ओली र प्रचण्ड मिल्दा विश्वभरका कम्युनिस्टमा तरंग पैदा भएको छ : पल्लव सेन [अन्तर्वार्ता]

जेठ १७, २०७५

रक्षात्मक अवस्थामा पुगेको विश्व कम्युनिस्ट आन्दोलनलाई उर्जा दिनको लागि संसारभरका कम्युनिस्ट नेताहरूबीच बेलाबेलामा सेमिनार, गोष्ठी र भेलाहरू हुने गरेका छन् । संसार बदल्ने दर्शनशास्त्र मानिएको ‘मार्क्सवाद’मा त्यस्ता के कमजोरी छन्, जसले अघि बढ्नु पर्ने कम्युनिस्ट आन्दोलन झन् झन् धरासायी भइरहेको छ ? यो प्रश्नको उत्तर सर्वाहाराको नेतृत्व गर्ने नेताहरूका लागि सम्भवतः सबभन्दा कठिन प्रश्न हो । कार्ल मार्क्स द्वीशतवार्षिकीको अवसरमा नवगठित पार्टी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले काठमाडौँमा आयोजना गरेको ‘सेमिनार’मा  विश्वभरबाट कम्युनिस्ट पार्टीका नेताहरु सहभागी भएका छन् । उनीहरु मध्येका एक हुन् भारतीय कम्युनिस्ट पार्टी (भाकपा)का नेता पल्लव सेनगुप्ता । सेनसँग लोकान्तरका प्रतिनिधि ईश्वर अर्यालले कुराकानी गरेका छन् । प्रस्तुत छ भाकपाका नेता सेनगुप्तासँग गरिएको कुराकानीको सम्पादित अंश –

विश्व कम्युनिस्ट आन्दोलनमा भारतीय कम्युनिस्ट पार्टीको स्थान कहाँनेर पाउनुभएको छ ? 

भारतीय कम्युनिस्ट पार्टी १९२५ को डिसेम्बर २६ मा भारतको कानपुरमा स्थापना भएको हो । त्यो भन्दा अगाडि हामी ‘कमिन्टर्न’को सदस्य थियौं । कमिन्टर्न भनेको‘तेस्रो अन्तराष्ट्रिय’ जसले त्यति बेलाको अन्तराष्ट्रिय साम्यवादी संगठनको रूपमा संसारभर आफ्नो जालो फैलाइरहेको थियो । यो संगठन सन् १९४३ सम्म रह्यो तर पार्टी स्थापना ताका हाम्रा नेता सत्यभक्तले हाम्रो संगठन राष्ट्रिय कम्युनिस्ट मात्र हुने घोषणा गर्नुभएको थियो । त्यसले संसारमा हाम्रो आफ्नो छुट्टै परिचय दियो । स्थापनाकालको शुरूमा हामी स्वतन्त्रता संग्रामको लागि लड्यौं, सीमान्तीकृत समुदायको लागि लड्यौं । भारतीय कम्युनिस्ट पार्टीलाई विश्वमा छुट्टै पहिचान दियौं । विश्वभर भारतीय कम्युनिस्ट पार्टीको रूपमा धेरै वैचारिक, व्यावहारिक योगदान पनि गरेका छौं ।

बीचमा आएर हाम्रो पार्टी फुटेर नयाँ पार्टीको रूपमा भाकपा–मार्क्सवादी आयो । त्यसपछि पनि नेपालमा जस्तै धेरै समूहहरू बन्ने क्रम रोकिएन । अहिले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावको आधारमा थोरै ‘सेट ब्याक’ भएको जस्तो देखिएको छ । नयाँ उर्जा लिएर पुरानै तरिकाले जनताको पार्टी बनेर आउने कोशिसमा छौं हामी । केही समय लाग्ला तर हामी थाकेका छैनौं ।

एकता त महाधिवेशनपछि भएको मानिनेछ तर अहिले यो एकता मात्र नभएर त्यो भन्दा कैयौं गुणा ठूलो उपलब्धि हो जस्तो लाग्छ ।

कम्युनिस्ट पार्टीहरू सजिलै फुट्ने विश्वव्यापी रोगलाई कसरि निवारण गर्न सकिन्छ ? 

(हाँस्दै) हो यो तपाइँले भने जस्तै एक प्रकारको रोग हो । रोग भन्दापनि यो कम्युनिस्ट आन्दोलनको एक दुखद् पक्ष हो । कम्युनिस्टहरू फुट्नको लागि ठूला कारणहरू चाहिँदैन । चिनियाँ कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण अलग भयो भने फुट्ने, रुसलाई हेर्ने दृष्टिकोण अलग भए पनि फुट्ने, देशभित्रकै समस्या सामाधान गर्ने विधि मिलेन भने पनि सजिलै फुट्ने । मेरो विचारमा नेपालमा पनि यस्तै हुने गर्दछ र संसारभरि नै कम्युनिस्टहरू यही र यिनै कारणले नयाँ नयाँ पार्टी बनाउने गर्दछन् । 

विशेष गरेर सोभियत युनियनको पतन भएर त्यहाँ खुला र उदारवादी नीति लागू भएपछि त्यहाँको अर्थव्यवस्थालाई हेर्ने दृष्टिकोण फरक पर्ने गरेको छैन । तर पद प्रतिष्ठा, सरकारमा सहभागी हुने विषय जस्ता कुराहरू लिएर फुट्ने प्रक्रिया गलत हो, कम्युनिस्ट भन्नेहरूमा पहिला यो चेतनाको विकास हुनुपर्छ ।

बल प्रयोग गरेर सत्ता गर्नुपर्छ भन्ने सिद्धान्त मार्क्सको आधारभूत सिद्धान्त हो । विगतमा नेपालमा भएको दशक लामो माओवादी सशस्त्र संघर्ष र भारतमा चलिरहेको ‘नक्सलवादी’ विद्रोहसँग यहाँहरूको आपत्ति हुनुपर्ने कुनै विषय छ र ? 

मेरो विचारमा बहुदलीय व्यवस्थालाई अहिलेको युगमा कसैले विस्थापन गर्न सक्दैन । प्रतिस्पर्धाले नै सक्षम नेतृत्व छान्न सक्छ भन्ने विश्वास गर्छु म चाहिँ । नक्सलवादी विद्रोह केही समय फैलिएको जस्तो देखिएको थियो, तर त्यसको सुखद् अन्त्य गर्न मूलधारको राजनीतिमा समाहित हुनु बाहेक अर्को विकल्प छैन । नेपालको तत्कालिन माओवादी विद्रोह पनि नक्सलवादीसँग प्रभावित रहेको कुरा प्रष्ट छ ।

बहुदलीय प्रतिस्पर्धा गर्दै शान्तिपूर्ण राजनीतिको आधारमा पनि ‘समाजवाद’स्थापना गर्न सकिन्छ भन्ने बुझेर नै माओवादीको मूल नेतृत्व सरकारमा आयो जुन खुशीको कुरा थियो । मार्क्सवादले‘बल प्रयोग’मा जोड दिन्छ तर वैचारिक बल प्रयोग गर्नुपर्यो । शासकवर्ग कसरी प्रतिरक्षामा उत्रिएको छ भन्ने कुरा महत्त्वपूर्ण हो । हतियारको प्रयोग मात्र बल प्रयोग होइन ।

यदी मार्क्सवाद वैज्ञानिक तरिकाले जीवन जिउने कला हो, राजनीतिक घोषणापत्र मात्र होइन भने संसारमा यो वैचारिक दर्शनले किन प्रभावकारी उपस्थिति जनाउन नसकेको हो ? 

संसारमा मार्क्सवादको प्रभावकारी उपस्थिति छैन भन्ने मलाई लाग्दैन । यसको इतिहास धेरै पुरानो छ । संसारभर ‘रुसी र चिनियाँ मोडेल’को बारेमा मात्र धेरै छलफल हुने गर्दछ । रुसी मोडेल पतन भयो यसकारण संसारबाट मार्क्सवाद पतन भयो भन्ने मान्न म तयार छैन ।  हामीले क्युवा, भेनेजुएला हेर्नुपर्छ त्यहाँ समाजवादमा मानिसहरूको विश्वास बढिरहेको छ र संसारलाई प्रभाव पारिरहेको छ । पछिल्लो समय नेपाललाई नै हेर्न सकिन्छ ।

भारतमा कम्युनिस्टहरूको धर्म सम्बन्धि धारणामा विविधता पाइन्छ । अरू कुराहरूलाई समान रूपमा लिएपनि धर्मले कम्युनिस्ट विचार धारामै प्रभाव जमाएको छ । अहिलेको मोदी सरकारले धार्मिक अस्त्रको आवरणमा धेरै प्रदेशहरूमा राजनीतिक कब्जा जमायो, त्यसको प्रतिकार कसरी गर्ने भन्नेमा हामी तयार थिएनौं फलस्वरूप हामी सेटब्याक भयौं । 

नेपालको इतिहासकै महत्त्वपूर्ण परिघटनाका रूपमा रहेको दुई ठूला पार्टीहरूको एकतालाई हामीले मात्र होइन, सारा संसारले नजिकबाट हेरिरहेको छ । दक्षिण एसियामा लगभग सबै देशमा एक भन्दा धेरै कम्युनिस्ट पार्टीहरू छन्

नेपालका कतिपय विद्वानहरूले नेपालका कम्युनिस्टहरू ‘कम्युनिज्म’को आवरणमा साम्राज्यवादी र विस्तारवादीहरूको सेवा गर्छन् भनेर भन्ने गर्छन् । तर भारतीय आँखाबाट यहाँका कम्युनिस्ट पार्टीहरू कस्ता देखिन्छन् ? 

त्यो समाजवादी शासनव्यवस्थाको विरुद्धमा लाग्नेहरूले फैलाएको भ्रम हो । उनीहरूले कम्युनिस्टको लोकप्रियतालाई मन पराउँदैनन् । अहिले नेपालमा कम्युनिस्ट पार्टी सत्तामा आएको ‘पपुलर भोट’को कारणले हो ।

कुनै हतियार, डर धम्कीको भरमा कुनै पार्टी या समूहले यत्रो ठूलो आकार प्राप्त गर्न सम्भव छैन । यसलाई कसरी तोड्ने भनेर जो–जो लागिरहेका छन्, नेपालको कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्नेहरू तिनै हुन् ।

भारतमा पनि यो समस्या छ । ‘सिर्फ नामके वास्ते कम्युनिस्ट है’ भनेर हामीलाई पनि धेरैले होच्याउने गर्दछन् । तर भारतीय कम्युनिस्ट आन्दोलनलाई न त सच्चा नेपाली कम्युनिस्टले होच्याउँछन्, न त नेपाली कम्युनिस्टहरूलाई सच्चा भारतीय कम्युनिस्टहरूले होच्याउँछन् ।

नेपालको राजनीतिक संक्रमणकाललाई पार लगाउन भारतीय कम्युनिस्टहरूले पनि धेरै सहयोग गरेका छन् र भारतको कम्युनिस्ट आन्दोलनमा यहाँबाट सहयोग प्राप्त भएको छ । समाजवादी सिद्धान्तले जति सामाजिक न्यायको पक्षपोषण गर्छ, त्यो भन्दा धेरै कम राजनीतिक सिमानाको पक्षपोषण गर्छ । यसकारण हामी एकै हौँ हाम्रा शत्रुहरू साझा छन् र हाम्रा मित्रहरू पनि साझा छन् । हामीले मार्क्सवादी सिद्धान्त भन्दा बाहेक तरिकाले अरूलाई हेर्न जान्दैनौं ।

एमाले र माओवादी मिलेर नेपालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ यसलाई ‘भाकपा’ले कसरी लिएको छ ?

नेपालको इतिहासकै महत्त्वपूर्ण परिघटनाका रूपमा रहेको दुई ठूला पार्टीहरूको एकतालाई हामीले मात्र होइन, सारा संसारले नजिकबाट हेरिरहेको छ । दक्षिण एसियामा लगभग सबै देशमा एक भन्दा धेरै कम्युनिस्ट पार्टीहरू छन् । नेपालमा एकताको शुरुवात भएको छ र यसले महत्त्वपूर्ण भूराजनीतिक अर्थ राखेको छ । ‘भाकपा’ले यो एकतालाई सकारात्मक र प्रेरणादायी हो भन्ने अर्थमा लिएको छ ।

नेकपाको एकता पछिका चुनौतीहरू के–के हुन् ? 

वास्तवमा यो एकता एकताको स्वरूपमा नभएर एक अर्कालाई स्वीकारेको अर्थमा भन्नु राम्रो होला । तत्कालिन माओवादी केन्द्रबाट २०० जना र एमालेबाट २४१ जना केन्द्रीय समितिमा राख्नु भनेको एकता मात्र नभएर एकले अर्कोलाई दिएको ठाउँ हो । एकता त महाधिवेशनपछि भएको मानिनेछ तर अहिले यो एकता मात्र नभएर त्यो भन्दा कैयौं गुणा ठूलो उपलब्धि हो जस्तो लाग्छ ।

यो एकता समाजवादी अर्थव्यवस्था नआउन्जेल टिक्ला या नटिक्ला भन्ने कुनै प्रश्न होइन जस्तो मलाई लाग्छ । मार्क्सवादको आधारभूत सिद्धान्तले समाजवादी व्यवस्थालाई प्रमुख गन्तव्य मानेको छ । यो विज्ञानसम्मत धारणा हो । एकता टिके पनि, नटिके पनि समाजवादी व्यवस्थामा विश्व जानै पर्छ । कोही कसैले कुनै बिन्दुमा पुगेर छोड्ला, विचार परिवर्तन गर्ला भन्ने कुरा गौण हो ।

मोदीले हिन्दू धार्मिक अस्त्र प्रयोग गरेर नेपाललाई नाकाबन्दी मार्फत काबुमा ल्याउन सकिन्छ भनेर राजनीतिक प्रयोग गरे । त्यो अस्त्रलाई नेपालका जनता र हामी(भाकपा)ले संयुक्त रुपमा ‘नाकामयाब’ बनाइदियौं

अन्त्यमा, नेपाल–भारतबीचको सम्बन्धमा कहिले दरार आएको जस्तो देखिन्छ र कहिले सम्बन्ध सुमधुर भएको जस्तो देखिन्छ । कहिले कहिले गहिरिएर हेर्दा राजनीतिक प्रभाव बिस्तारको लागि दुवै देशका स्वार्थ समूहले काम गरेको जस्तो देखिन्छ ...
 
नेपाल भारतबीचको सम्बन्ध अन्य देशहरूबीचको सम्बन्ध भन्दा विशिष्ठ छ भनेर दोहोर्‍याउनु परेन । सम्बन्ध सधैँ एकै रूपमा रहिरहनुपर्छ भन्ने पनि होइन तर सम्बन्धको विशिष्टता चाहिँ एकै प्रकारको हुनुपर्छ ।

भूकम्पले तहसनहस पारेको नेपाललाई नाकाबन्दी गर्ने मोदी सरकारको जुन क्रियाकलाप थियो, त्यसको विरोध हामीले व्यक्तिगत र संस्थागत रूपमा गरेका हौँ । 

मोदीले हिन्दू धार्मिक अस्त्र प्रयोग गरेर नेपाललाई नाकाबन्दी मार्फत काबुमा ल्याउन सकिन्छ भनेर राजनीतिक प्रयोग गरे । त्यो अस्त्रलाई नेपालका जनता र हामी(भाकपा)ले संयुक्त रुपमा ‘नाकामयाब’ बनाइदियौं ।

तपाइँले भनेजस्तो त्यो नाकाबन्दीको बीचमा स्वार्थ समूहले खेल्ने मौका पाएको हो । त्यस्ता स्वार्थ समूहहरू दुवै देशमा व्याप्त छन् र दुई देशबीचको सम्बन्ध बिस्तार गलत स्वार्थहरूको प्रभावबाट टाढा रहेर मात्र गर्न सकिन्छ ।

जस्तो सम्बन्ध हुनुपर्थ्यो दुई देशबीचको, त्यसलाई त्यस्तै बनाउन धेरै मेहेनेत गर्नुपर्छ । मार्क्सवादी दृष्टिकोण अनुसार आधारभूत मानवीय न्यायलाई कुल्चिनु हुँदैन । बाँकी राजनीतिक, प्रशासनिक, आर्थिक र सांस्कृतिक आयामहरूलाई आवश्यकता अनुसार तय गर्न सकिन्छ ।

नेपालमा कम्युनिस्टहरूको स्थीर सरकार बनेको छ जुन बलियो र अन्तराष्ट्रिय प्रभाव पार्ने खालको पनि छ । नेपालीहरूको समृद्धिको सपनासँगै आर्थिक स्वाधिनता पनि पूरा हुँदै जानेछ भन्ने मेरो विश्वास छ । एक्काइसौं शताब्दी भनेको बजार बिस्तारको युग पनि हो । उत्पादनलाई आन्तरिक वितरण मात्र होइन, बाह्य बजारमा पनि वितरण गर्ने दिशातर्फ जाँदा नेपालको स्वार्थ पनि स्वतः हावी हुने दिन आउँछ ।

जेठ १७, २०७५ मा प्रकाशित

ईश्वर अर्याल

अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस