०८ साउन २०८३, शुक्रबार

अफिम खुवाएर वैरीहरूले नेपाललाई एक दिनमै विध्वंश गरे, हामीले पनि अफिम युद्ध चलाउनु पर्ने भयो– प्रचण्ड

साउन ८, २०८३
काठमाडौं
अफिम खुवाएर वैरीहरूले नेपाललाई एक दिनमै विध्वंश गरे, हामीले पनि अफिम युद्ध चलाउनु पर्ने भयो– प्रचण्ड
फाइल फोटो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले साम्राज्यवादीहरूले नेपाली जनतालाई अफिम खुवाएर भदौ २४ को घटना गराएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा अल्गोरिदमको म्यानिपुलेसनमार्फत नेपाली युवालाई अफिमको नसामा जस्तै लठ्ठ पारेको उनको टिप्पणी छ ।

पुष्पलालको स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले चिनमा जस्तै नेपालमा पनि अफिम युद्ध लड्नु पर्ने अवस्था आएको बताएका हुन् ।

‘मैले अस्ति एउटा कार्यक्रममा भनेको थिएँ, चिनिया क्रान्तिको इतिहासमा अफिम युद्ध भएको थियो । साम्राज्यवादीहरूले चिनिया जनतालाई अफिमको लत बसाइदिने । लठ्ठ पारेपछि सबै स्रोत साधन लुट्ने गरेका थिए,’ प्रचण्डले भने, ‘यो पटक हाम्रो गल्तीका र कमजोरीमा टेकेर नेपाली जनतालाई अफिम खुवाएछन्, कस्तो अफिम भन्दा–सोसल मिडियाबाट अल्गोरिदम म्यानिपुलेसन । त्यो अफिम नै हो, अफिम खुवाएर लट्ठ पारे ।’

युवाहरूलाई अफिमको नसामा पारेर भदौ २४ को घटना घटाइएको उनको भनाइ थियो । ‘चीनमा जस्तै हामीले पनि अफिम युद्ध चलाउनु पर्ने भएको छ, जुन दिन अफिमको नसाबाट मुक्त भएपछि चीनमा क्रान्ति अगाडि बढेको थियो । यहाँ पनि सोसल मिडियामा लठ्ठ भएका  युवा त्यसबाट मुक्त हुन्छन्, राष्ट्रको स्वाधीनताको लागि फेरि बलिदान गर्ने आट गर्छन्,’ प्रचण्डले भने ।

पूर्वप्रधानमन्त्री प्रचण्डले वैरीहरूले एकै दिनमा नेपाललाई विश्वंश गर्छन् भनेर आफूहरूले कल्पनासमेत नगरेको बताए । ‘वैरी लागेका छन् भन्ने थाहा पाइन्थ्यो, एकै दिनमा नेपाललाई विश्वंश पार्छन् भन्ने लाग्दैनथ्यो,  हामीले भ्रम पालिएछ,’ उनले भने, ‘राष्ट्रको स्वाधीनताका लागि शक्ति आर्जन र सञ्चय गर्नुपर्ने कामबाट हामी विमुख हुँदा, त्यसैको परिणाम उनीहरूले तयारी गरे । उनीहरूले बकाइदा तयारी गरे हाम्रा युवाको दिमाग कसरी क्याप्चर गर्ने भन्नेमा तयारी भएछ ।’

salt training

कमेन्ट गर्नुहोस्