०८ साउन २०८३, शुक्रबार
आलेख

निवृत्त जीवनका चार वर्ष : पढाइ, लेखाइ र रूपान्तरणको अभियान

साउन २, २०८३
काठमाडौं
निवृत्त जीवनका चार वर्ष : पढाइ, लेखाइ र रूपान्तरणको अभियान

हुन त मैले निजामती सेवाबाट निवृत्त हुँदाका बखत नै आफूले भोगेका उतारचढावको बारेमा ६ महिनाभित्र पुस्तक प्रकाशन गरूँला भन्ने थियो । नेपालको प्रशासनिक इतिहासमा दलित समुदायबाट पहिलोपटक नेपाल सरकारको सचिव तहमा पुगेको कुराले पनि यो विषय रुचिको हुने भएर होला धेरै साथीभाइले यस्तो सुझाव दिनुभएको थियो । 

म २०४७ सालमा निजामती सेवाको शाखा अधिकृत (प्रशासन सेवामा) प्रवेश गर्दा नै समुदायबाट अरु कोही भएको मैले भेटेको थिइनँ । २०६७ सालमा सहसचिव हुँदा पनि पहिलो नै हुने मौका भयो भने नेपालको प्रशासनिक तहमा सबैभन्दा शक्तिशाली ठानिने प्रमुख जिल्ला अधिकारी हुँदा पनि पहिलो नै हुने मौका मिल्यो । म आफू एक कर्मचारी भएको हिसाबले यो पदोन्नति हुँदै उच्च तहमा पुग्नु मेरो लागि अवसर त हुने नै भयो तर राज्यको लागि भने यो लज्जास्पद कुरा हो भन्दै आएको छु । 

लोकतन्त्र प्राप्तिको यति लामो समयसम्म र गणतन्त्र आएकै दशक बित्दासम्म यति ठूलो जनसङ्ख्याको प्रशासनिक उच्च तहमा प्रतिनिधित्व नहुनु लज्जाबोधको कुरा हो । यसबाट हाम्रो प्रशासनिक प्रणाली ऐतिहासिक रूपमा कति असमावेशी चरित्रको छ भन्ने प्रस्ट हुन्छ । यस्तो शासकीय चरित्रलाई सामना गर्दै यो तहसम्म आइपुग्दा बेहोर्नु परेको अनगिन्ती अतिरिक्त हैरानी आफैंमा राज्य व्यवस्थाको एक इतिहास बनेको छ । यस्तै आरोह अवरोहहरू निजामती सेवाबाट निवृत्त भएको चौथो वर्षमा पुस्तकको रूपमा समेट्न सफल भएको छु ।   

नेपाल सरकारको विशिष्ट श्रेणी सचिव पद देख्दा ग्लामरस देखिए तापनि एक सीमान्तकृत दलित समुदायबाट यो तहसम्म पुग्दा बेहोर्नु परेको हैरानी बेग्लै छ। सचिव बढुवाको समय लोकसेवा आयोगको सिफारिसमा योग्यता क्रममा माथि हुँदाहुँदै दुईपटक तेस्रो वरीयताबाट स्वाभाविक प्रक्रिया र प्रचलित अभ्यासको विपरीत सचिव बढुवामा तानिएको कुराले राज्यको शासकीय चरित्र र राजनीतिक नेतृत्वको नस्लवादी व्यवहार उदाङ्गो भएको थियो । नेपालको प्रशासनिक इतिहासमा पहिलोपटक दलित समुदायबाट सचिव बढुवाको सिफारिसमा परेकोमा पहिलोपटकमै बढुवा पो हुन्छ कि भन्ने पनि लागेको थियो । तर कहाँ हुनु ‘जात जरिवाना’ यहाँ पनि भोग्नुपर्‍यो ! 

सिफारिसमा परेर दुईपटकसम्म बढुवा नहुँदा म त्यसबेलाका प्रभावशाली मन्त्रीहरूलाई सोध्न पनि गएको थिएँ । तर, जवाफ सुन्दा लाग्थ्यो हाम्रो मुलुक नियम कानूनले होइन हुकुमले चलिरहेको थियो । एक मन्त्रीको जवाफ थियो ‘अर्को उम्मेदवार छिटो निवृत्त हुने भएकाले उहाँलाई पहिला बढुवा गरेको ।’

त्यस्तै, अर्को मन्त्रीको जवाफ थियो ‘मुख्य सचिवको ब्रिफिङमा तपाईंको समय अर्थात् सेवा अवधि धेरै बाँकी छ भनेकाले उहाँलाई गरियो ।’

नेपालको प्रशासनिक इतिहासमा पहिलोपटक दलित समुदायबाट सचिव बढुवाको सिफारिसमा परेकोमा पहिलोपटकमै बढुवा पो हुन्छ कि भन्ने पनि लागेको थियो । तर कहाँ हुनु ‘जात जरिवाना’ यहाँ पनि भोग्नुपर्‍यो ! 

अर्थात् मेरो सेवा अवधि कटाएर अर्को वर्चश्वशाली समूहकै व्यक्तिलाई सुविधा दिइयो । राज्य सञ्चालनको त्यो तहमा पनि नस्लवादी पूर्वाग्रह भोग्नु पर्दाको चोट बेग्लै छ । म निजामती सेवाको त्यो तहमा पुगेको मान्छेलाई त जिम्मेवार पदाधिकारीबाट गैरकानूनी तथा संवेदनाहीन जवाफ दिन कति हिच्किचावट हुन्न भने आधारभूत जनतालाई दिने जवाफ कस्तो होला !? 

तेस्रो पटक पनि लोक सेवा आयोगको सिफारिसलाई समेत लामो समय थाती राखियो, सडक र सदनमा समेत कुरा उठेपछि बल्ल निर्णय भयो । यो कुरा मैले उजागर गर्नुको कारण संविधानमा लेखिएका कुराले हामी जति हौसिन्छौं शासकीय मनोवृत्तिका कारणले व्यवहारमा भने त्यसो हुँदैन रहेछ । यसलाई मैले एउटा पुस्तकमा उपनिवेशिक मनोवृत्ति (Colonized Mindset) भनेको छु । जेनजी आन्दोलन र अहिलेको रूपान्तरणको एउटा कारण यो पनि हो ।

हो यी र यस्तै उतारचढाव पुस्तकको रूपमा उजागर गर्नुपर्छ भन्ने साथीहरूको सल्लाह र आफ्नो पनि मन हुँदाहुँदै लेख्न सकेको थिइनँ । किनकि निवृत्त हुँदा बित्तिकै केही अन्य काम र सामाजिक न्यायको अभियानमा संलग्न हुनुपर्‍यो । यसबाट पनि धेरै अनुभव हासिल गर्न पाइयो । निवृत्त कर्मचारी म मधेश विश्वविद्यालयको संस्थापक डीन हुने मौका पाएँ । पढ्न पढाउन औधी मन पर्ने मान्छे । म बीचमा केही समय पूर्णकालीन प्राध्यापनमा थिएँ भने निजामती सेवाको दौरान पनि म निरन्तर अतिरिक्त समय प्राध्यापन तथा शैक्षिक कार्यमा संलग्न हुने गरेको थिएँ । 

निवृत्त भएको केही समयमै म अमेरिकाको एकामाई विश्वविद्यालयको प्राध्यापनमा संलग्न भइसकेको थिएँ । यी अनुभवका कारण मधेश सरकारले स्थापना गरेको विश्वविद्यालयमा कोर्ष बनाउन सघाउँदा सघाउँदै पहिलो डीनको जिम्मेवारी समाल्ने अवसर जुर्‍यो । तत्कालीन अवस्थामा शैक्षिक व्यवस्थापनको त्यो तहमा पुग्ने पनि समुदायको तर्फबाट सम्भवतः म नै पहिलो हुँला । नयाँ विश्वविद्यालय र पहिलो डीनको हैसियतले शैक्षिक कार्यक्रम संस्थापन गर्नुपर्ने जिम्मेवारी रहेकोले कामको चापमै परियो । यो अवधिमा ‘प्राचीन नेपालमा गणतन्त्रको अभ्यास’ पुस्तक सम्पादन गरी प्रकाशन गर्ने काम भने सकियो । यति हुँदाहुँदै पनि मैले विद्यार्थीकालदेखि लेख्दै आएका कविताको संग्रह ‘मान्छे र माटो’को दोस्रो संस्करण भने निवृत्त भएकै वर्ष प्रकाशन गर्न भ्याएको थिएँ; जसमा मेरा जीवनका केही भोगाइ र अनुभूति समेटिएका छन् ।

रैथानी शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनाको अभियानको नेतृत्व पनि गरिरहेकै थिएँ । त्यही सन्दर्भमा सरकारले पनि मेरै संयोजकत्वमा एक अध्ययन समिति बनायो । सरकारले समिति त बनायो बजेट व्यवस्था भने भएन । तैपनि आफ्नै अभियान भएकाले केही समय त्यसमा खर्चिनुपर्‍यो । 

त्यस्तै, सरकारले निजामती सेवा ऐन ल्याउने तरखरमा रहेकाले विषयको अध्येताका हिसाबले क्रियाशील रहनुपर्ने अवस्था भयो । मधेश विश्वविद्यालयमा एक शैक्षिक सत्र पूरा गरेपछि केही समय कोशी प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारलाई सघाउने काममा पनि संलग्न भएँ । त्यहाँ पनि केही तीतो अनुभव बटुल्नुपर्‍यो । समावेशिताबारे पाठ सिकाउने विदेशी परियोजनामा उनैका नीति अनुसार मेरिट प्रमाणित गरेर आएका सीमान्तकृत समुदायका कर्मचारीप्रति गरेको विभेदपूर्ण व्यवहारप्रति म सहनशील हुने कुरै भएन । अरु त अरु प्रतिष्पर्धामा एक नम्बरमा आएकी एक जना दलित महिलालाई सेवा प्रवेश गराउन समेत पापड बेल्नुपर्‍यो । एक जना सीमान्तकृत समुदायकी महिला कर्मचारीलाई अन्यायपूर्ण ढंगले कामबाट हटाइयो । यसले मलाई सारै पीडाबोध भयो । सो कुरा मैले माथिल्लो तहसम्म पुर्‍याएँ तर खास प्रभाव परेन । एक जनाको त श्रम अदालतमा मुद्दा नै चलिरहेको छ । 

तथापि त्यहाँ रहँदा मुख्य मुख्य पर्यटकीय गन्तव्यको अवलोकन गर्ने र पर्यटनसँग स्थानीय जनताको आर्थिक क्रियाकलाप जोड्ने उपाय खोज्दै सिक्दै सिकाउँदै हिँडियो । पूर्वका यस्तै तीता मीठा अनुभवसाथ करिब दश महिनापछि म फर्किएँ । त्यही बेला सरकारबाट केही जिम्मेवारीका लागि बोलाहट समेत भएको थियो तर राजनीतिक झोलेहरूको भिडमा मेरो स्वभाव, अनुभव र उत्तरविद्यावारिधिको मेरिट समेत फिक्का भयो ।

चेपाङ बस्त‍ीमा रैथाने उत्पादन र सामुदायिक वित्तीय सेवाबारे छलफल गर्दै ।

एकामाई विश्वविद्यालयसँगको आबद्धता छँदै थियो । त्यति बेलासम्म रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान मेरै संयोजकत्वमा स्थापित भई उक्त विश्वविद्यालयसँग शैक्षिक कार्यक्रमका लागि सहकार्य गर्ने समझदारी भइसकेको थियो । अनि त फेरि लेखाइ, पढाइ र सामाजिक जीवनमै धेरै समय खर्चिने समय मिल्यो । आफ्नै अनुसन्धान अनुसार संस्थापन गरिएको लघुवित्त संस्थाको नेतृत्वको जिम्मेवारी पनि छँदै थियो । यसमार्फत गाउँघरका विपन्न समुदायलाई वित्तीय पहुँच पुर्‍याउनु थियो । तर हाम्रा नीतिगत अवरोधले गर्दा चाहे जति सेवा विस्तार गर्न भने सकिएको छैन ।

यही क्रममा जेनजी आन्दोलन हुन पुग्यो र माहोल एक प्रकारले क्रमभङ्ग भयो । जेनजी भाइबहिनीलाई आफ्नो तहबाट काउन्सेलिङ गर्न आवश्यक ठानेर त्यसमा भदौ २५ गतेदेखि नै संलग्न भएँ, कतिलाई सिधै र कतिपयलाई सामाजिक सञ्जाल तथा विद्युतीय प्रकाशनमार्फत् । यही क्रममा कस्सो नागरिक सरकारको मन्त्री पनि भइएन ! तर त्यस्ता नवयुवाको रगत र सिंहदरबारको खरानी देखेर त्यति उत्सुकता जागेन । त्यतिबेला म अलि बढी भावुक भएछु क्यारे । तथापि जेनजी भाइबहिनीहरूलाई सल्लाह सुझाव दिँदै आन्दोलनको लयमा डोर्‍याउने काममा भने निरन्तर लागियो । 

दलित जेनजी अलाइन्सले त मलाई सल्लाहकार परिषद्को अध्यक्ष नै बनायो । अनि, निर्वाचनको तयारीमा मुलुक नै लाग्नु स्वाभाविकै थियो । नयाँ परिवेशमा सामाजिक न्याय र समावेशिताको सवाललाई संवेदनशील बनाउन आवश्यक ठानी अभियानकै रूपमा नागरिक समाज र जेनजी एलाइन्ससँग अघि बढाइयो । विभेद विरुद्धको आन्दोलनलाई अन्तर्राष्ट्रिय अभियानसँग जोड्न अंग्रेजी बुलेटिन ‘Voiceless Voices’को थालनी दुई वर्ष अघि नै गरेको थिएँ । मुलुकको परिवेश र अन्तर्राष्ट्रिय सवाल निरन्तर पस्किनु पर्ने त थियो नै समसामयिक विषयको लेखन तथा प्रस्तुतीकरणमा पनि उत्तिकै तीब्रता दिनु थियो । 

यही सन्दर्भमा ‘समानुपातिक समावेशिता जेनजी आन्दोलनको अपेक्षा र संरचनात्मक रूपान्तरण’ पुस्तक राष्ट्रिय दलित कर्मचारी समाजबाट प्रकाशन भयो । निर्वाचनका बेला यो पुस्तक आउनु विचार निर्माणका लागि एकदमै समय सान्दर्भिक भयो भन्ने लाग्छ । यी विभिन्न कुराले गर्दा आफ्नै बारेमा लेख्ने कुरा भने पछि परिरह्यो । तर साथीभाइ शुभचिन्तकबाट लेख्ने सुझावको दबाब भने कायम नै थियो । तसर्थ पुरै आत्मवृतान्त तयार गर्न हाल नसके पनि मेरो बारेमा, मेरो जीवन विशेष गरी पेशागत जीवनको आरोह अवरोहका बारेमा प्रकाशित भएका लेख अन्तर्वार्ता समेटेर ‘राज्य, समावेशिता र विषम-यात्रा’ नामक मेरो छब्बिसौं पुस्तक हालै प्रकाशित गरेको छु । यसले मेरो जीवनको ठूलो हिस्सा समेटेको छ । यसका अतिरिक्त समसामयिक विषयका फुटकर लेख पनि निरन्तर आइरहेकै छन् ।

पुस्तक विमोचनका क्रममा जेनजी आन्दोलनका घाइते प्रकाश बोहोराका साथ ।

जेनजी आन्दोलनपछिको निर्वाचनबाट जनताले नयाँ विशेषत: युवा पुस्तालाई मुलुकको जिम्मेवारी सुम्पेका छन् । मुलुकको राज्य सञ्चालनको केन्द्रमा मधेशीमूलको व्यक्तिलाई पुर्‍याएको छ । अलि ठूला आन्दोलनले केही न केही ‘ब्रेक थ्रु’ गर्दा रहेछन् । जेनजी आन्दोलनले पनि पहिलो पटक अन्तरिम सरकारमा महिला र निर्वाचनबाट मधेशीमूलको प्रधानमन्त्री बनाएको छ; जुन सामान्यत: सोचिएको कुरा थिएन । यसले समावेशिताको ठूलो सन्देश अन्तर्राष्ट्रिय जगतलाई नै पुर्‍याएको छ । यसले युगौंदेखि बहिष्करणमा परेका समुदायमा आशाको दियो पनि जगाएको छ । तर जब ‘मेरिटोक्रेसी’को परम्परागत सिद्धान्तबाट राज्य संरचनामा भटाभट नियुक्ति गर्न थालियो ती समुदायको आशाको दियोमा पानी परे जस्तो हुन थालेको छ । कतिपयले त जेनजी आन्दोलनले राज्य संरचनामा वर्चश्वको पुस्तान्तरण गरेर सत्तामा वर्चश्वलाई झन बलियो बनायोसम्म भने । 

वास्तवमा पुरातन ‘मेरिटोक्रेसी’ शासनमा पूँजीपति घरानीयाको वर्चश्व कायम राख्ने नवउदारवादी अस्त्र नै हो जुन ‘अक्सफोर्ड मेरिटोक्रेसी’बाट शुरू भएको थियो । तर ‘ह्वाइ नेसन्स फेल’ भन्ने पुस्तकमा जबसम्म मुलुकका सार्वजनिक संरचना समावेशी हुँदैनन् तबसम्म जति देखावा गरे पनि मुलुक समृद्ध हुन सक्दैन भन्ने ठोकुवा गरिएको छ । पुरातन ‘मेरिटोक्रेसी’ले राज्यका संरचनालाई दोहोनकारी अस्त्रमा बदलिदिन्छ भनिएको छ । फलस्वरूप मुलुकले ठूलो नोक्सानी बेहोर्नुपर्छ र मुलुकलाई असफलतातर्फ धकेलिरहन्छ । 

हाम्रोमै पनि उच्च शिक्षा हासिल गरेका दलित युवा महिनौंदेखि माइतीघर मण्डलमा आधारभूत समानताको माग राखेर आन्दोलनरत छन् । प्राविधिक शिक्षा हासिल गरेका गणेश नेपालीजस्ता युवाले आत्मदाहको बाटो समाउनु परेको छ । उत्पादन प्रणालीमा लाग्नुपर्ने यस्ता युवा लामो समय आधारभूत समानताका लागि आन्दोलनमा बिताउँदा हुने नोक्सानीको गणना कसले गर्ने ?

यसैले गर्दा सरकारी गणनाले नै भन्छ- प्रत्येक वर्ष मुलुकले २५.२ प्रतिशतले मानव विकास नोक्सानी बेहोर्नुपरेको छ । अत: यी विषयमा युवा पुस्ताले पक्कै पनि बुझ्नेछन् र मुलुकलाई समावेशी चरित्रमा ढाल्नेछन् । सरकारको सय दिन भर्खर कटेको छ । समीक्षा र सुधार हुँदै जाला । 

यही क्रममा नयाँ सरकारले एउटा काम दिएको छ । निवृत्त भएको चार वर्षपछि आफूसँग भएका पुराना अभिलेख खोज्नु पर्ने भएको छ । २०४३ सालमा जागिरमा प्रवेश गरेको कति कागज हराए कति भेटिए । राज्यको अभिलेख राख्न दत्तचित्त हुँदा आफ्नै अभिलेख भने राख्न भुलिएको रहेछ । तथापि, भेटिएका पुराना कागजसँगै विस्मृतिमा हराएका कति कुरा ताजा भएर आए । पुराना कागज खोज्ने क्रममा कतिपय लेख्दालेख्दै छुटेका अधुरा कविता भेटिए । यही क्रममा पछिल्लो समय काम गरेका कतिपय कार्यालय चहारियो । आफू बसेर काम गरेको ठाउँ र कतिपय ठाउँमा तिनै कुर्चि टेबल देख्दा मन प्रफुल्ल भएर आयो । कार्यरत नयाँ साथीहरूसँग नयाँ परिवेशका बारेमा गफ्फिने मौका मिल्यो । साथीहरूको सद्‌भाव र सहयोगले मन रमायो । चाहे जे होस् पहिलो पटक आफ्नो पेशागत जीवनको मौद्रिक मूल्य गणना गरियो ।

पछिल्लो समय नयाँ विधाको अनुभव गर्ने पनि मौका मिल्यो । लघुवित्तका लागि ‘जनउत्थान सामूहिक गीत’ र ‘मान्छे र माटो’ कविता संग्रहमा संग्रहित ३ वटा गीतले स्वर र संगीत पाए । स्वर र संगीत भर्ने चाँजोपाँचो मिलाउने दीपक दाइ, सुरेश सेन्चुरी र अर्जुन कौशलप्रति आभारी छु । सबैभन्दा महत्त्वपूर्ण कुरा परिवारमा नयाँ सन्तान आउँदैछ, बाउबाट हजुरबाउ भइँदैछ । मन उत्साहित भएको छ । समयले कोल्टे फेर्दैछ । जय होस !

(नेपाल सरकारका पूर्वसचिव फूलब्राइट स्कलर डा. बीके मधेश विश्वविद्यालयका पूर्व डीन हुन् )

salt training

कमेन्ट गर्नुहोस्