलको आत्मविश्वास र मारकानाको भव्यता

आफ्नै भूमिमा विश्वकप जित्ने धुनमा रहेको ब्राजिल निकै आत्मविश्वासी थियो । ‘ब्राजिल मस्ट विन’ (ब्राजिलले जित्नैपर्छ) भन्ने गीत सर्वत्र गुञ्जाइएको थियो ।

ब्राजिलले विश्वकप जित्ने विश्वाससहित रियो दि जेनेरियोमा निर्माण गरिएको विशाल ‘मारकाना’ स्टेडियमलाई विजय उत्सवका लागि तयार पारिएको थियो ।

तर, समूहगत चरणमा मेक्सिकोलाई ४–० गोलले हराएर शानदार शुरूआत गरेको ब्राजिलको टोली  स्विट्जरल्यान्डसँग २–२ को बराबरीमा रोकिएपछि दबाबमा पर्‍यो । त्यसपछि, युगोस्लाभियालाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको थियो ।​

इङ्ल्यान्डको लज्जास्पद बहिर्गमन

यो विश्वकपमा इङ्ल्यान्डको खराब प्रदर्शन पनि गतिलै चर्चाको विषय बन्यो । पूर्व तयारीबिना ब्राजिल पुगेको इङ्ल्यान्डले पहिलो खेलमा चिलीलाई हराएको थियो ।

तर, इङ्ल्यान्डको टोली आफ्नो दोस्रो खेलमा अमेरिकाजस्तो कमजोर मानिएको टोलीसँग ०–१ गोलले पराजित हुन पुग्यो । फुटबलप्रेमीका लागि त्यो निकै अप्रत्यासित नतिजा थियो ।

null

अमेरिकाका लागि हाइटीमा जन्मिएका जोसेफ एडुअर्ड गेटजेन्सले गरेको एकमात्र गोलले फुटबल इतिहासमै निकै ठूलो उलटफेर गरेको थियो ।

आफ्नो तेस्रो खेलमा पनि इङ्ल्यान्डको टोली स्पेनसँग ०–१ गोलले पराजित हुन पुग्यो । यसरी इङ्ल्यान्ड समूहगत चरणबाटै घर फर्कन बाध्य भएको थियो ।

मारकानाको त्यो सन्नाटा

अन्तिम चार टोलीबीचको भिडन्तमा ब्राजिल र उरुग्वे आमने–सामने थिए । उपाधिका लागि ब्राजिलको टोलीलाई बराबरीको नतिजामात्र पर्याप्त थियो ।

१६ जुलाईको दिन एक लाख ९९ हजार आठ सय ५४ दर्शकले खचाखच भरिएको मारकाना रंगशालामा ब्राजिलले खेल नियन्त्रणमा राखेको थियो ।

दोस्रो हाफको शुरूमै अल्बिनो फ्रियाका कार्डोसोले गोल गरेपछि ब्राजिल समर्थकहरू निकै उत्साही बनेका थिए । तर, त्यसपछि परिस्थितिले अर्कै मोड लियो ।

खेलको ६६ औं मिनेटमा उरुग्वेका हुवाँ अल्बर्टो सियाफिनोले बराबरी गोल गरेपछि रंगशालामा एकाएक प्रकारको सन्नाटा छायो ।

यसैगरी, निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा एलसिडेस घिगियाले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए ।

null

त्यसपछि, उरुग्वेको टोली पूर्णरूपमा रक्षात्मक बनिदियो । कप्तान ओब्दुलियो भरेलाको नेतृत्वमा रहेको उरुग्वे अन्तिमसम्म रक्षात्मक बनिदिँदा ब्राजिलको उपाधि जित्ने सपना चकनाचुर भयो ।

अन्तत: सोही गोलअन्तरले ब्राजिललाई हराउँदै उरुग्वेले दोस्रो पटक फिफा विश्वकपको उपाधि उचाल्यो । उपाधि त दक्षिण अमेरिकी भूमिमै रह्यो तर, ब्राजिलका समर्थक नराम्ररी जिल्लिए ।

फुटबल इतिहासको त्यो दिन ब्राजिलका लागि दुस्वप्न बन्यो । तर, उरुग्वेले भने खेलकुद जगतलाई एउटा गतिलो पाठ सिकायो । ‘खेलमा अन्तिम सिट्ठी नबज्दासम्म केही पनि निश्चित हुँदैन,’ वास्तवमै विश्व खेलकुदका लागि यो गतिलो पाठ थियो ।

यसका अतिरिक्त, सन् १९५० को विश्वकपले खेलप्रेमीलाई अर्को एउटा महत्त्वपूर्ण आभास पनि दिलायो कि, ‘युद्धको घाउ जतिसुकै गहिरो भए पनि, खेलकुदले विश्वलाई जोड्न र नयाँ इतिहास कोर्न सक्छ ।’

