०६ साउन २०८३, बुधबार

विपद्को समयमा कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र

साउन ५, २०८३
काठमाडौं
विपद्को समयमा कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र
फाइल तस्वीर

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थिति भई सेवा प्रवाह गर्न जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरेको छ । 

मन्त्रालयले विपद्को संवेदनशील समयावधिभर आफ्नो कार्यालय नछाड्न तथा कार्यालयमा नियमति रूपमा उपस्थित भई आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन निर्देशन दिएको छ । 

देशका विभिन्न स्थानमा अविरल वर्षा, बाढी पहिरोलगायत विपद्जन्य घटनाको जोखिम तथा प्रभावलाई दृष्टिगत गरी विपद व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ । 

कुनै प्रकारको बिदामा रहेको भए उक्त बिदा छोट्याइ यथाशीघ्र सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्न भनिएको छ ।

विपद्सँग सम्बन्धित सूचना, उद्धार तथा राहत कार्य, क्षतिको विवरण तथा अन्य आवश्यक समन्वय कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा सङ्घीय निकायसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्न मन्त्रालयले आग्रह गरेको छ । 

कुनै विशेष कारणबस कार्यालय छाड्नुपर्ने अवस्था सिर्जना भएका सम्बन्धित निकायको पूर्वस्वीकृति लिइ जिम्मेवारीको उचित व्यवस्थापन गरेर मात्र कार्यालय छाड्न मन्त्रालयले पत्राचार गरेको छ ।
 

कमेन्ट गर्नुहोस्