अवकासप्राप्त वन अधिकृतको अकूत सम्पत्ति, २ करोड बिगोसहित भ्रष्टाचार मुद्दा दर्ता

कात्तिक १९, २०७५

काठमाडौं– अवकास प्राप्त वन अधिकृत बिनोद कुमार सिंहले सार्वजनिक पदमा रहँदा अवैध रुपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट सिंहले झन्डै २ करोड रुपैयाँ बराबरको सम्पत्ति अवैध रुपमा आर्जन गरेको देखिएको हो । 


ADVERTISEMENT

अख्तियारले गरेको छानबिनबाट १३ फागुन २०४३ मा सार्वजनिक सेवामा प्रवेश गरेका सिंहले पारिवारिक व्यक्तिका नाममा बैंक खाता, शेयर लगानी, चल–अचल सम्पत्तिमा ३ करोड ५१ लाख ८२ हजार ४ सय ४४ रुपैयाँ ५१ पैसा खर्च गरेको देखिन्छ । जसमध्ये १ करोड ६० लाख २१ हजार १८ रुपैयाँ ८३ पैसा मात्रै वैध रुपमा आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । 

खर्च भएकोमध्ये १ करोड ९१ लाख ६१ हजार ६ सय २५ रुपैयाँ ६८ पैसाको स्रोत नभेटिएको अख्तियारले दावी गरेको छ । 

राजपत्राङ्कित तीतृय श्रेणी (शाखा अधिकृत) बाट अवकाश प्राप्त सिंहले अवैध रुपमा आर्जन गरेको १ करोड ९१ लाख ६१ हजार ६ सय २५ रुपैयाँ ६८ पैसा बराबर बिगो दावी गर्दै अख्तियारले सोमवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

सिंहले आर्जन गरेको चल–अचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीसहित श्रीमती गीतादेवी सिंह, छोराहरु अनुप कुमार सिंह, अचल कुमार सिंहसमेतलाई प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ । 

कात्तिक १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस