
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा आठ वर्ष पुगिसक्दा पनि प्रहरीको अनुसन्धान पूरा हुन सकेको छैन । आठ वर्षअघि आजकै दिन (२०७५ साउन १०) निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव निम्बुखेडाको उखुबारीमा भेटिएको थियो ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमै चासोको विषय बनेको निर्मला प्रकरणमा प्रहरी संयन्त्र निरन्तर अनुसन्धानमा रहे पनि हत्यारासम्म पुग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका साथै प्रहरीको माथिल्लो तहबाट प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली अझै पनि घटनामा विभिन्न कोणबाट अनुसन्धानरत छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निर्मला प्रकरणमा प्रहरीको अनुसन्धान जारी रहेको बताए ।
‘यो प्रकरणमा प्रहरी संगठनले सघन रूपमा लामो समयदेखि अनुसन्धान गर्दैछ,’ प्रवक्ता रावतले भने, ‘प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट पनि गम्भीर चासोका साथ विभिन्न कोणबाट अनुसन्धान जारी छ ।’
हरेकजसो सरकार गठन हुँदा निर्मलाको न्यायका लागि आवाज उठ्ने गरेको छ । निर्मला प्रकरणले उग्ररूप लिँदा महेन्द्रनगरमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ भगतपुरका सन्नी खुनाले ज्यान गुमाएका थिए ।
सयौं व्यक्तिलाई अनुसन्धानको घेरामा ल्याइएको थियो । डिएनए परीक्षणदेखि सुरक्षाकर्मीसमेत अनुसन्धानमा तानिएका थिए । माथिल्लो तहबाट छानबिन समिति गठन हुनेदेखि राज्यले गम्भीर भएर घटनाको अनुसन्धान जारी राखेको भए पनि अभियुक्तको पहिचान गरी कानुनी दायरामा ल्याउन भने आठ वर्ष बित्दासमेत सकिएको छैन ।