
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार विभागको नयाँ वेबसाइट र एप आज पार्टी कार्यालय च्यासलमा सार्वजनिक गरेका छन् ।
सो अवसरमा अध्यक्ष ओलीले वर्तमान समाजमा सत्यलाई तोडमरोड गर्ने प्रवृत्ति हाबी हुँदै गएकामा चिन्ता व्यक्त गरे । कालोलाई सेतो र सुल्टोलाई उल्टो बनाएर भ्रम फैलाउने प्रवृत्ति तात्कालिक राजनीतिसँग मात्र नभएर सामाजिक संस्कृति र सभ्यताको रक्षासँग जोडिएको रणनीतिक विषय भएको उनले बताए ।
सूचना प्रविधिको (आइटी) प्रतिस्पर्धामा पार्टी केही पछि परेको स्वीकार गर्दै अध्यक्ष ओलीले अब आफ्ना कमजोरीहरूलाई सुधारेर अगाडि बढ्ने बताए ।
कार्यक्रममा पार्टीका महासचिव शङ्कर पोखरेलले युवा पुस्तालाई सूचना प्रविधिको प्रयोगबाट पार्टीको सही वैचारिक धारसँग जोड्नुपर्ने आवश्यकता रहेको बताए । वेबसाइटको सार्वजनिकीकरणको आयोजना केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको थियो ।
विभागका प्रमुख नीरज आचार्यले वेबसाइटको नवीन संस्करणका बारेमा जानकारी गराएका थिए ।