
बुटवलमा हरेक शनिबार साँझ एउटा फरक दृश्य देखिन्छ। मन्दिर परिसरमा सयौँ होइन, हजारौँ युवा ढोल, मादल, गितार र झ्यालीको तालमा भजन गाउँदै झुमिरहेका हुन्छन्। कुनै बेला पाका पुस्ताको सीमित धार्मिक अभ्यास मानिने भजनलाई अहिले युवाले नयाँ शैली, नयाँ ऊर्जा र आधुनिक प्रस्तुतिमार्फत सामाजिक आन्दोलनकै रूप दिएका छन्।
यो परिवर्तनको केन्द्रमा छन्- कमल सापकोटा, जसलाई अधिकांशले ‘लम्बू सरकार’का नामले चिन्छन्। अध्यात्म, संगीत र सामाजिक अभियानलाई एउटै सूत्रमा गाँसेर उनले बुटवलमा भजनलाई नयाँ पुस्ताको आकर्षण मात्र बनाएका छैनन्, धार्मिक चेतना, सामाजिक एकता र सांस्कृतिक संरक्षणको अभियानका रूपमा पनि स्थापित गरिरहेका छन्।
हरेक शनिबार साँझ साढे पाँच बजेदेखि ७ बजेसम्म हुने बुटवलको भजनमा देखिएको सहभागिताले अहिले देश/विदेशमा समेत चर्चा कमाइरहेको छ। एमआरआरले देशका विभिन्न सहरमा नियमित रूपमा प्रत्येक शनिबार भजन–कीर्तन कार्यक्रम आयोजना गर्दै आइरहेको हो। त्यहीअन्तर्गत एमआरआर बुटवलले पनि भजन कार्यक्रम गर्दै आइरहेको छ।
कमल अर्थात् ‘लम्बू सरकार’ स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर–७ मनहरिखर्कमा जन्मिएका हुन्। उच्च शिक्षा अध्ययनको सिलसिलामा बुटवल झरेका कमल विगत डेढ दशकदेखि बुटवलमा रही सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। अग्लो कदका कमल फुटबल खेल्न पनि रुचि राख्थे। फुटबल खेल्दा उनलाई साथीहरूले ‘लब्बू’ भनेर बोलाउँथे। कमल आफैँले फेसबुकमा पनि अध्यात्मसँग सम्बन्धित सूचना दिने गर्दथे। त्यो ‘इन्फरमेसन’ दिँदादिँदै ‘नेपाल सरकारद्वारा जनहितमा जारी सन्देश’ भनेजस्तै उनलाई पनि लब्बू भनेर बोलाउने हुँदा ‘लम्बू सरकारद्वारा जनहितमा जारी सन्देश’ लेख्न थाले।
साथीभाइले ‘लब्बू’ भनिरहँदा उनको नाम पनि ‘लब्बू’ आफैँले पनि स्वीकार गरेर अहिले उनी सामाजिक सञ्जालमा ‘लम्बू सरकार’को रूपमा परिचित छन्। उनी आजभन्दा ८ वर्षअघि अर्थात् सन् २०१८ देखि ‘लब्बू सरकार’ भनेर चिनिएका हुन्। उनले एउटा ‘ब्लड लिङ्क’को प्रतिस्पर्धामा भाग लिन फर्म भर्नुपर्ने थियो। त्यसमा उनको आफ्नो ‘कमल’ भन्ने आइडीबाट नमिलेपछि ‘लब्बू सरकार’ भन्ने आइडी ‘एड’ गरेर त्यसपछि ‘लब्बू’ भएको हो।
कमलले २०६७ सालमा एसएलसी दिएका हुन्। उनले प्लस टु ‘एम्स मावि’ स्कुलमा पढे। ब्याचलर उनले ‘सीटीसी कलेज’बाट बीसीआईएसबाट पूरा गरे। उनले ‘स्काई इन्टरनेशनल कलेज’बाट एमबीए सके। मास्टर्स सकेपछि उनी बुटवल बहुमुखी क्याम्पसबाट एलएलबीमा पनि भर्ना भए। तर, भर्ना भएलगत्तै अध्यात्मतर्फ बढी रुचि भएका उनी त्यहीबेला भारतको बनारसतर्फ लागे।

उनी अध्यात्ममा अरूले भनेको भन्दा पनि के हो त वास्तविक भन्ने खोजतर्फ बढी रुचि राख्थे। एक वर्ष उनी बनारसमा ‘मिनी सन्यास’ जस्तो भएर सबै कुरा छाडेर बनारस, हरिद्वार, प्रयागराजमा बसे। त्यस्तै, गत वर्षको कुम्भमेलामा ४५ दिन त्यहीँ रहे। त्यहीँ बसेर उनले ‘ज्योतिष (एस्ट्रोलोजी)’ पढिरहेका छन्। उनले मन्त्र साधना पनि गर्छन्। उनले अध्यात्मलाई हामीले हेरेको, हामीले बुझेको भन्दा फरक परिप्रेक्ष्य (प्रस्पेक्टिभ)बाट बुझ्न खोजे। ‘यो क्षेत्र गहिरो छ, जति बुझ्यो उति बुझ्न जरुरी छ,’ लम्बू भन्छन्।
एमआरआरको भजन पोखरामा चलिरहेको थियो। कमल बनारसबाट बुटवल आएका थिए। पोखरामा जस्तै अध्यात्मको हिसाबले हामीले पनि बुटवलमा भजन गर्नुपर्छ भनेर उनी आफैँ अघि सरे। शुरूमा उनले भजनका लागि साथीहरूलाई ‘मिटिङ’ बसौँ भनेर धेरैलाई सन्देश प्रवाह गरे। बैठकमा प्रायजसो दुई–तीन जनाभन्दा बढी उपस्थित नहुने अवस्था थियो। धेरै नजुटेपछि उनले आफ्ना नजिकका साथीहरू दिनेश पौडेल, सुनील भण्डारी र निरज भण्डारीलगायत साथीसँऊ सल्लाह गरे । त्यसपछि २०८२ को साउनको पहिलो सोमबार दुर्गा शिव मन्दिरबाट पहिलो भजन शुरू गरे। भजनका लागि बाध्यवादनको सामान सर्प उद्धारकर्ता विशाल पाण्डेको घरबाट ल्याएर शुरू गरेका थिए। शुरूमै मान्छेको राम्रो उपस्थिति भयो। पहिलो महिना त्यही मन्दिरमा पाँच वटा सोमबार लगातार भजन गरे।
त्यसपछि धेरै क्षेत्रबाट ‘सोमबार मिलेन, शनिबार गर्नुपर्छ’ भनेर सुझाव आयो। उनीहरू पनि ‘कन्भिन्स’ भएर शनिबार भजन गाउन थाले। शनिबारको पहिलो भजन योगिकुटीको मन्दिरमा गाए। त्यहाँ मान्छेको उपस्थिति धेरै राम्रो भयो। त्यसपछि श्रुङ्गेश्वर धाममा गाए।
श्रुङ्गेश्वरपछि भजनले एकाएक उचाइ लियो। भजनमा स्वतस्फूर्त हजारौँ मानिस आउन थाले। ‘हामी कसैसँग एक रुपैयाँ पनि लिँदैनौँ, कसैले दान दिए पनि हामी लिँदैनौँ,’ लम्बू भन्छन्, ‘हामीले बाध्यवादनको सामान पनि फुटसलबाट बचेको केही पैसाले किनेको हो। अहिले सम्पूर्ण सामान उनीहरूसँग छ।’
‘जेनजी’ आन्दोलनको एक शनिबार उनीहरूले शोक भनेर भजन गाएनन्। दसैँ–तिहारमा धेरैजसो गाउँघरतर्फ जाने भएकाले दुई हप्ता गाएनन्। नत्र त्यसपछिका ४९ हप्ता उनीहरूको भजन निरन्तर चलिरहेको छ। यो अभियान निरन्तर जारी रहने कमल बताउँछन्।

सकेसम्म रूपन्देहीका सबैजसो मन्दिरमा भजन गाउने उनको योजना छ। भजनबारे दुई–चार दिनअघि कमलले टिकटकमा ‘आउने शनिबार फलानो मन्दिरमा भजन हुँदैछ’ भनेर पोस्ट गर्छन्। उनीहरूलाई विभिन्न जिल्लाबाट पनि भजन गाउन बोलावट भइरहेको हुन्छ। ‘उनीहरूको भजनबाट समाज खुसी छ। ‘बा’ पुस्ताहरू हामी युवा पुस्ताले भजन गाएको देखेर धेरै खुसी हुनुहुन्छ। एमआरआर १८ देखि ४० वर्षसम्मका केटाहरूको मात्र संस्था थियो। भजनले हामीलाई ‘बा’ पुस्ता, ‘आमा’ पुस्ता, ‘बहिनी’ पुस्तालाई पनि जोडिदियो,’ उनी भन्छन्, ‘यसले झनै आत्मीयता बढ्यो। संस्था पनि बलियो हुँदै गएको छ।’
केही व्यक्तिले एमआरआरको भजनप्रति आलोचना पनि गरेका छन्। त्यो आलोचना आवश्यक पनि रहेको लम्बू बताउँछन्। ‘सबै कुरामा सबैजना सहमत हुनुपर्छ भन्ने पनि छैन। मोर देन ९९ प्रतिशत मानिसहरू हाम्रो भजनबाट खुसी हुनुहुन्छ,’ कमल दाबी गर्छन्।
एमआरआर अहिलेको सरकारको नेतृत्वकर्ता पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नजोडिएको कमल दाबी गर्छन्। ‘वि.सं. २०७२ तर्फ हेर्दा एमआरआरलाई एमालेको भ्रातृ संगठन भन्थे। किनभने, केपी ओलीले चुच्चे नक्साको कुरा उठाउँदा हामीले आँखा चिम्म गरेर सपोर्ट गरेको हो,’ उनी भन्छन्, ‘पछिल्लो समय एमआरआर किन रास्वपासँग नजिकजस्तो छ भन्ने कुरा किन आयो? हाम्रो एमआरआरमा ‘एक्टिभ मेम्बर’हरू धेरैजना मन्त्री हुनुभयो। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आफैँमा एमआरआरको सदस्य हुनुहुन्थ्यो। कुमार बेन पनि एमआरआरको सदस्य हुनुहुन्थ्यो। सुनील लम्साल, सुलभ खरेल पनि हुनुहुन्थ्यो। लगभग १९ जना सांसद एमआरआरको मेम्बर भएको हुनाले त्यो कुरा आएको हो। एमआरआरको ‘स्ट्रिक्ट रुल’ कुनै पनि राजनीतिक दलमा आबद्ध भएको मान्छेले एमआरआरमा लिएको जिम्मेवारी छोड्नुपर्छ भन्ने छ। नियम भएको कारणले गर्दा जो–कोही अहिले राजनीतिमा सक्रिय हुनुभयो, उहाँहरू कसैको पनि एमआरआरमा जिम्मेवारी छैन।’

अहिले देशभर एमआरआरमा ५६ हजार सदस्य जोडिएका छन्। १७ हजार ‘पेन्डिङ’ छन्। ‘फेक अकाउन्ट’लाई हामी ‘अप्रुभ’ गर्दैनौँ। बुटवल क्षेत्रको लागि छुट्टै एमआरआरको ग्रुप छैन। तर, भजनको ‘मेसेन्जर ग्रुप’मा २५० भन्दा बढी सदस्य छन्। ग्रुपबाहिर पनि भएकाले ‘एक्टिभ मेम्बर’ ५०० जति छन्। अहिलेसम्म धेरै मानिस जुटेको लुम्बिनी वाणिज्य क्याम्पसमा भएको भजन हो भनी ‘लब्बू’ बताउँछन्। झन्डै १० हजार मानिस सहभागी भएको उनको दाबी छ। भजनमा हिँड्ने उनीहरूको ३०० जनाको ‘टिम’ छ। सिद्धेश्वरी, मुक्तिनाथ धाम, श्रुङ्गेश्वर धाममा भएको कार्यक्रम धेरै राम्रो भएको थियो। एमआरआर भजनभन्दा अगाडि पनि सामाजिक कार्यमा सक्रिय थियो। मिर्गौलापीडित बिरामीलाई रकम सङ्कलन गर्ने, रक्तदान गर्नेजस्ता सामाजिक कार्यमा पनि उनीहरू सक्रिय छन्। कमल आफैँ पनि बिजनेसमा जोडिएका छन्। उनले आफैँले ‘चियानगर’ सञ्चालन गरेका छन्।
कमलको परिवार पनि आध्यात्मिक थियो। सन् २०१६ देखि उनले रुद्राक्ष धारण गर्न शुरू गरेका थिए। त्यसका फाइदाहरू के रहेछन् त? साच्चै यसले काम गर्ने रहेछ कि छैन त भनेर बुझे। त्यसपछि साच्चै रुद्राक्षले उनलाई रुचिको कारणले धेरै सहयोग गरेको महसुस गरायो। सन् २०१८ मा गुरुदीक्षा लिएर मन्त्र पनि साधना गरे। त्यसपछि उनी निरन्तर आध्यात्मिक यात्रा र खोजी गरिरहेका छन्।

उनले अध्ययनपछि नेपाल र भारतको सनातन धार्मिक सभ्यता फरक पाए। नेपालमा भारतीय धर्मगुरुका पुस्तक पढेर नेपालको मौलिकता गुमाउनु हुँदैन, यसको संरक्षण हुनुपर्छ भन्ने उनको मान्यता छ। ‘हामी राम्रा मन्दिर बनाउने र ठूला–ठूला मूर्ति राख्नेमा मात्र फोकस भइयो,’ उनी भन्छन्, ‘हाम्रो नेपालीको खास थान हो। हाम्रो भूमि पूजन हो। माई, झाँक्रीका थानलाई पनि मन्दिर बनाउन खोज्नु हुँदैन। थानलाई थान नै रहन दिनुपर्यो। लामा–झाँक्री विद्यालाई अन्धविश्वास भनेर जुन विद्यामाथि नै आक्रमण भइरहेको छ, त्यो कुराको पनि संरक्षण हुनुपर्छ। पुस्तान्तरण हुनुपर्छ। तर, केही मानिसहरू छन्, जसले अन्धविश्वास फैलाइरहेका छन्, त्यसलाई रोक्नुपर्छ।’
कमलसँगैको टिमले धर्म संरक्षणको लागि ‘रुद्रगण’ नामको संस्था बनाएर त्यो काममा जुटेका छन्। ‘रुद्रगण’ धार्मिक संस्था भए पनि धर्ममा मात्र फोकस छैन। समाजमा रहिसकेपछि सबैसँग सहकार्य गरेका छन्।
फोहोर व्यवस्थापन, बजार सरसफाइ, छाडा गाईको समस्या जस्ता क्षेत्रमा यो संस्थाले काम गरिरहेको छ। ‘सहयोग गर्ने मानव धर्म पनि हो, गरिरहन्छौँ,’ उनीहरूले ‘रुद्रगण’ भन्ने धार्मिक संस्था पनि दर्ता गरेका छन्। उनी सीटीसी कलेजमा काउन्सिलिङको काम पनि गरे। ‘रोट्रयाक्ट’, ‘नेचुरल रिभाइभल’सँग मिलेर सोह्र–छत्तीस कुलो सरसफाइको काम गरेका हुन्। बुटवललाई सफा र हरभरा बनाउन सबैको हितको लागि काम गरिरहेका छन्। नेपालको धर्म, परम्परा, संस्कृति र नेपालीपन जोगाउन जरुरी छ। यसमा कसैलाई निषेध छैन। संस्कृति, परम्पराले कसैलाई अहित नगर्ने कमलको भनाइ छ।