पूर्व राजा ज्ञानेन्द्रले भने- देशको अस्तित्व नै खतरामा रहेकाले सम्हालिएर अघि बढ्नु

पुस २७, २०७४

काठमाडौं, २७ पुस– पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको २९६ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिँदै अहिले देशको अस्तित्व नै खतरामा रहेकाले सम्हालिएर अघि बढ्नु पर्ने बताएका छन् । 
शुभकामना सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले मानवसमाजको समष्टिगत एकता, मौलिक सँस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानको समग्र रुप देश रहेको र देश बाँचे मात्रै नागरिक बाँच्ने उल्लेख गरेका छन् । 


नयाँ नेपालको सपना देखाउँदै भएको राजनीतिक परिवर्तनले देशको विशिष्ट पहिचानलाई उचो बनाउनुको साटो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किँदै गएको शुभकामना सन्देशमा उल्लेख छ । स्वतन्त्र र सार्वभौम देशका लागि भौगोलिक एवम् सामाजिक एकताको कडीमा नागरिक रहनु पर्ने र साशनसत्ता पनि त्यहि अनुरुपको हुनु पर्नेमा उनले जोड दिएका छन् । 


अहिले देशको अस्तित्व नै खतरामा रहेकाले सम्हालिएर अघि बढ्नु पर्ने उनको भनाइ छ । उनले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएकोमा खुशी व्यक्ति गर्दै देश राम्रो बन्ने आशाको दियो जागेको बताएका छन् । 

पुस २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस