
काठमाडौँको सडकमा एक युवती लोकसेवा आयोगको किताब बोकेर भविष्यको सपना बुनिरहेकी थिइन्। उनको गन्तव्य स्पष्ट थियो– निजामती सेवाको एउटा प्रतिष्ठित पद, सुबिस्ताको जीवन र परिवारको खुसी। तर, परिस्थिति या एउटा मोड यस्तो आयो, जसले उनको हातको किताब खोसेर न्यायको ब्यानर थमाइदियो। ती युवती थिइन् लक्ष्मी घिमिरे, जो आज मिटरब्याज र लघुवित्तको शोषणविरुद्ध एउटा खम्बा बनेर उभिएकी छन्।
उनी विराटनगरबाट काठमाडौँ लोकसेवाको तयारीका लागि गएकी थिइन्। नायब सुब्बा बन्ने उनको सपना थियो। एक समय उनी जागिर गर्दै पनि आन्दोलनमा सरिक भइन्।
लक्ष्मीको यो यात्रा कुनै योजनाबद्ध थिएन, यो त एउटा हृदयविदारक दृश्यले उब्जाएको विद्रोह थियो। २०७९ सालको कुरा हो, जब तराई–मधेशका जिल्लाबाट सयौँको सङ्ख्यामा मिटरब्याज पीडितहरू खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगे। उनीहरू शान्ति वाटिकामा धर्ना दिइरहेका थिए। लक्ष्मी ऐक्यबद्धता जनाउन त्यहाँ पुगिन्। जब उनले ती पीडित आमा र दिदीबहिनीहरूका फुटेका पैताला देखिन्, उनको मुटु जिरिङ्ग भयो।
ती पैतालाहरू केवल धुलोले भरिएका थिएनन्, त्यसमा चिराचिरा परेका घाउहरू थिए र हरेक घाउले एउटा कारुणिक कथा भनिरहेका थिए। लक्ष्मीले त्यहाँ पीडित आमाहरूका पैतालामा आफ्नै आमाको आकृति देखिन्। उनलाई लाग्यो, ‘मेरी आमाले पनि त मलाई यहाँसम्म ल्याउन यस्तै संघर्ष गर्नुभएको थियो, यदि मेरी आमाको ठाउँमा यी आमाहरू भइदिएको भए?’ त्यही एउटा भावनात्मक धक्काले लक्ष्मीलाई सुब्बाको तयारी गर्ने कोठाबाट निकालेर सडकको अभियन्ता बनाइदियो।
मिटरब्याजको जालो कति कुरूप र डरलाग्दो हुन्छ भन्ने कुरा लक्ष्मीले आन्दोलनका क्रममा नजिकबाट भोगिन्। गाउँघरमा लघुवित्त र साहुमहाजनहरूले कसरी आर्थिक आतङ्क मच्चाएका छन् भन्ने सुन्दा जोकोहीको पनि आङ जिरिङ्ग हुन्छ।
लक्ष्मीका अनुसार, कतिपय लघुवित्तहरूले १५–१५ दिनमा किस्ता बुझाउनुपर्ने नियम लादेका छन्। गरिब किसान, जसको आम्दानीको कुनै निश्चित स्रोत हुँदैन, उनीहरूले हरेक १५ दिनमा हजारौँ रुपैयाँ बुझाउनु पर्छ। यदि एउटा किस्ता ढिलो भयो भने ब्याजमा हर्जाना थपिन्छ र त्यो हर्जानालाई फेरि साउँमा जोडेर नयाँ ऋण खडा गरिन्छ।
यो यस्तो दुश्चक्र हो, जहाँ एकपटक फसेपछि मान्छे बाचुञ्जेल निस्किनै सक्दैन। लक्ष्मीले भोगेका र सुनेका कथाहरूमा त झन् भयावह दृश्यहरू छन्। ऋण असुल्न फाइनान्सका कर्मचारीहरूले पीडितको घरको टिनको छाना उखेलेर लैजाने, गोठका कुखुरा र सुँगुरका पाठापाठी खोस्ने र दराजसमेत बोकेर हिँड्ने गरेको थाहा पाइन्। महिलाहरूको अपमान गर्नु र उनीहरूका लुगा च्यात्नु साहुहरूका लागि सामान्य जस्तै बनेको थियो। यो केवल ऋणको कुरा मात्र थिएन, यो त गरिबको अस्मिता र बाँच्न पाउने अधिकारमाथिको निर्मम प्रहार थियो। मिटरब्याजभन्दा बढी समस्या लघुवित्तहरूमा रहेको उनले बताइन्।

लक्ष्मीको स्वरमा एउटा गम्भीर पीडा सुनिन्छ, जब उनी आन्दोलनका क्रममा ज्यान गुमाउने सहिदहरूको कुरा गर्छिन्। ती नामहरू केवल तथ्याङ्क मात्र होइनन्, ती त न्याय नपाएर छटपटाउँदै निभेका जिन्दगीहरू हुन्।
विराटनगरकी शान्तिदेवी महतोको कथा लक्ष्मी कहिल्यै बिर्सिन सक्दिनन्। जम्मा डेढ लाख ऋण लिएकी ती आमाले साढे चार लाखभन्दा बढी तिरिसकेकी थिइन्, तर साहुको भोक मेटिएको थिएन। साहुले उनको घरजग्गा हडप्यो र घरबाट निकाल्न मानसिक र शारीरिक प्रताडना दियो। अन्ततः न्यायको ढोका ढक्ढकाउँदा ढक्ढकाउँदै थाकेकी शान्तिदेवीले आत्महत्याको बाटो रोजिन्।
मोरङकै विनी सोनारले त जिल्ला कार्यालयमै विष सेवन गरिन्। कसैलाई खुकुरीले काटियो, कसैलाई सङ्गठित रूपमा हत्या गरियो। यी सबै घटनाहरूले लक्ष्मीलाई भित्रैदेखि जलायो। उनले बुझिन् कि यो लडाइँ अब केवल लक्ष्मीको मात्र रहेन, यो त ती तमाम मृत आत्माहरूको न्यायका लागि पनि हो।
न्याय पाउन काठमाडौँको सडकमा बस्नु मात्र पर्याप्त थिएन। सत्ताले सजिलै सुन्दैन। उसलाई सुनाउन ठूलै गर्जन चाहिन्छ भन्ने लक्ष्मीले बुझिन्। त्यसैले उनीसहितको टोलीले नेतृत्व गरेको समूहले पैदल न्याय मार्गको कठिन बाटो रोज्यो। २०७९ सालमा बर्दिबासबाट सुरु भएको पहिलो यात्रा, त्यसपछि २०८० माघ १६ गते मेची र महाकालीबाट एकैसाथ सुरु भएको ऐतिहासिक पैदल यात्रा— यी सबैका साक्षी लक्ष्मीका पाइलाहरू छन्। पूर्वको झापा मेची पुल र पश्चिमको कञ्चनपुर गड्डाचौकीबाट मसाल बालेर सुरु भएको त्यो यात्रा २३ दिनसम्म निरन्तर चल्यो। खुट्टामा ठेला उठे, चिसोले शरीर काँप्यो, तर उनीहरूको सङ्कल्प डगमगाएन। ५१औँ दिनमा जब पूर्व र पश्चिमको टोली काठमाडौँमा मिलन भयो, त्यो एउटा यस्तो दृश्य थियो– जसले राज्यको शक्तिलाई चुनौती दिइरहेको थियो। लक्ष्मी सम्झिन्छिन्, ‘हामी न्यायका लागि हिँडिरहेका थियौँ, हाम्रा खुट्टाका घाउहरूले हामीलाई थकाउन खोज्थे, तर पीडितहरूको आँसुले हामीलाई ऊर्जा दिन्थ्यो।’

आन्दोलनका क्रममा लक्ष्मीले धेरै गृहमन्त्रीहरू फेरिएको देखिन्। नारायणकाजी श्रेष्ठको पालामा भएको पहिलो सहमति, रवि लामिछानेको पालामा भएको दोस्रो प्रयास र हालै सुदन गुरुङको पालामा भएको तेस्रो सहमति– लक्ष्मी हरेक वार्ताको टेबलमा चट्टान बनेर उभिइन्। साहुहरूले राजनीतिक संरक्षण पाएका हुन्थे, कर्मचारीतन्त्रमा उनीहरूको सेटिङ हुन्थ्यो, तर लक्ष्मीले एउटै कुरामा अडान लिइरहिन्— ’गरिबको तमसुक च्यात्नु पर्छ, फर्जी लिखत खारेज हुनुपर्छ।’
उनले वार्ताको कोठाभित्रै पनि साहुहरूको दादागिरी र कर्मचारीहरूको आलटाल भोगिन्। एउटा सहमतिपत्र प्रिन्ट गर्न पनि दुई–दुई घण्टासम्म कुराउनु राज्यको कस्तो विडम्बना थियो! केही दिनअघि काठमाडौँमा भएको मिटरब्याज पीडित र सरकारबीच भएको वार्तामा उनी पनि थिइन्। सहमति भएपछि पनि सहमतिपत्र प्रिन्ट गर्न कार्यकक्षमा छिरेका सचिव २ घण्टासम्म हराएका थिए।
तर लक्ष्मीले हरेस खाइनन्। आज ५५ हजारभन्दा बढी उजुरीहरू दर्ता भएका छन् र यो आन्दोलनले मिटरब्याजलाई आर्थिक अपराधका रूपमा स्थापित गरेको छ। हिजो गाउँको एउटा कुनामा दबिएर रहेको यो मुद्दा आज राष्ट्रिय बहसको केन्द्र बनेको छ, यसको श्रेय लक्ष्मीजस्ता अभियन्ताहरूलाई नै जान्छ।
यति धेरै संघर्ष र सफलताका बाबजुद लक्ष्मी अझै ढुक्क छैनन्। उनलाई थाहा छ, सिंहदरबारमा भएका हस्ताक्षरहरू गाउँको साहुको दैलोसम्म पुग्न निकै कठिन छ। सहमति हुनु एउटा सकारात्मक सुरुवात त हो, तर यसको कार्यान्वयन नै असली परीक्षा हो। कतिपय पीडितहरूको जग्गा फिर्ता भएको छ, घर फर्कने वातावरण बनेको छ, तर अझै हजारौँ मानिसहरू साहुको डरले गाउँ छोडेर विस्थापित जीवन बिताइरहेका छन्।

लक्ष्मी भन्छिन्, ‘सहमति त भयो, तर जबसम्म अन्तिम पीडितको तमसुक च्यातिएर उसले आफ्नो जमिन फिर्ता पाउँदैन, तबसम्म मेरो यो पैदल यात्रा रोकिने छैन।’ उनी आज पनि उस्तै ऊर्जाका साथ लघुवित्त पीडितहरूको व्यवस्थापनमा जुटेकी छन्।
लक्ष्मी घिमिरे केवल एउटी अभियन्ता मात्र होइनन्, उनी त ती तमाम सीमान्तकृत नेपालीहरूको आवाज हुन्, जिसको राज्यले देखेन र साहुले बाँच्न दिएन। उनले सडकको धुलो रोजिन्, तर त्यो धुलोमै उनले मानवताको असली सेवा भेटिन्।
एउटी छोरीले कसरी आमाहरूको आँसु पुछ्न एउटा साम्राज्यसँग लड्न सक्छेशी भन्ने उदाहरण लक्ष्मीले पेस गरेकी छन्। उनका पाइलाहरू अझै थाकेका छैनन् र जबसम्म नेपालका गाउँबेसीबाट मिटरब्याजको यो दुष्चक्र पूर्णरूपमा अन्त्य हुँदैन, यो न्यायको महासंग्राम जारी रहने उनी बताउँछिन्।