
प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने फिफा विश्वकपले यसबीचमा निकै लामो समय विश्राम लियो । कारण थियो, दूर्भाग्यपूर्ण द्वितीय विश्वयुद्ध । त्यसैले सन् १९३८ मा तेस्रो संस्करण सम्पन्न भएको १२ वर्षपछि सन् १९५० मा चौथो संस्करण आयोजना भएको थियो ।
चौथो संस्करण जुन २४ देखि जुलाई २६ तारिखसम्म ब्राजिलमा आयोजना भएको थियो । सन् १९५० को फिफा विश्वकपलाई फुटबलको इतिहासमा मात्र होइन, विश्व राजनीति र खेलकुदको पुनर्जागरणको दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ ।
द्वितीय विश्वयुद्धको विभीषिकापछि फर्किएको चौथो संस्करणले फुटबललाई पुन: विश्वव्यापी मञ्चमा उभ्याएको थियो । दक्षिण अमेरिकाले दोस्रो पटक विश्वकप आयोजनाको अवसर पाएको थियो । यो संस्करणमा १३ राष्ट्रले मात्र सहभागिता जनाएका थिए ।
चौथो संस्करणमा एसिया र अफ्रिकाबाट कुनै पनि टोली सहभागी भएनन् । एसियाबाट भारतले भाग लिने पक्का भएको थियो । तर, अन्तिम समयमा आएर भारतले पनि प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको थियो ।
उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट अमेरिका र मेक्सिकोले भाग लिएका थिए । दक्षिण अमेरिकाबाट आयोजक ब्राजिलसँगै बोलिभिया, चिली, पाराग्वे र पूर्वविजेता उरुग्वेले सहभागिता जनाएका थिए ।
यसैगरी, युरोपबाट इङ्ल्यान्ड, साविक विजेता इटाली, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड र युगोस्लाभिया सहभागी थिए । पिफा पुरुष विश्वकपमा इङ्ल्यान्डको यो पहिलो सहभागिता थियो । सहभागिता पक्का गरेका फ्रान्स, स्कटल्यान्ड र टर्कीले अन्तिम समयमा आएर नाम फिर्ता लिएका थिए ।
युद्धको छायाँ, आयोजनाको चुनौती र ट्रफीको नामाकरण
सन् १९४२ र सन् १९४६ मा आयोजना हुनुपर्ने विश्वकप दोस्रो विश्वयुद्धका कारण रद्द भएका थिए । युद्धले थिलथिलो बनेको युरोपमा त्यसबेला खेलकुदभन्दा आधारभूत आवश्यकता नै प्राथमिकतामा पर्नु स्वभाविक थियो ।

यस्तो नाजुक परिस्थितिमा फिफाले आयोजक राष्ट्र पाउनसमेत निकै संघर्ष गर्नुपरेको थियो । अन्ततः सन् १९४६ को फिफा कंग्रेसमा ब्राजिलले आयोजनाको जिम्मा लियो । विश्वकप फुटबलको इतिहासमा यो महत्त्वपूर्ण क्षण थियो । यही कारणले विश्वकपले पुनर्जीवन पाएको थियो ।
यही संस्करणबाट विश्वकप ट्रफीको नामसमेत परिवर्तन गरिएको थियो । यो संस्करणबाट उपाधि विजेता टोलीलाई दिइने ट्रफीको नाम फिफाका अध्यक्ष जुल्स रिमेटको सम्मानमा ‘जुल्स रिमेट कप’ नामकरण गरिएको थियो ।
इटालीको शोक र प्रतियोगिताको उदेकलाग्दो ढाँचा
साविक विजेता इटालीका लागि यो विश्वकप निकै त्रासदीपूर्ण रह्यो । प्रतियोगिता शुरू हुनुभन्दा एक वर्षअघि मात्र भएको सुपेर्गा विमान दुर्घटनामा इटालीका अधिकांश उत्कृष्ट खेलाडीले ज्यान गुमाएका थिए ।
त्यसैले शोकमा डुबेको इटालीलाई विश्वकप खेल्न मनाउन पनि फिफाले निकै मिहिनेत गर्नुपरेको थियो । इटालीका खेलाडी यतिसम्म त्रसित थिए कि, उनीहरू कुनै पनि हालतमा विमान चढ्न तयार थिएनन् । त्यसैले खेलाडी विमानको साटो लामो समुद्री यात्रा तय गर्दै ब्राजिल पुगेका थिए ।

यो विश्वकपको ढाँचा पनि विगतको भन्दा फरक र उदेकलाग्दो थियो । प्रतियोगिताको इतिहासमा यो नै एक मात्र संस्करण थियो, जसमा अन्तिम खेल ‘फाइनलका रूपमा नभई चार टोलीको ‘मिनी–लिग’को रूपमा खेलाइएको थियो ।
राजनीतिक जटिलता, विवाद र टोलीहरूको बहिर्गमन
यो विश्वकप फुटबल जगतको एउटा यस्तो अध्याय थियो, जसले खेलको मैदानमा उत्कृष्ट कलामात्र देखाएन, बरु इतिहासकै सबैभन्दा ठूला उलटफेरमध्ये एकलाई जन्म पनि दियो ।
अव्यवस्थित आयोजना, टोलीहरूको अनपेक्षित बहिर्गमन र अन्तिम खेलमा भएको नाटकीय नतिजाले यस संस्करणलाई सधैंका लागि अविस्मरणीय बनायो ।
सन् १९३८ को विश्वकपपछि विश्व राजनीतिमा धेरै परिवर्तन आइसकेको थियो । सन् १९५० को विश्वकपमा धेरै टोलीको सहभागिता नहुनु आयोजकका लागि टाउको दु:खाइको विषय थियो ।

खासगरी, स्कटल्यान्डले ‘समूह विजेता नभएसम्म ब्राजिल नजाने’ भन्दै लिएको अडानले धेरैलाई अचम्मित बनाएको थियो ।
अर्कोतिर, युद्धका कारण जर्मनी र जापान फिफाबाट प्रतिबन्धित थिए । यी दुवै राष्ट्रले सन् १९५० को सेप्टेम्बरमा मात्र फिफामा पुन: प्रवेश पाएका थिए ।
यसैगरी, तत्कालीन सोभियत संघको प्रभावमा रहेका देशहरूले पनि प्रतियोगिता बहिष्कार गरेका थिए । युगोस्लाभिया एक्लो पूर्वी युरोपेली राष्ट्र थियो, जसले चौथो विश्वकपमा सहभागिता जनायो ।
इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डलगायतका राष्ट्र भने १७ वर्षको स्वेच्छिक निर्वासनपछि फिफामा फर्किएका थिए ।
छनोट प्रक्रियाको विषयलाई लिएर पनि ठूलै विवाद भएको थियो । त्यसैले अर्जेन्टिना, अस्ट्रिया, बेल्जियमलगायत थुप्रै राष्ट्रले विभिन्न कारण देखाउँदै विश्वकपबाट नाम फिर्ता लिएका थिए ।
अस्तव्यस्त संरचना
चौथो विश्वकपको ढाँचा पनि निकै विचित्रको थियो । केवल १३ टोली सहभागी रहेको यो विश्वकपमा समूह विभाजन पनि सामान्य थिएन । कुनै समूहमा चार, कुनैमा तीन त कुनैमा दुई टोलीलाई राखिएको थियो ।

अझ रोचक त के भने, यो विश्वकपमा औपचारिक रूपमा कुनै ‘फाइनल’ नै खेलाइएन । विजेता तय गर्न अन्तिममा चार टोलीको ‘मिनी–लिग’ खेलाइएको थियो । यद्यपि, संयोगवश अन्तिम खेलले नै फाइनलको स्वरूप लिन पुगेको थियो ।
ब्राजिलको आत्मविश्वास र मारकानाको भव्यता
आफ्नै भूमिमा विश्वकप जित्ने धुनमा रहेको ब्राजिल निकै आत्मविश्वासी थियो । ‘ब्राजिल मस्ट विन’ (ब्राजिलले जित्नैपर्छ) भन्ने गीत सर्वत्र गुञ्जाइएको थियो ।
ब्राजिलले विश्वकप जित्ने विश्वाससहित रियो दि जेनेरियोमा निर्माण गरिएको विशाल ‘मारकाना’ स्टेडियमलाई विजय उत्सवका लागि तयार पारिएको थियो ।
तर, समूहगत चरणमा मेक्सिकोलाई ४–० गोलले हराएर शानदार शुरूआत गरेको ब्राजिलको टोली स्विट्जरल्यान्डसँग २–२ को बराबरीमा रोकिएपछि दबाबमा पर्यो । त्यसपछि, युगोस्लाभियालाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको थियो ।
इङ्ल्यान्डको लज्जास्पद बहिर्गमन
यो विश्वकपमा इङ्ल्यान्डको खराब प्रदर्शन पनि गतिलै चर्चाको विषय बन्यो । पूर्व तयारीबिना ब्राजिल पुगेको इङ्ल्यान्डले पहिलो खेलमा चिलीलाई हराएको थियो ।
तर, इङ्ल्यान्डको टोली आफ्नो दोस्रो खेलमा अमेरिकाजस्तो कमजोर मानिएको टोलीसँग ०–१ गोलले पराजित हुन पुग्यो । फुटबलप्रेमीका लागि त्यो निकै अप्रत्यासित नतिजा थियो ।

अमेरिकाका लागि हाइटीमा जन्मिएका जोसेफ एडुअर्ड गेटजेन्सले गरेको एकमात्र गोलले फुटबल इतिहासमै निकै ठूलो उलटफेर गरेको थियो ।
आफ्नो तेस्रो खेलमा पनि इङ्ल्यान्डको टोली स्पेनसँग ०–१ गोलले पराजित हुन पुग्यो । यसरी इङ्ल्यान्ड समूहगत चरणबाटै घर फर्कन बाध्य भएको थियो ।
मारकानाको त्यो सन्नाटा
अन्तिम चार टोलीबीचको भिडन्तमा ब्राजिल र उरुग्वे आमने–सामने थिए । उपाधिका लागि ब्राजिलको टोलीलाई बराबरीको नतिजामात्र पर्याप्त थियो ।
१६ जुलाईको दिन एक लाख ९९ हजार आठ सय ५४ दर्शकले खचाखच भरिएको मारकाना रंगशालामा ब्राजिलले खेल नियन्त्रणमा राखेको थियो ।
दोस्रो हाफको शुरूमै अल्बिनो फ्रियाका कार्डोसोले गोल गरेपछि ब्राजिल समर्थकहरू निकै उत्साही बनेका थिए । तर, त्यसपछि परिस्थितिले अर्कै मोड लियो ।
खेलको ६६ औं मिनेटमा उरुग्वेका हुवाँ अल्बर्टो सियाफिनोले बराबरी गोल गरेपछि रंगशालामा एकाएक प्रकारको सन्नाटा छायो ।
यसैगरी, निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा एलसिडेस घिगियाले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि, उरुग्वेको टोली पूर्णरूपमा रक्षात्मक बनिदियो । कप्तान ओब्दुलियो भरेलाको नेतृत्वमा रहेको उरुग्वे अन्तिमसम्म रक्षात्मक बनिदिँदा ब्राजिलको उपाधि जित्ने सपना चकनाचुर भयो ।
अन्तत: सोही गोलअन्तरले ब्राजिललाई हराउँदै उरुग्वेले दोस्रो पटक फिफा विश्वकपको उपाधि उचाल्यो । उपाधि त दक्षिण अमेरिकी भूमिमै रह्यो तर, ब्राजिलका समर्थक नराम्ररी जिल्लिए ।
फुटबल इतिहासको त्यो दिन ब्राजिलका लागि दुस्वप्न बन्यो । तर, उरुग्वेले भने खेलकुद जगतलाई एउटा गतिलो पाठ सिकायो । ‘खेलमा अन्तिम सिट्ठी नबज्दासम्म केही पनि निश्चित हुँदैन,’ वास्तवमै विश्व खेलकुदका लागि यो गतिलो पाठ थियो ।
यसका अतिरिक्त, सन् १९५० को विश्वकपले खेलप्रेमीलाई अर्को एउटा महत्त्वपूर्ण आभास पनि दिलायो कि, ‘युद्धको घाउ जतिसुकै गहिरो भए पनि, खेलकुदले विश्वलाई जोड्न र नयाँ इतिहास कोर्न सक्छ ।’
ब्राजिल उपाधिबाट चुक्यो तर, एडेमिरले इतिहास रचे
आयोजक ब्राजिल अन्तिम क्षणमा आएर उपाधिबाट चुक्यो । तर, ब्राजिलका प्रभावशाली खेलाडी एडेमिर मार्कस डी मेनेजेस चौथो विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने ।
उनी एक्लैले चौथो विश्वकपमा कूल नौ गोल गरेका थिए । उपाधि विजेता उरुग्वेका खेलाडी ओस्कर मिग्वेजले पनि पाँच गोल गरेका थिए ।
यसैगरी, उरुग्वेका एलसिडेस घिगिया विश्वकपको इतिहासमै आफूले खेलेको सबै खेलमा गोल गर्ने दोस्रो खेलाडी बन्न पुगे । यसअघि, हंगेरीका ग्योर्गी सारोसीले यस्तो उपलब्धि हासिल गरेका थिए ।
सारोसीले सन् १९३४ को विश्वकपमा एक खेल खेल्दै एक गोल र सन् १९३८ को विश्वकपमा चार खेल खेल्दै पाँच गोल गरेका थिए ।
विश्वकपको चौथो संस्करणमा कूल २२ खेल खेलाइएको थियो । त्यसमा विभिन्न टोलीका ४७ खेलाडीले कूल ८८ गोल गरेका थिए ।

चौथो विश्वकपसँग जोडिएका केही रोचक कथा :
० एउटा गोल जुन बार्बोसाका लागि जीवनभर ‘अभिशप्त’ बन्यो : ब्राजिलका लागि सन् १९५० को हार एक राष्ट्रिय दु:स्वप्न थियो । त्यसको सम्पूर्ण दोष गोलकिपर मोआसिर बार्बोसामाथि थोपरियो ।
उरुग्वेका अल्सिडेस घिगियाले गरेको निर्णायक गोलको समयमा बार्बोसाले क्रसको अपेक्षा गरेका थिए । तर बल सिधै पोस्टमा छिर्यो । मृत्यु नहुन्जेलसम्म (सन् २०००) उनी ब्राजिलमा ‘अभागी’को रूपमा हेरिए । उनी भन्थे, ‘ब्राजिलमा अधिकतम ३० वर्षको जेल सजाय हुन्छ तर, म ५० वर्षदेखि त्यो एउटा गोलको सजाय भोगिरहेको छु ।’
० घाँसे मैदानको चमत्कार र पत्रिकालाई गाली :आफूलाई विश्वको सर्वश्रेष्ठ फुटबल राष्ट्र मान्ने इङ्ल्यान्डका लागि अमेरिकाविरुद्धको ०–१ गोलको हार निकै अविश्वसनीय थियो ।
जब इङ्ल्यान्डको टोली अमेरिकासँग हारेको समाचार पत्रिकामा प्रकाशित भयो त्यसपछि ठूलो संख्यामा इङ्ल्यान्डका समर्थकले ‘छापाखानाको गल्ती’का कारण यस्तो समाचार छापिएको सम्झिएर पत्रिकालाई गाली गरेका थिए ।
० आयोजकको ‘स्वार्थ’ र अन्य राष्ट्रको सास्ती: ब्राजिलले कुनै पनि हालतमा उपाधि आफूसँगै राख्ने योजना बनाएको थियो । त्यसका लागि ब्राजिलले गतिलै चाल चल्यो ।

ब्राजिलले आफ्ना खेलहरू रियो दि जेनेरियोमा सीमित राख्यो । अन्य टोलीको खेल भने निकै टाढा राख्यो । अन्य टोलीलाई देशका सुदूर कुनामा दुई हजार माइलसम्मको थकाउने यात्रा गर्न बाध्य बनायो । यही भौगोलिक कठिनाइ र लामो यात्राका कारण फ्रान्सजस्ता टोलीले सहभागिता नजनाउने निर्णय लिएका थिए ।
० जुत्ता नलगाएर खेल्न नपाउने भएपछि भारतको नखेल्ने निर्णय : यो विश्वकपमा भारत पनि छनोट भएको थियो । तर, अन्तिम समयमा भारतले नाम फिर्ता लियो । कारण थियो, खेलाडीले खाली खुट्टा विश्वकप खेल्न नपाइने निर्णय । फिफाले ‘खाली खुट्टा’ खेल्न अनुमति नदिएपछि भारतीय खेलाडीले जुत्ता लगाएर खेल्नुभन्दा विश्वकप नै नखेल्ने निर्णय गरेका थिए ।
० ओछ्यानमुनि लुकाइएको थियो ट्रफी : दोस्रो विश्वयुद्धको समयमा लुटिएला भन्ने त्रासले फिफाका तत्कालीन उपाध्यक्ष डा. ओटोरिनो बारासीले विश्वकप ट्रफीलाई जुत्ता राख्ने बाकसमा लुकाएर आफ्नो ओछ्यानमुनि राखेका थिए ।
पढ्नुहोस् यो पनि :
विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म
दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम