
दक्षिण अमेरिकामा पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको चार वर्षपछि सन् १९३४ मा फिफा विश्वकपको दोस्रो संस्करण युरोपमा आयोजना भयो । दोस्रो संस्करण मे २७ देखि जुन १० सम्म इटालीमा आयोजना भएको थियो ।
खासमा, दोस्रो फिफा विश्वकप आयोजनाका लागि स्विडेनले पनि दाबी प्रस्तुत गरेको थियो । फिफामा इटालीको बलियो प्रभावका कारण अन्तिम समयमा आएर स्विडेनले आफ्नो दाबी फिर्ता लिएको थियो । यसरी इटाली विश्वकै सर्वाधिक लोकप्रिय खेल आयोजना गर्ने पहिलो युरोपेली राष्ट्र बन्न पुग्यो ।
दोस्रो संस्करणमा सहभागी टोलीको संख्या बढाएर १३ बाट १६ पुर्याइएको थियो । दोस्रो संस्करणमा पनि एसियाबाट कुनै राष्ट्र सहभागी थिएनन् ।
दोस्रो विश्वकपमा आफ्नो टोलीको हौसला बढाउन ठूलो संख्यामा समर्थकहरू इटाली पुगेका थिए । नेदरल्यान्ड्सबाट सात हजार तथा अस्ट्रिया र स्विट्जरल्यान्डबाट १०–१० हजार समर्थकले इटालीको भ्रमण गरेका थिए ।

००
सिंगो अफ्रिकाको प्रतिनिधि इजिप्ट, युरोपेली राष्ट्रको ओइरो
पहिलो विश्वकपमा अनुपस्थित रहेको अफ्रिकाबाट भने दोस्रो संस्करणमा इजिप्टले सहभागिता जनाएको थियो । यसरी इजिप्ट विश्वकप खेल्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो । दक्षिण अमेरिकाबाट अर्जेन्टिना र ब्राजिलले भाग लिए । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट अमेरिका सहभागी थियो ।
फिफाले आग्रह गर्दा पनि पहिलो संस्करणमा सहभागी हुन अस्वीकार गरेका अधिकांश युरोपेली राष्ट्र दोस्रो विश्वकपमा भने उपस्थित थिए । युरोपबाट सबैभन्दा बढी १२ राष्ट्रले भाग लिए । युरोपबाट बेल्जियमम, फ्रान्स र रोमानियाले लगातार दोस्रोपटक विश्वकपमा सहभागिता जनाए ।

अस्ट्रिया, चेकोस्लोभाकिया, जर्मनी, हंगेरी, आयोजक इटाली, नेदरल्यान्ड्स, स्विडेन, स्विट्जरल्यान्ड र स्पेनले युरोपबाट पहिलो पटक विश्वकप खेले । १६ मध्ये १० टोलीको फिफा विश्वकपमा पहिलो सहभागिता थियो ।
००

रिसाएको साविक विजेता र बिहस्कारको राजनीति
पहिलो विश्वकपको उपाधि उरुग्वेले जितेको थियो । तर, साविक विजेता उरुग्वेले दोस्रो विश्वकपमा भाग लिएन । खासमा, उरुग्वेले दोस्रो विश्वकप बहिष्कार गरेको थियो ।
त्यसको कारण थियो, पहिलो विश्वकपमा युरोपेली राष्ट्रहरूले देखाएको व्यवहार । पहिलो विश्वकप उरुग्वेमै आयोजना भएको थियो ।
त्यतिबेला फिफा र उरुग्वेले युरोपेली राष्ट्रहरूलाई विश्वकप खेल्न निकै आग्रह गरेका थिए । तर, अधिकांश युरोपेली राष्ट्र विश्वकपमा सहभागी हुन मानेनन् । त्यसैले युरोपमा आयोजना भएको दोस्रो विश्वकप बहिष्कार गर्ने निर्णय लिएको थियो ।
००

आठ रंगशालामा १७ खेल
दोस्रो संस्करणमा कुल १७ खेल खेलाइएको थियो ।
ती खेलहरू इटालीको विभिन्न शहरको आठवटा रंगशालामा खेलाइएको थियो । त्यसमध्ये मिलानस्थित स्टाडियो सान सिरो सबैभन्दा बढी ५५ हजार दर्शक क्षमताको थियो ।
यसैगरी, बोलोग्नास्थित स्टाडियो लिटोरियल दोस्रो बढी दर्शक क्षमताको रंगशाला थियो । इटालियन क्लब बोलोग्नाको घरेलु मैदानसमेत रहेको यो स्टेडियम त्यतिबेला ५० हजार एक सय दर्शक क्षमताको थियो । अहिले भने यो स्टेडियमको क्षमता घटाइएको छ ।
००
पहिलो चरण नै नकआउट ! अर्जेन्टिना र ब्राजिलको निरीहता
पहिलो विश्वकपमा समूहगत चरणको अवधारण राखिएको थियो भने दोस्रो संस्करणको प्रारम्भिक चरण नै नकआउट थियो । अर्थात, एक खेल हार्यो कि उपाधि होडबाट ‘आउट’ ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिए ३० मिनेट अतिरिक्त समय थप्ने प्रावधान थियो । अतिरिक्त समयबाट पनि स्पष्ट नतिजा नआए अर्को दिन फेरि खेलाइने नियम थियो ।
प्रारम्भिक चरणमा इटालीले अमेरिकालाई ७–१, स्पेनले ब्राजिललाई ३–१ र अस्ट्रियाले फ्रान्सलाई अतिरिक्त समयमा ३–२ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेका थिए ।

हंगेरीले इजिप्टलाई ४–२, चेकोस्लोभाकियाले रोमानियालाई २–१, स्विट्जरल्यान्डले नेदरल्यान्ड्सलाई ३–२, जर्मनीले बेल्जियमलाई ५–२ र स्विडेनले अर्जेन्टिनालाई ३–२ गोलले हराउँदै अगाडि बढेका थिए ।
साविक उप–विजेतासमेत रहेको अर्जेन्टिना प्रतियोगिताको दोस्रो चरणमा पनि पुग्न सकेन । दक्षिण अमेरिकी हस्ती ब्राजिलले पनि उस्तै दूर्भाग्पूर्ण क्षणको सामना गर्नुपर्यो ।
००
विश्वकपको इतिहासमा एउटै खेल दुई दिनसम्म
दोस्रो विश्वकपको क्वार्टरफाइनलमा एउटा रमाइलो घटना भएको थियो ।
इटाली र स्पेनबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । त्यसैले पहिलो दिन स्पष्ट नतिजा नआएपछि यो खेल अर्को दिन पनि खेलाउनु परेको थियो ।
यसरी विश्वकपमा एतिहासमा पहिलोपटक एउटै खेल दुई दिन खेलाइएको थियो । यो विश्वकपमा कुनै खेल बराबरीमा सकिए ३० मिनेट समय थप्ने प्रावधान थियो । अतिरिक्त समयमा पनि निर्णय नआए पेनाल्टी सुटआउटमा जानुको सट्टा अर्को दिन फेरि खेलाउने नियम राखिएको थियो ।
स्पेन र इटालीबीचको पहिलो दिनको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको ३०औँ मिनेटमा लुइस रेगुएरो पागोलले स्पेनलाई अग्रता दिलाएका थिए । ४४औँ मिनेटमा इटालीका लागि जियोभानी फेरारीले जवाफी गोल फर्काए ।
निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरियो । तर, उक्त समयमा पनि थप गोल हुन सकेन । त्यसछि मे ३१ तारिखमा खेलाइएको उक्त खेल स्थगित गरिएको थियो । सोही खेल जुन १ तारिखमा फेरि खेलाइयो ।
००
स्पेनसँग परिवर्तन गर्ने खेलाडीसम्म बाँकी रहेनन्
दोस्रो दिन खेलाइएको खेलमा भने इटालीले स्पेनलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । इटालीका लागि ११औँ मिनेटमा गिउसेप मेजाले निर्णायक गोल गरे ।
दुबै टोलीका खेलाडीबीच चर्को घम्साघम्सी र रेफ्रीको थुप्रै विवादास्पद निर्णयका कारण पनि यो खेल निकै चर्चित बन्न पुगेको थियो ।
लगातार दुई दिन खेल्नु पर्दा अधिकांश खेलाडी थकान र चोटबाट लखतरान परेका थिए । सोही कारणले दोस्रो दिन इटालीले चार र स्पेनले सात खेलाडी परिवर्तन गर्नु पर्यो ।
स्पेनले त कप्तानसमेत रहेका अनुभवी गोलरक्षक रिकार्डो जामोराको सट्टा नितान्त नयाँ गोलरक्षकलाई मैदानमा ओराल्नु परेको थियो । खेलाडीबीच प्राविधिक खेलभन्दा पनि शारीरिक भिडन्त बढी थियो ।
यो खेलमा रेफ्रीले पनि थुप्रै गलत निर्णय लिएका थिए । खेलका क्रममा परिवर्तन गर्ने खेलाडीसमेत नपाएपछि स्पेनले केही समय १० खेलाडीमै सिमित भएर संघर्ष गर्नुपरेको थियो ।
००
फेरि पनि आयोजकले नै राख्यो उपाधि
प्रतियोगिताको सेमिफाइनलमा आयोजक इटालीले अस्ट्रियालाई १–० गोलले हराउँदै फाइनलमा स्थान बनायो । अर्को सेमिफाइनलमा चेकोस्लोभाकियाले जर्मनीलाई ३–१ गोलले पराजित गर्यो ।
तेस्रो स्थानका लागि खेलिएको खेलमा जर्मनीले अस्ट्रियालाई ३–२ गोलले हरायो । चेकोस्लोभाकिया र इटालीबीचको उपाधि भिडन्त पनि निकै प्रतिस्पर्धात्मक थियो ।

खेलमा शुरूआती अग्रता लिएर पनि चेकोस्लोभाकियाले उपाधि गुमाउनु पर्यो । खेलको ७१औँ मिनेटमा चेकोस्लोभाकियाका लागि एन्टोनिन पुचले पहिलो गोल गरेका थिए ।
त्यसपछि खेलमा फर्किएको इटालीका लागि ८१औँ मिनेटमा राइमुन्डो ओर्सीले जवाफी गोल गरे । निर्धारित समय १–१ गोलमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
त्यसपछि ९५औँ मिनेटमा एन्जेलो शियाभियोले निर्णायक गोल गर्दै इटालीलाई पहिलो विश्वकप उपाधि चुमाए । यसरी, पहिलो संस्करणजस्तै दोस्रो संस्करणको उपाधि पनि आयोजक राष्ट्रले नै जितेको थियो ।
दोस्रो विश्वकपको फाइनल खेल्ने कुनै पनि खेलाडी हाल जीवित छैनन् । चेकोस्लोभाकियाका गोलरक्षक फ्रान्टिसेक प्लानिस्काको सन् १९९६ को जुलाई २० तारिखमा ९२ वर्षको उमेरमा निधन भएको थियो ।

उनी दोस्रो विश्वकपको फाइनल खेल्ने अन्तिम जीवित खेलाडी थिए ।

००
४५ खेलाडीको ७० गोल
दोस्रो विश्वकपको १७ खेलमा विभिन्न टोलीका ४५ जना खेलाडीले गोल गरेका थिए । खेल अवधिभर कुल ७० गोल भएको थियो ।
आफ्नो टोली फाइनलमा पराजित भए पनि चेकोस्लोभाकियाका ओल्ड्रिच नेजेड्ली प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनी एक्लैले पाँच गोल गरे ।
यसैगरी, जर्मनीका एडमन्ड कोनेन र इटालीका एन्जेलो शियाभियोले पनि चार–चार गोल गरे । प्रतियोगितामा कुनै पनि खेलाडीबाट आत्मघाती गोल भने भएन ।

००
दोस्रो विश्वकपसँग जोडिएका केही रोचक कथा
सन् १९३४ को विश्वकप फूटबल केवल खेल मात्र थिएन । त्यो विश्वकपका केही क्षणहरू कुनै हलिउड चलचित्रको पटकथाजस्तै थिए । आयोजक इटालीले जितेको त्यो विश्वकपमा यस्ता धेरै घटना भए जसले आज पनि फूटबल प्रेमीलाई चकित पार्छ ।
० रक्सीको नशामा लठ्ठ खेलाडी : विश्वकप शुरू हुनुअघि इटालीका प्रशिक्षक भिटोरियो पोजोले रक्सीको लतबाट ग्रसित एक खेलाडी एटिलियो फेरारिसलाई रेष्टुरेन्टबाट तानेर ल्याएका थिए । त्यतिबेला पनि फेरारिस मदिराको नशामै लठ्ठ थिए । प्रशिक्षक पोजोले उनलाई कडा शब्दमा भनेका थिए, ‘रक्सी र चुरोट छोड, मेरो साथ लाग । विश्वकप खेल्ने मौका छ ।’ अचम्मको कुरा, प्रशिक्षणमा ती खेलाडी सबैभन्दा फिट देखिएका थिए र उनले विश्वकप पनि खेले ।
० कट्टर दुस्मन एउटै कोठामा : इटालीका प्रशिक्षक पोजोले एक–अर्काका कट्टर दुस्मन खेलाडी (लुइस मोन्टी र एन्जेलो शियाभियो)लाई रुम मेट बनाएर होटलको एउटै कोठामा राखिदिएका थिए । शायद प्रशिक्षकको त्यही ‘कडा अनुशासन’ले टोलीमा एकता ल्याएको थियो ।
० खेलाडीहरूको अचम्मको उपनाम : सन् १९३४ को विश्वकपमा सहभागी खेलाडीहरूको उपनाम पनि गज्जबका थिए । कसैलाई ‘फूटबलका मोजार्ट’ भनिन्थ्यो भने कसैलाई ‘रबर म्यान’ त कसैलाई ‘सानो पुतली’ ।
० चश्मा लगाएरै मैदानमा : अचम्म लाग्न सक्छ, नेदरल्यान्ड्सका जान भान र स्विट्जरल्यान्डका लियोपोल्डले चश्मा लगाएरै विश्वकप खेलेका थिए । त्यतिबेला हेडिङ गर्दा समस्या हुने भन्दै टाउकोमा ‘हेडब्यान्ड’ लगाउने खेलाडीको पनि खुबै चर्चा हुन्थ्यो ।
० २४ घण्टामा २१० मिनेटको खेल : इटाली र स्पेनका खेलाडीहरूले २१ घण्टाको अन्तरमा दुईवटा खेल खेलेका थिए । त्यो पनि १२०–१२० मिनेटका । त्यतिबेलाका खेलाडीहरूको स्टामिना देख्दा लाग्छ, उनीहरू मान्छे होइन, मशिन थिए ।
० दुबै टोलीका गोलरक्षक नै कप्तान : विश्वकपको फाइनलमा दुवै टोलीका गोलरक्षक नै कप्तान थिए । फाइनलमा इटालीका कप्तान गियाम्पिएरो कोम्बी र चेकोस्लोभाकियाका कप्तान फ्रान्तिसेक प्लानिका दुबै गोलरक्षक थिए । फूटबल इतिहासमा यस्तो दृश्य निकै दुर्लभ मानिन्छ ।
० फरक देश, फरक फाइनल : इटालीको टोलीमा विदेशमा जन्मेका सातजना खेलाडी थिए । लुइस मोन्टी त यस्ता खेलाडी बने, जसले दुई फरक देशका लागि विश्वकपको फाइनल खेले ।
० सबैभन्दा कान्छा रेफ्री : उक्त विश्वकपको फाइनलमा २८ वर्षका इभान इक्लिन्डले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । उनी विश्वकपको फाइनल खेलाउने हालसम्मकै कान्छा रेफ्री हुन् ।

पढ्नुहोस्, पहिलो भाग :
पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म