
बागमती प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन गरिएको छ। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा कार्यविभाजन गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।
कार्यविभाजनअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधुसूदन पौडेललाई कृषि, पशुपन्छी तथा वातावरण मन्त्रालय, शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय तथा विन्दु श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
किरण थापामगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र विष्णु रायमाझी पौडेललाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयको विज्ञप्तिमा उल्लेख छ।
यसअघि गत वैशाखमा बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन मन्त्रालयको संख्या कटौती गर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन भएसँगै बागमती प्रदेशका १४ मन्त्रालय घटाएर आठ मन्त्रालय कायम गरिएको छ।