११ साउन २०८३, सोमबार
उत्कर्षमा कांग्रेस विवाद

मेलमिलापको ब्यानरमा गगनलाई गाली गर्ने प्रतियोगिता बनेको कांग्रेस इतरको भेला, कसले के भने ?

राष्ट्रपतिदेखि सेनालाई विवादमा तान्ने प्रयास
साउन ६, २०८३
काठमाडौं
मेलमिलापको ब्यानरमा गगनलाई गाली गर्ने प्रतियोगिता बनेको कांग्रेस इतरको भेला, कसले के भने ?

नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसर पारेर कांग्रेसको इतर समूह (शेरबहादुर–पूर्णबहादुर–शेखर लगायत)ले आयोजना गरेको कार्यक्रममा पार्टी सभापति गगन थापाको बद्‍ख्वाइँ गरिएको छ । अधिकांश वक्ताले गगनप्रति आक्रोश व्यक्त गरे । 

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजना गरिएको कार्यक्रममा अपवाद बाहेक सबै वक्ताले गगन थापालाई गाली गरेरै आफ्नो मन्तव्य टुंग्याएका थिए ।

पहिलो वक्ताको रूपमा रहेका भक्तपुरका जिल्ला सभापति एवं पूर्वसांसद दुर्लभ थापाले विशेष महाधिवेशनबाट आएको नेतृत्वले कांग्रेसलाई धुलो चटाएको आरोप लगाए । उनले सानेपा कब्जा गर्नका लागि उपस्थितलाई आग्रह गर्दा हलमा हुटिङ भएको थियो ।

विद्यार्थीको तर्फबाट बोल्न दिइएका शंकरदेव क्याम्पसका स्ववियु सभापति समेत रहेका सुशान्त बस्नेतले गत वर्ष भदौ २४ गते शेरबहादुर देउवाको निवासमा तोडफोड र लुटपाटका लागि गगन थापाका कार्यकर्ता गएको गम्भीर आरोप लगाए ।

विद्यार्थी नेतृ सृजना मल्लले चुनाव जितेर प्रधानमन्त्री बन्न नसकेका थापालाई लिगलिगकोट दरबारमा दौडेर प्रधानमन्त्री बन्न सुझाव दिइन् ।

पूर्वविद्यार्थी नेता एवं बागमती प्रदेशका पूर्वसांसद कुन्दनराज काफ्लेले बीपीको जुत्ता लगाएको भन्ने गगन थापाको कटाक्ष गर्दै त्यो हैसियत नभएको टिप्पणी गरे । उनले कांग्रेस विभाजन अपरिहार्य रहेको बताए ।

काफ्लेले देश बर्बाद बनाउनमा राष्ट्रपति रामचन्द्र पौडेलको समेत भूमिका रहेको आरोप लगाए । ‘संविधानको मर्म विपरीत सरकार गठन गर्नुभो, संविधानले नचिनेको प्रतिनिधिसभा विघटन गर्नुभयो । त्यो सरकारले निर्वाचन गराएर कांग्रेसभित्र तहसनहस भयो’, उनले भने ।

राष्ट्रियसभाका सदस्य समेत रहेका तरूण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेतले गगन थापाको खुट्टामा वीपीको नभइ भद्रकालीको जुत्ता रहेको भन्दै सेनाप्रति आक्षेप लगाउने काम गरे ।

‘भोलिका दिनमा इतिहासले प्रश्न उठाउने छ– कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता लिदाउन न्यायालय र निर्वाचन आयोगलाई जे जे गर्नुभयो’, बस्नेतले भने, ‘सर्वोच्चकी न्यायाधीश सपना मल्ललाई नि भन्न चाहन्छु– उहाँले भन्नु भएछ– बाघले अरूलाई पनि खान्छ । पहिला हामीलाई खाइसकेको थियो, आज बाघले न्यायालय खाइसकेको छ ।’

कांग्रेसको आधिकारिकता विवादमा गगन पक्षलाई मान्यता दिइएकोमा बस्नेतको आक्रोश थियो । यसअघि कांग्रेसका कुनै नेताले गगनलाई सेनासँग जोडेका थिएनन्, बस्नेतले भने गगनले भद्रकालीको जुत्ता लगाएको आरोप लगाए ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका केदार कार्कीले गगनप्रति संगीन आरोप लगाउँदै विगतमा गिरिजाप्रसाद कोइरालाले कतैबाट परिचालित पात्र भनेको पुष्टि हुँदै गएको आरोप लगाए । 

‘मन्त्री भएको बेलामा नियुक्त गरिएका भीसीको मृत्यु कसरी भयो हामीलाई थाहा छ, कसलाई लगाएर एनजीओबाट पैसा लिनुहुन्छ हामीलाई थाहा छ’, कार्कीले भने ।

पूर्वमन्त्री मोहन बस्नेतले गगनसँग सति जान नसकिने भन्दै नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने बताए । ‘गगन थापाजी इतिहासको कुन ठाउँमा पुग्ने हो हामीलाई थाहा छैन, पार्टी बनाउन अगाडि बढ्नुपर्छ । गगनको सति जान स्वीकार्य छैन’, बस्नेतले भने ।

कान्छाराम तामाङले गगनले सोझा नेताबाट कांग्रेस लुटेर लगेको आरोप लगाए ।  

सुदूरपश्चिम प्रदेश समितिका सभापति वीरबहादुर बलायरले घरबाट खुट्टा बाहिर निकालिसकेको भन्दै अब नयाँ पार्टी बन्ने बताए ।

कुनै वक्ताले नयाँ पार्टी गठन गर्ने कुरा गर्दा हलमा ताली बज्ने गरेको थियो ।

संक्षिप्त लिखित मन्तव्य राखेका वीपीपुत्र डा. शशांक कोइरालाले सहमतिका लागि नेतृत्वले पहल गर्नुपर्ने बताए । तर, शीर्ष नेताहरूले पनि गगनप्रति नै प्रश्न तेर्स्याए ।

नेता डा. शेखर कोइरालाले गगनले पार्टीमा हुकुमी शैली अपनाएको आरोप लगाए । समय घर्किँदै गएकोले पार्टी दुर्घटनामा परे त्यसको जिम्मा गगन थापाले लिनुपर्ने बताए ।

नेता विमलेन्द्र निधिले प्रजातान्त्रिक समाजवाद त्यागेर सामाजिक लोकतन्त्रको कुरा गर्नु पश्चमगनको यात्रा भएको आरोप लगाए ।

नेता कृष्ण सिटौलाले भदौ २२ गतेसम्म एकथोक कुरा गर्नेहरू भदौ २५ पछि क्रान्तिकारी बनेर निस्किएको आरोप लगाए । 

नेता प्रकाशमान सिंहले विदेशी षडयन्त्रमा पार्टी कब्जा गर्न खोजिएकोले आफूहरू टुलुटुलु हेरेर नबस्ने बताए । उनले अहिले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले एक्लै देश चलाउन खोजेजस्तै गगनले एक्लै पार्टी चलाउन खोजेको सिंहको टिप्पणी छ ।

 नेता सिंहले नै साउन २९ गतेका लागि राष्ट्रिय भेला बोलाउने निर्णय भएको सूचना सुनाए ।

‘मलाई भेट्न आउने कार्यकर्ताहरूले तपाईं नेताहरूले धेरै ढिला गर्नुभयो भनिरहेका छन्, तर हामी त्यसै सुतेर बसेका छैनौं’, नेता सिंहले भने ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बरू मर्न तयार हुने तर आत्मसम्मान बिर्सेर समर्पण नगर्ने बताए । 

कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिन भएका चलखेलबारे आफूले कुनैदिन सविस्तार कुरा राख्ने उनले बताए । ३ पटकको भेटमा गगनले मिलाउँछु भने पनि काम नगरेको उनले आरोप लगाए ।

बोल्ने अधिकांश पूर्वपदाधिकारीले कांग्रेस विभाजन रोक्ने कोर्ट गगनसँग मात्र रहेको भन्दै पार्टी विभाजन भए त्यसको सम्पूर्ण दोष गगन थापाले लिनुपर्ने बताए ।

राष्ट्रिय भेलाको मिति घोषणा गर्नकै लागि बीपी स्मृति दिवसको अवसर पारेर इतर पक्षले भेला आयोजना गरेको थियो । साउन २९ सम्म सहमति नभए सोही भेलामार्फत मिति घोषणा गरेर समानान्तर महाधिवेशन गर्ने इतर समूहको तयारी छ ।

विशेष महाधिवेशनबाट आएको कांग्रेस नेतृत्वले असोजमा १५ औं महाधिवेशनको तालिका सार्वजनिक गरेको छ । भदौ २ गतेबाट वडा अधिवेशन शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्