ब्राजिल उपाधिबाट चुक्यो तर, एडेमिरले इतिहास रचे

आयोजक ब्राजिल अन्तिम क्षणमा आएर उपाधिबाट चुक्यो । तर, ब्राजिलका प्रभावशाली खेलाडी एडेमिर मार्कस डी मेनेजेस चौथो विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने ।

उनी एक्लैले चौथो विश्वकपमा कूल नौ गोल गरेका थिए । उपाधि विजेता उरुग्वेका खेलाडी ओस्कर मिग्वेजले पनि पाँच गोल गरेका थिए ।

यसैगरी, उरुग्वेका एलसिडेस घिगिया विश्वकपको इतिहासमै आफूले खेलेको सबै खेलमा गोल गर्ने दोस्रो खेलाडी बन्न पुगे । यसअघि, हंगेरीका ग्योर्गी सारोसीले यस्तो उपलब्धि हासिल गरेका थिए ।

सारोसीले सन् १९३४ को विश्वकपमा एक खेल खेल्दै एक गोल र सन् १९३८ को विश्वकपमा चार खेल खेल्दै पाँच गोल गरेका थिए ।

विश्वकपको चौथो संस्करणमा कूल २२ खेल खेलाइएको थियो । त्यसमा विभिन्न टोलीका ४७ खेलाडीले कूल ८८ गोल गरेका थिए ।

null

चौथो विश्वकपसँग जोडिएका केही रोचक कथा :

० एउटा गोल जुन बार्बोसाका लागि जीवनभर ‘अभिशप्त’ बन्यो : ब्राजिलका लागि सन् १९५० को हार एक राष्ट्रिय दु:स्वप्न थियो । त्यसको सम्पूर्ण दोष गोलकिपर मोआसिर बार्बोसामाथि थोपरियो । 

उरुग्वेका अल्सिडेस घिगियाले गरेको निर्णायक गोलको समयमा बार्बोसाले क्रसको अपेक्षा गरेका थिए । तर बल सिधै पोस्टमा छिर्‍यो । मृत्यु नहुन्जेलसम्म (सन् २०००) उनी ब्राजिलमा ‘अभागी’को रूपमा हेरिए । उनी भन्थे, ‘ब्राजिलमा अधिकतम ३० वर्षको जेल सजाय हुन्छ तर, म ५० वर्षदेखि त्यो एउटा गोलको सजाय भोगिरहेको छु ।’

० घाँसे मैदानको चमत्कार र पत्रिकालाई गाली :आफूलाई विश्वको सर्वश्रेष्ठ फुटबल राष्ट्र मान्ने इङ्ल्यान्डका लागि अमेरिकाविरुद्धको ०–१ गोलको हार निकै अविश्वसनीय थियो । 

जब इङ्ल्यान्डको टोली अमेरिकासँग हारेको समाचार पत्रिकामा प्रकाशित भयो त्यसपछि ठूलो संख्यामा इङ्ल्यान्डका समर्थकले ‘छापाखानाको गल्ती’का कारण यस्तो समाचार छापिएको सम्झिएर पत्रिकालाई गाली गरेका थिए ।

० आयोजकको ‘स्वार्थ’ र अन्य राष्ट्रको सास्ती: ब्राजिलले कुनै पनि हालतमा उपाधि आफूसँगै राख्ने योजना बनाएको थियो । त्यसका लागि ब्राजिलले गतिलै चाल चल्यो । 

null

ब्राजिलले आफ्ना खेलहरू रियो दि जेनेरियोमा सीमित राख्यो । अन्य टोलीको खेल भने निकै टाढा राख्यो । अन्य टोलीलाई देशका सुदूर कुनामा दुई हजार माइलसम्मको थकाउने यात्रा गर्न बाध्य बनायो । यही भौगोलिक कठिनाइ र लामो यात्राका कारण फ्रान्सजस्ता टोलीले सहभागिता नजनाउने निर्णय लिएका थिए ।

० जुत्ता नलगाएर खेल्न नपाउने भएपछि भारतको नखेल्ने निर्णय : यो विश्वकपमा भारत पनि छनोट भएको थियो । तर, अन्तिम समयमा भारतले नाम फिर्ता लियो । कारण थियो, खेलाडीले खाली खुट्टा विश्वकप खेल्न नपाइने निर्णय । फिफाले ‘खाली खुट्टा’ खेल्न अनुमति नदिएपछि भारतीय खेलाडीले जुत्ता लगाएर खेल्नुभन्दा विश्वकप नै नखेल्ने निर्णय गरेका थिए ।

० ओछ्यानमुनि लुकाइएको थियो ट्रफी : दोस्रो विश्वयुद्धको समयमा लुटिएला भन्ने त्रासले फिफाका तत्कालीन उपाध्यक्ष डा. ओटोरिनो बारासीले विश्वकप ट्रफीलाई जुत्ता राख्ने बाकसमा लुकाएर आफ्नो ओछ्यानमुनि राखेका थिए ।

पढ्नुहोस् यो पनि :

विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म

दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम

salt training

कमेन्ट गर्नुहोस्