०८ साउन २०८३, शुक्रबार
चोरीको अन्तर्राष्ट्रिय सञ्जाल

पोखरामा चोरीको डरलाग्दो गिरोह: विदेशी चोरलाई सघाउने नेपाली सञ्जालको पर्दाफास

साउन ३, २०८३
काठमाडौं

पोखरामा योजनाबद्ध रूपमा घर छानेर सुन र नगद चोरी गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पाँचवटा शृंखलाबद्ध चोरीमा संलग्न भएको आरोपमा प्रहरीले दुई चिनियाँ, दुई भारतीय र पाँच नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक नबिन कार्कीका अनुसार यो घटनामा चोरी भएका सुन बिक्रीदेखि गलाउनेसम्मको सञ्जालसमेत फेला परेको छ ।

प्रहरीका अनुसार चीनको ग्वान्झाओका ३० वर्षीय वेन जी र वाङ लियाङयिन भारतबाट हवाईमार्ग हुँदै काठमाडौं आएपछि पोखरा पुगेका थिए। भारतीय नागरिक राहुल निषाद र सोमनाथ हनुमत जाधव भने भैरहवाको सुनौली नाका हुँदै नेपाल प्रवेश गरेर पोखरा पुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा भारतीय नागरिकहरू नेपाल प्रवेश गरेपछि भैरहवामा समेत चारवटा घरमा चोरी गरेको तथ्य खुलेको प्रहरीको दाबी छ। भारतमा पनि उनीहरू चोरीका घटनामा जोडिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पोखरामा भने यो गिरोहले योजनाबद्ध रूपमा घर छनोट गरी चोरीको शृंखला सञ्चालन गरेको प्रहरीको निष्कर्ष छ।

प्रहरीका अनुसार पहिलो घटना असार ४ गते कास्कीको छोरेपाटनमा भएको थियो। शिवप्रसाद बरालको घरबाट एक लाख ५० हजार रुपैयाँ नगद, आधा तोला सुन, मोबाइल फोन र ल्यापटप चोरी भएको थियो।

त्यसपछि असार १४ गते हेमराज गिरीको घरबाट करिब २५ तोला बराबरका सुनका गरगहना र ७० हजार रुपैयाँ नगद चोरी गरिएको अनुसन्धानबाट खुलेको छ।

असार १५ गते भकुण्डेका गिरीधारी श्रेष्ठको घरबाट दुईवटा मोबाइल फोन र एक तोला ५४ लाल बराबरका सुनका गहना चोरी भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, असार २३ गते ज्ञानकुञ्ज मार्गस्थित मोहसीन खतामीको कोठाबाट मोबाइल फोन र २५ हजार रुपैयाँ नगद चोरी भएको थियो। सोही दिन लेकसाइडस्थित हिरामणि लामिछानेको घरबाट पनि मोबाइलसहित अन्य सामग्री चोरी भएको प्रहरीको भनाइ छ।

छोटो अवधिमा एउटै शैलीका लगातार पाँचवटा चोरी भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले घटनालाई छुट्टा–छुट्टै अपराधका रूपमा नभई एउटै सञ्जालको गतिविधिका रूपमा अनुसन्धान अघि बढाएको थियो।

‘प्रहरीले सीसीटीभी फुटेज, प्राविधिक विश्लेषण, स्थानीय सूचना तथा पक्राउ परेका व्यक्तिहरूबीचको सम्बन्धलाई आधार बनाएर अनुसन्धान विस्तार गर्दा सञ्जालमा स्थानीय व्यक्तिहरूको भूमिका पनि देखियो,’ एसपी कार्कीले भने, ‘राजु केसी भन्ने खिमबहादुर खत्री यस सञ्जालका महत्त्वपूर्ण सदस्य हुन्। उनी स्पा सञ्चालक हुन्।’

प्रहरी अनुसन्धानबाट खत्रीले चोरी गर्न उपयुक्त घर देखाइदिने, विदेशी नागरिकलाई स्थानीय अवस्थाबारे जानकारी गराउने तथा चोरीपछि सुन बिक्री गर्न सहजीकरण गर्ने भूमिका खेलेको तथ्य खुलेको छ ।

चोरी भएका सुन किन्ने व्यक्ति केशव पाइजा मगर रहेको प्रहरीले जनाएको छ । अनिल विक, अशोक पोखरेल र राजकुमार विकले चोरी भएका सुन गलाउने तथा नयाँ स्वरूप दिने काम गरेको आरोपमा उनीहरूलाई पनि पक्राउ गरिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो घटना केवल घर फोड्नेमा सीमित नभई चोरी, चोरीको सामानको अवैध कारोबार तथा प्रमाण मेटाउने प्रयाससम्म फैलिएको संगठित आपराधिक गतिविधि हुन सक्ने देखिएको छ ।

चोरीबाट प्राप्त रकम क्यासिनो तथा स्पामा खर्च गरिएको दाबी पनि प्रहरीले गरेको छ ।

पोखरा प्रमुख पर्यटकीय सहर भएकाले पर्यटकको आवरणमा आपराधिक समूह प्रवेश गर्ने जोखिमलाई पनि यस घटनाले पुन: उजागर गरेको छ ।

प्रहरीले नागरिकलाई पनि घर लामो समय खाली छोड्दा छिमेकीलाई जानकारी गराउने, सीसीटीभी जडान गर्न, बहुमूल्य गहना सुरक्षित स्थानमा राख्ने तथा शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ ।

एसपी कार्कीले भने, ‘थप अनुसन्धान भइरहेको छ, यो गिरोहले अन्य ठाउँमा पनि चोरी गरेको आशंका छ ।’

उनका अनुसार पोखराको घटना आकस्मिक नभई योजनाबद्ध हो ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्