०४ साउन २०८३, सोमबार
बहस अर्थतन्त्र सुधारको

अर्थतन्त्र सुधारका लागि भुल्नै नमिल्ने कुरा– राम्रो नियतले मात्र पुग्दैन

असार ३२, २०८३
काठमाडौं
अर्थतन्त्र सुधारका लागि भुल्नै नमिल्ने कुरा– राम्रो नियतले मात्र पुग्दैन

विकासशील मुलुकका अर्थनीतिशील्पीहरू अर्थतन्त्रलाई कसरी चलायमान बनाउने र उच्च आर्थिक वृद्धि हासिल गर्ने भन्ने चिन्तामा छन् । युवाहरू रोजगारी खोजिरहेको छन्, उपभोक्ताहरू कम मूल्यमा सहज आपूर्तिको चाहिरहेका छन्, उद्यमीहरू व्यवसाय गर्न चाहिरहेका छन्, बैंकहरूसँग पैसा निष्क्रिय छ, सरकारसँग लगानी गर्ने पैसा छैन । आर्थिक नीतिका चार स्तम्भ वित्तनीति, मौद्रिक नीति, बाह्य क्षेत्र नीति र संरचनात्मक सुधार कार्यक्रमबीच कहाँ सम्बन्ध मिलेन भन्ने विषयमा त्यति हेरिँदैन, पूर्तिपक्षीय नीति नियमहरू जारी गरिन्छन्, तर त्यसको साइड इफेक्ट हेरिँदैन । नीति ल्याइनुअघि भ्यालिडेसन गरिँदैन । अर्थशास्त्री, बुद्धिजीवी र नीतिशिल्पीहरू सामान्य कुरालाई जटिल बनाइरहेका छन् । वास्तवमा यी जटिल विषय नै होइनन् । जटिल बनाइएकाले लोकतन्त्र आर्थिक रूपमा कमजोर भएको छ । यी सवालहरूको सरल समाधान थोमस सोवेलको आधारभूत अर्थशास्त्रले दिएको छ । त्यति मात्र होइन, यदि गलत नीति छनौट भयो भने अर्थतन्त्रमा त्यसले कसरी बुमराङी असर पार्छ र लामो समयसम्म प्रतिकूलतामा फस्छ भन्ने दृष्टान्तसहित जानकारी पनि उनले दिएका छन् । राम्रो गर्न खोज्ने तर ढङ्ग नपुर्‍याउने नीतिशिल्पीलाई यसले त्यसो नगर्न पनि सचेत गराउन सक्छ ।

अक्सर सरकारहरू धनीलाई धेरै कर लगाएर गरिबसम्म लाभ र वितरण न्याय गर्न अनि छिट्टै लोकप्रिय हुन खोज्छन् । तर ध्यान नपुग्दा धनीलाई धेरै कर लगाउँदा गरिब नै उल्टो मारमा परेका कैयन दृष्टान्त छन् । त्यस्तै कुनै वस्तुलाई जबस्जस्ती सस्तो बनाउँदा ती वस्तु नै बजारबाट गायब हुन पुग्छन् । धनीलाई उच्च दरमा कर लगाउनु, सस्तो सेवा वस्तु दिनु राम्रो हो । तर बजारले यस्ता कुरालाई मौन प्रतिकार गर्दै अर्थतन्त्र अर्कै दिशातिर गयो भने के गर्ने भन्ने विषयमा नीति निर्माताहरू त्यति सोच्दैनन् ।

थोमस सोवेल उच्च तहको कर लगाउँदा अर्थतन्त्रमा पर्ने प्रभाव र यसबाट समाजको सीमान्तकृत समुदायमा पर्ने असरलाई अमेरिकाको दृष्टान्तबाट दिन्छन् । सन् २००८ मा अमेरिकाको मेरिल्यान्ड राज्यलाई पैसाको जरुरत पर्‍यो । अतिरिक्त आय आर्जन गर्न सरकारसँग भएको सजिलो आधार थियो उच्च दरको कर । राज्य सरकारले धनीहरूलाई उच्च दरमा कर लगाइदियो । त्यतिखेर मेरिल्यान्ड राज्यमा ८ हजारजति अर्बपति थिए । थपिएको करबाट प्रतिवर्ष १०६ अर्ब डलर सरकारी कोषमा थपिने अनुमान थियो । यो योजना सुन्नमा राम्रो र सरकारका लागि सजिलो पनि थियो । पहिलो वर्ष अनुमान जसरी अतिरिक्त राजस्व पनि प्राप्त भयो । तर दोस्रो वर्ष अर्बपतिको संख्या ६ हजारमा झर्‍यो, दुई हजार अर्बपतिहरू राज्यबाट बाहिरिए छन् । यसबाट अतिरिक्त राजस्व उठ्नुको विपरीत २५७ अर्ब डलर राजस्व घाटा हुनपुग्यो । मेरिल्यन्ड जसरी ओरेगनले पनि धनीलाई उच्च कर लगायो, उसले पनि आफ्नो कोष थाहै नपाई घटायो । यसले के बताउँछ भने सर्वसाधारणहरू उद्देश्य (इन्टेन्सन) प्रति होइन, प्रोत्साहन (इन्सेन्टिभ) प्रति प्रतिक्रिया दिन्छन् । राज्यको आशय धेरै पैसा उठाएर सर्वसाधारणलाई सेवा दिनु थियो, तर उच्च कर नीतिले धनी उद्यमीलाई बाहिरिन प्रोत्साहन गर्‍यो । धनीहरू मात्र बाहिरिएनन्, उनीहरूको साथ रेष्टुरा, व्यापार, लगानी, उद्यशीलता, रोजगारी र अरू अवसरहरू पनि बाहिरियो । यसले अर्थतन्त्रलाई पूरै प्रभावित पार्‍यो । नेपाल जस्ता मुलकुहरूमा राज्यले स्रोत जुटाउन उच्च करको सजिलो उपाय ल्याउन त सक्छ र करदाता तत्कालका लागि मौन रूपमा स्वीकार्छन् पनि, तर उनीहरूको प्रतिक्रिया प्रोत्साहनप्रति हुन्छ, आशय प्रति होइन । गत वर्ष, र त्यो भन्दा पनि गत वर्ष बजेट वक्तव्यपछि आफ्ना केही सुझावहरू समेटेकोमा खुसी जस्तो देखिएको निजी क्षेत्रले प्रोत्साहन नपाएकाले लगानी नगरेर नै प्रतिक्रिया दियो । घोषणा गरिएका नीतिभन्दा नभनीकन गरिएको मौन प्रतिक्रियाले अर्थतन्त्रलाई लामो समयसम्म सताइरहन्छ ।

सन् २००८ मा अमेरिकाको मेरिल्यान्ड राज्यलाई पैसाको जरुरत पर्‍यो । अतिरिक्त आय आर्जन गर्न सरकारसँग भएको सजिलो आधार थियो उच्च दरको कर । राज्य सरकारले धनीहरूलाई उच्च दरमा कर लगाइदियो । त्यतिखेर मेरिल्यान्ड राज्यमा ८ हजारजति अर्बपति थिए । थपिएको करबाट प्रतिवर्ष १०६ अर्ब डलर सरकारी कोषमा थपिने अनुमान थियो । यो योजना सुन्नमा राम्रो र सरकारका लागि सजिलो पनि थियो । पहिलो वर्ष अनुमान जसरी अतिरिक्त राजस्व पनि प्राप्त भयो । तर दोस्रो वर्ष अर्बपतिको संख्या ६ हजारमा झर्‍यो, दुई हजार अर्बपतिहरू राज्यबाट बाहिरिए छन् ।

थोमस सोवेलले उल्लेख गरेको अर्को विषय निर्णय र त्यसको लागत हो । प्रत्येक निर्णयको एउटा लागत हुन्छ । हामीसँग १०० रुपैयाँ छ र यसबाट कफी लिने र सिनेमा हेर्ने विकल्प छन्, दुवै कुरा गर्न सकिँदैन, किनकि स्रोत सामर्थ्य सीमित भएकाले दुईमध्ये एकमा मात्र खर्च गर्न सक्छौं । कफी लिने हो भने सिनेमाबाट मनोरञ्जन लिने अवसरबाट वञ्चित हुनुपर्ने हुन्छ, सिनेमा हेर्ने हो भने कफीको आनन्द लिन नपाइने भो । प्रत्येक निर्णयमा अर्को विषय वा अवसर छोड्नुपर्ने हुन्छ । सरकारले गर्ने निर्णय पनि यस्तै हुन्छ । यसलाई अर्थशास्त्रको भाषामा ‘टे«ड अफ’ भनिन्छ । अर्थतन्त्र कसैसँग कति पैसा छ भन्नेमा अर्थ राख्दैन कि भएको स्रोतको कसरी उपयोग गरिन्छ भन्नेमा सरोकार राख्दछ । अर्थतन्त्रमा प्रत्येक साना वा ठूला निर्णयहरू यही टे«ड अफको सिद्धान्त लागू हुन्छ । सोवेल दृष्टान्त दिन्छन्, भेनेजुएलाको भूगर्भमा तेलको विशाल भण्डार छ, तर स्वीजरल्यान्डको जमिनमुनि कुनै भण्डार छैन, तैपनि ऊ भेनेजुएलाभन्दा सम्पन्न बन्यो । प्रश्न कुनै मुलुक (अर्थतन्त्र) सँग कति स्रोत छ भन्नेमा होइन, भएको स्रोतलाई कसरी उपयोग गरिएको छ भन्नेमा रहन्छ । अर्थतन्त्रमा मात्र होइन व्यक्तिगत जिन्दगी पनि यही सिद्धान्तको आधारमा चल्दछ । कसैसँग भएको हरेक स्रोत, हरेक रकम, हरेक पल एकैपटक प्रयोग गर्न सकिन्छ, पटक–पटक होइन । प्रश्न कुनै कुरामा खर्च गर्न सक्छु कि सक्दिनँ भन्नेमा भन्दा कुन कुरा छाडिरहेको छु भन्नेमा छ । कुनै कुराको लागतमा अर्को वस्तु कति लिने भन्ने प्रश्न अर्कोमा अहम् रहन्छ । आजको आनन्द वा वस्तुका लागि भोलिको मूल्यमा सम्झौता गरिनुहुन्न । पोटेन्सियल वेल्थ वा सम्भावित मूल्यालाई ट्रेड अफ आयले बताउँछ । नीति निर्माता वा विवेकशील व्यक्ति कुनै कुरामा खर्च गर्दा पैसा मात्र खर्च गरिरहेको हुन्न, भविष्यको लागत वा खर्च व्यहोरिरहेको हुन्छ । नीति निर्माता जब ट्रेड अफको मूल्य बुझ्न सक्दैनन्, पैसाको मूल्यप्रति महत्त्व रहेको ठहर्दैन र मुलुकले समृद्धि पनि पाउँदैन ।

अधारभूत अर्थशास्त्रमार्फत सोवेल मूल्य केवल अंक होइन, सन्देश हो भन्ने बताउँछन् । यसलाई पुष्टि गर्न एउटा दृष्टान्त प्रस्तुत गरेका छन् । सोभियत नेता मिखाइल गोर्भाचेखले एक प्रसंगमा बेलायती प्रधानमन्त्री मार्गरेट थेचरलाई सोधेछन्, तपार्इंले सर्वसाधारणसम्म खाना पुर्‍याउने कुरा कसरी सुनिश्चित गर्नु हुन्छ ? थेचरले जवाफ दिइछन्– म त्यसो गर्दिनँ, मूल्यले नै त्यो सुनिश्चित गर्छ । त्यतिबेला शोभियत संघ नियोजित अर्थतन्त्रमा थियो र हरेक कुरा राज्यले निर्धारण गर्थ्यो । तर बेलायतमा राज्यले आफ्ना जनतालाई पुग्ने खाना आफैँ उत्पादन गर्दैनथ्यो, लाखौं व्यक्तिको खाना, नास्ता, चिया, पेय सहज पाइरहेका थिए । राज्यको अधिकारीले कुनै पसल, मल, रेस्टुरा आदि कसलाई कति खाना चाहिन्छ भन्ने निश्चित गर्दैनथे तर अर्जेटिना, ब्राजिल, नर्वे लगायतका मुलुकबाट मासु, माछा, कफी आपूर्ति भैरहेको हुन्थो । वस्तु सेवा आपूर्तिको समन्वय पर्सन (प्लानर) ले होइन, प्राइस (मूल्य) ले गरिरहेको हुन्थ्यो र छ पनि । उपभोक्ताको स्वाद, चाहना र सामर्थ्य प्रतिदिन बलिन सक्छ, त्यो सबै जानकारी कुनै व्यक्तिले लिन सक्दैन न कम्पुटरले नै राख्छ । बजारको यो प्रक्रियामा धेरै चर (भेरिएबल) हुन्छन् । तर, यो समस्या आफसेआफ समाधान हुँदै जान्छ, सरकारले त्यसो गर्ने वातावरण मात्र मिलाइदिए पुग्छ । सानाठूला पसलमा खाद्यवस्तु पुगिरहेकै हुन्छ, कुनै सेन्ट्रल प्लानरले यो काम गरिरहको हँुदैन, प्राइस नै त्यो सबैथोक गर्ने कारक हो । जब खाद्य वस्तुको आपूर्ति कम हुन्छ, मूल्य आफैँ बढ्न पुग्छ । उच्च मूल्य भएपछि खाद्यवस्तु उत्पादक–आपूर्तिकर्ता धेरै उत्पादन गर्न थाल्दछन् । आपूर्ति धेरै भएपछि मूल्य घट्न थाल्छ, उत्पादन आपूर्ति पनि विस्तारै कम हुन थाल्छ । यो प्राइस सिग्नल आफैँ बन्ने गर्दछ, कुनै संयन्त्र बनाइरहन आवश्यक पर्दैन । मूल्य सत्रु होइन, संकेत हो, जसले वास्तविक स्थिति मात्र बताउने गर्दछ । नीति निर्माता, उपभोक्ता मूल्यलाई शत्रुका रूपमा होइन, स्थितिप्रतिको प्रतिक्रिया हो । नीतिशिल्पी र नियामक निकायको भूमिका स्वाभाविक रूपमा मूल्य संयन्त्रलाई काम गर्ने वातावरण बनाउने सामर्थ्यमा रहनुपर्दछ, जसले काठमाडौं र दूरदराजका सर्वसाधारण उपभोक्तालाई न्याय गर्न सकोस् ।

अमरिकीलगायत खुला बजार प्रणाली भएका मुलुकहरू जहाँ प्रत्येक कारोवार विद्युतीय प्रणालीबाट हुन्छ, व्यक्तिको स्तर अनुसार सर्भिलेन्स प्राइस कायम गर्ने कि भन्ने अध्ययन पनि भएको छ । यस अवस्थामा सामान्य मूल्य र विशेष मूल्य हुन सक्छ । यो अर्थशास्त्रको नियमभन्दा परको विशेष अवस्था हो । सामाजिक स्वीकर्यता हेरेपछि सामाजिक न्यायका लागि यसलाई उपयोग गर्न सकिएला तर उच्च कर लगाउँदा बुमराङी असर परेको दृष्टान्तबाट नीति निर्माता कसरी अगि बढ्ने हो यो उनिहरूको नीति विवेकशीलता र विश्वसनीयतामा निर्भर गर्दछ ।

सोवेलले अर्को कुरा बताएका छन्– मूल्य नियन्त्रणले सधैँ उल्टो असर गर्छ । यसको पुष्टि गर्न उनले न्यूयोर्क शहरको अपार्टमेन्ट (आवास) भाडा प्रसंगलाई दृष्टान्तमा लिएका छन् । सरकारको कृतिम मूल्य नियन्त्रणले आवास भाडामा पनि नजाने तर बाहिर सडकमा मानिस त्यत्तिकै सुत्ने अवस्था देखिएको थियो । यसो हुनुपछि अर्थशास्त्रको नियमले काम गरिरहेको थियो । घरभाडा लगातार बढेपछि सरकारकारले भाडाको सीमा तोक्यो, त्यसलाई रेन्ट कन्ट्रोल भनियो । सुन्नका लागि यो सामान्य जस्तो लाग्छ । कम भाडाका कारण घर भाडाको माग बढ्न थाल्यो । सस्तोमा अपार्टमेन्ट पाएरपछि अभिभावकसँग बस्ने विद्यार्थी पनि भाडामा अपार्टमेन्टमा बस्न थाले, सानो घर भाडामा लिइरहकाहरू ठूला अपार्टमेन्ट लिन थाले । आवश्यकताभन्दा बढी अपार्टमेन्ट भाडामा उपयोग भयो । तर घरधनीले भाडा बढाउन नपाएपछि मर्मत सम्भार सेवा सुविधासम्मका काम गर्न सक्न छाड्यो । त्यसपछि अपार्टमेन्टको माग घट्न थाल्यो । कतिपय घरधनी बहाल व्यवसायीले बहाल व्यवसाय छाडिसकेका थिए । किनकि अपार्टमेन्ट व्यवसाय वित्तीय रूपमा घाटाको व्यवसाय बनिसकेको थियो । एकातिर अपार्टमेन्ट खाली रहने र अर्कोतर्फ अपार्टमेन्टको अभाव रहने दोहोरो समस्या मूल्य नियन्त्रणका कारण सिर्जियो । सोवेल खास वस्तुमा मूल्य बढेपछि कृतिम मूल्य कायम गर्न सरकारले ल्याएको मूल्य नियन्त्रणको औजारले उल्टो असर पार्ने बताउँछन् । यस प्रकारको नीतिले दोकानमा सामान सकिने उत्पादक तोकिएको मूल्यामा उत्पादन गर्न नसक्ने स्थितिमा पुग्छन् । मूल्य धेरै तल हुँदा खाद्यवस्तु आपूर्ति हुन नसक्ने र मूल्य समर्थन नीतिमार्फत कृषि उत्पादनमा राहत दिँदा आवश्यकताभन्दा बढी उत्पादन हुनगई सरकारले अनाज किन्नुपर्ने अवस्था सन् २००० तिर भारतमा देखिएको थियो । यसले के प्रस्ट पार्छ भने मूल्य कमी भएमा अभाव पैदा हुन्छ, अत्यधिक मूल्य हुँदा बचत हुन्छ । दुवै अवस्था आर्थिक दृष्टिमा ठीक होइनन् । प्रणालीको सन्तुलन बिग्रिए आर्थिक (उत्पादन, वितरण) कारोवार प्रतिकूल हुन्छ । सरकारलाई भ्रम पर्नसक्छ मूल्य नियन्त्रण सधैँ गरिबको पक्षमा हुन्छ । तर वस्तु नै नपाएपछि गरिब नै मारमा पर्दछन्, धनीका लागि धेरै विकल्प खुला छन् । त्यसैले नीति निर्माता सजिलो सोचबाट पर रहनु पर्दछ कि मूल्य नियन्त्रणले मात्र वस्तु अफोर्डेबल हुँदैन । जोहरान ममदानीको चुनावी मुद्दा पनि अफोर्डेबल आवास थियो । अपार्टमेन्ट, कृषि अनाजमा मात्र होइन, सबै उत्पादनमा यही नियम लागू हुन्छ भन्ने नीति निर्माताले बुझ्नुपर्छ भन्ने संकेत सोवेलले दिएका हुन् ।

थोमस सोवेल नाफा र घाटाका विषयमा पनि अर्थशास्त्रको व्यावहारिक नियम उल्लेख गर्दछन् । उनका अनुसार नाफा घाटा पैसा कमाउने र गुमाउनेको नाम मात्र होइन, यो दिशा बताउने संकेत हो । जस्तो कि विद्यार्थी फलफूल खाजा खुवै मन पराउछन् भने व्यापारी अतिरिक्त प्याकेट बेच्न ल्याउन थाल्छन् । नाफा बढ्न थाल्छ । नाफाले संकेत दियो कि तिम्रो उत्पादन बढाउने क्रम जारी राख । अर्को कुनै व्यापारीले किसमिस लिएर आउँछ, तर विद्यार्थीले त्यसलाई मन पराउँदैनन् । विभिन्न उपहार र साजसज्जामा ल्याउँदा पनि मन पराएनन् भने बुझ्नुपर्छ कि त्यस व्यवसायलाई त्यही रूपमा लैजानुहुन्न । घाटामा जाँदा समय बर्बाद भो, पैसा बर्बाद भो, तर घाटाले पनि एक महत्त्वपूर्ण सन्देश दिन्छ कि उपभोक्ता तिम्रा वस्तुलाई मन पराइरहेका छैनन्, अर्को उद्यम गर, अर्को ढाँचामा जाऊ । नाफाले सन्देश दिन्छ, उत्पादनलाई अरू बढाऊ, घाटाले सन्देश दिन्छ, रोकिऊ र दिशा बदल । घाटाको मतलव कुनै उत्पादनको विषय मात्र होइन, त्यसको इन्जिनीयरिङ, मेसिन, मेटेरियल्स र स्रोतको यसरी प्रयोग गर्नु हो कि त्यसले मूल्यवान अर्थ दिन सक्छ । कतिपय अवस्थामा सरकार यो स्वाभाविक प्रक्रियालाई नबुझेर दखल दिन्छ, घाटामा गएका उद्यम चलाउँछ, करबाट उठेको पैसामार्फत घाटालाई टेवा दिन्छ । यस अवस्थामा बजार संकेत कमजोर हुन पुगी लगानी वित्थामा जान्छ । निजी उद्यमीले जसरी नै सरकारले पनि गतावधिक वस्तु, स्वाद र स्तरहीन उत्पादनलाई प्रोत्साहन र पुरस्कार गर्नुहुन्न । नाफा र नोक्सानका नियमहरू अर्थतन्त्रका महत्त्वपूर्ण पृष्ठपोषण हुन् । सरकारका सेवावस्तुहरू स्वादिला हुनुपर्छ, सरकारले आफूलाई अलग्गै राखेर सोच्नुहुन्न । वृद्धि र समृद्धिमा जानका लागि गलत विधि, प्रविधि र उत्पादनलाई नवप्रर्त्तनले विस्थापन गर्नुपर्दछ । गत वर्षको अर्थशास्त्रको नोवेल विजेतामध्ये एक जोएल माइकल मोकिरका अनुसार आर्थिक वृद्धि निरन्तर गर्न सम्भव बनाउने तीन तत्व छन्, पहिलो प्रविधि र विज्ञानको संयुक्त विकास, दोस्रो नयाँ प्रविधि विकास भएपछि मानव सीप र प्रवीणताको उपयोग तथा तेस्रो नयाँ आविस्कार र प्रविधिलाई स्वीकार गर्ने उदार पारदर्शी समाज ।

व्यक्तिलाई जसरी आधारभूत अर्थशस्त्रीय ज्ञान आवश्यक हुन्छ, सरकार यसलाई उपयोग गरी आर्थिक नीति तर्जुमा गर्छ, आर्थिक नीतिका चरणहरूलाई कसरी उपयोग गर्ने भन्ने विषयमा आधारभूत रूपमा सोच्न सक्छ । सरकारले अर्थशास्त्रलाई अर्थराजनीतिक आयामबाट हेर्छ । तर, के भुल्न हुन्न भने अर्थशास्त्रका आधारभूत नियमहरू स्वाभाविक छन्, तिनलाई जटिल बनाइनुहुन्न, न अस्वाभाविक रूपमा चलाउनु नै हुन्छ ।

सोवेलले तलबलाई पनि मूल्यका रूपमा सरल व्याख्या गरेका छन् । मानिसहरू कामबाट धेरै तलब चाहन्छन् । तर कुनै जागिरमा धेरै र कुनैमा थोरै तलब किन पाइन्छ ? भन्नेमा कमैले मात्र सोचेका हुन्छन् । अर्थशास्त्रका जवाफ प्रस्ट छ, जति मूल्य सिर्जना गर्दछ, त्यसैमा उसको तलब निर्भर हुन्छ । कुनै सोडा बेच्ने व्यवसायमा कति तलब दिने भन्ने कुरा कति अतिरिक्त बोतल सोडा बेच्यो र अतिरिक्त मूल्य सिर्जना गर्‍यो भन्नेले निर्धारण गर्दछ । अन्य कुनै आधारमा धेरै तलब दिइएमा कम्पनी टाट पल्टन सक्छ । अतिरिक्त मूल्य सिर्जनाका लागि कर्मचारीले अतिरिक्त चाख, काममा अभिरुचि, प्रयास, ग्राहकसँग मीठो व्यवहार, अटोमेसनको विधि, नवीन प्रविधि प्रयोग गर्नसक्छ । संस्था कर्मचारीलाई माया गरेर होइन, नतिजा (कार्यसम्पादन) का लागि ज्याला दिन्छ । धेरै तलब सुविधा खोज्नुको मतलब धेरै मेहनत र सीप प्रयोग गर्छु भन्ने हो । त्यस्तो सीप सिक्नुपर्‍यो, जसको अत्यधिक माग छ, अरूमा छैन । त्यस्तो अभिरुचि र प्यासन राख्नु पर्‍यो, जसले अरूभन्दा उम्दा बनाउन सक्छ ।

आधारभूत अर्थशास्त्रको अर्को महत्त्वपूर्ण सन्देश ट्रेड (व्यापार) ले दुवै पक्षलाई फाइदा गर्छ भन्ने हो । सोवेल उदाहरण दिन्छन्, एकजना स्यान्डवीच र अर्को पिज्जा बनाउने साथीहरू एकले अर्कोको वस्तु मन पराउँछन् र आधा–आधा उपयोग गरी उपयोगिता अधिक गर्दछन् । यो दुवै खुसी हुने अवस्था ट्रेड हो । अर्को अर्थमा चाहनाको आदर्श अवस्थमा पुग्नु नै व्यापार हो । जब दुई देशबीच व्यापारको कुरा आउँछ मुलुकहरू युद्धजस्तै प्रतिस्पर्धा गर्दछन् । यस अवस्थामा एकबाट अर्को हारेको जस्तो देखिन्छ, अवसर वा फाइदा सकिएको महसुस गरिन्छ । अर्थशास्त्र यसलाई अर्को दृष्टिकोणबाट हेर्दछ । दुवै मुलुकबीच बराबर फाइदा नभए मुलकुहरू किन व्यापार गर्छन् त ? कुनै मुलुक अर्को मुलुकसँग तब मात्र सामान किन्छ, त्यो आफैँ बनाउनुभन्दा सस्तो पर्छ, दोस्रो देश यसकारण बेच्छ कि उसलाई फाइदा हुन्छ । व्यापारमार्फत दुवै मुलुक आफ्नो अवस्था मजबुत बनाउँछन् । जसरी व्यक्तिगत जीवनमा पनि हरेक कुरा आफूले नै गर्नु हुँदैन, आफू कुशल भएको कुरा मात्र गर्नुपर्दछ र अकुशल भएकोमा अर्कालाई लगाई आफ्नो कुशलतालाई बढावा दिनुपर्दछ । त्यसैले व्यापार युद्ध वा प्रतिस्पर्धा होइन, को–अपरेसन हो, विज्ञता आर्जन गर्ने कला हो जहाँ दुवै पक्ष लाभमा पुग्छन् ।

यहाँ उल्लेख गरिएका विषय शास्त्रीय होइनन्, आधारभूत हुन् । व्यक्तिलाई जसरी आधारभूत अर्थशस्त्रीय ज्ञान आवश्यक हुन्छ, सरकार यसलाई उपयोग गरी आर्थिक नीति तर्जुमा गर्छ, आर्थिक नीतिका चरणहरूलाई कसरी उपयोग गर्ने भन्ने विषयमा आधारभूत रूपमा सोच्न सक्छ । सरकारले अर्थशास्त्रलाई अर्थराजनीतिक आयामबाट हेर्छ । तर, के भुल्न हुन्न भने अर्थशास्त्रका आधारभूत नियमहरू स्वाभाविक छन्, तिनलाई जटिल बनाइनुहुन्न, न अस्वाभाविक रूपमा चलाउनु नै हुन्छ । (@mainaligopi)

salt training

कमेन्ट गर्नुहोस्