दान गरेर नथाक्ने मैयादेवी : लामो सारी कुर्कुच्चा झारी, नपुगे बेचौंला घरबारी !

मंसिर २, २०७५

चितवन –अहिलेको नारायणगढले बजारको स्वरूप नलिँदै भक्तपुरको वीरबहादुर श्रेष्ठ परिवार तनहुँको बन्दिपुर हुँदै १९८० सालमा चितवनको नारायगढमा झरेको थियो । वीरगञ्जमा डिठ्ठा रहेका वीरबहादुरले चितवनमा आएर जंगल फडानी गरेर बस्ती बसाए । 

डिठ्ठा वीरबहादुरका दुई सन्तान थिए, कमलप्रसाद र मैयादेवी । नारायणगढमा रहेको कमल नगर उनै वीरबहादुरका छोराको नामबाट रहेको हो । पश्चिमतर्फ नजिकै मैयादेवी मार्ग छ । 


ADVERTISEMENT

नारायणगढको कमलनगर र शहीद चोकको बीचमा रहेको प्रेम बजारस्थित छेउको घरको दोस्रो तलाको एउटा कोठाको सोफामा सुतीरहेकी हुन्छिन् ९१ वर्षीय मैयादेवी श्रेष्ठ । मैयादेवी, अर्थात् महादानी महिला ।
बोल्न खोजेजस्तो गर्ने बोल्न नसक्ने, हातखुट्टा चलाउने । 

कस्तो छ तपाईंलाई भनेर सोध्दा मैयादेवीले एक शब्दमा जवाफ फर्काइन्, ʻहेर्दा त ठीकै छ, डाक्टरले केही रोग छैन भनेका छन्, तर ज्यानलाई सञ्चो पनि छैन !ʼ 

बुढ्यौलीका कारण ९१ वर्षीया महादानी मैयादेवीको स्मरण शक्ति बिस्तारै हराउँदै गएको छ । सहयोगीले सुताउने, उठाउने र खाना खुवाउने गर्छन् ।

दाइ कमलका छोरा प्रेमकुमार श्रेष्ठको घरमा बस्दै आएकी मैयादेवी आजकाल कतिबेला हात्ती आयो भन्छिन् त कतिबेला उ मान्छे आए भनिरहेकी हुन्छिन् । 

उनी पछिल्लो पटक गत २६ असोजमा प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन् । सभापति शेरबहादुर देउवा लगायत कांग्रेसका नेताहरू उपस्थित कार्यक्रममा धेरै बेर बस्न नसकेपछि उनी फर्किहालिन् । 

बुढ्यौलीका कारण मैयादेवीको स्मरण शक्ति कमजोर हुँदै गएको छ । बोलीको ठेगान छैन । केही समय पहिले एक सार्वजनिक कार्यक्रममा गएर उनले सहयोगको घोषणा गरिन् । एक लाख सहयोग भन्नुपर्नेमा एक करोड भनिदिइन् । 

छोरीहरू पढाउन आफ्नै नाममा कलेज 

चितवनमा त मैयादेवीलाई नचिन्ने सायदै भेटिएलान् । उनको ख्याती चितवनमा मात्र सीमित छैन् । सामाजिक काम र दानको मामिलामा उनलाई जो कोहीले भेटाउँदैनन् । 

छात्राहरूलाई पढ्न प्रोत्साहित गर्ने उद्देश्यले मैयादेवीले चितवनको भरतपुर चौबीसकोठीमा कलेजको स्थापना गरिन् । अहिले पनि मैयादेवी कन्या कलेजलाई चितवनको एउटा शैक्षिक हब मानिन्छ । 

११ कक्षादेखि स्नातकोत्तर तहसम्म पढाइ हुने क्याम्पसमा झण्डै एक हजार छात्रा अध्ययनरत छन् । कलेज निर्माणका लागि मैयादेवीले १२ कठ्ठा जमिन र भवन निर्माणका लागि २ करोड रूपैयाँ दिएकी थिइन् । कलेजकै नाममा अर्को ४ कठ्ठा जग्गा पनि दिएकी छिन्, मैदायदेवीले । 

२०५७ सालमा स्थापित कलेजमा व्यवस्थापन, मानविकी र नर्सिङ समेत गरेर अहिले करीब १ हजार छात्राले अध्ययन गरिरहेको क्याम्पस प्रमुख कृष्ण न्यौपानेले बताए । 

मैयादेवीले आफ्नै जग्गा र खर्चमा यो भव्य भवन बनाइदिएकी हुन् । उनको रेखदेख गर्दै आएका भदा प्रेमकुमार मैयादेवीको शेखपछि कलेजको संरक्षक हुनेछन् । नारायणगढ बजारमा रहेको बालकुमारी कन्या स्कूललाई पनि मैयादेवीले १० कठ्ठा जग्गा दान दिएकी छन् । 

अर्बौंको सम्पत्ति दान

मैयादेवीको परिवार नारायणगढको सम्पन्न परिवार हो । अहिले पनि मुख्य बजार क्षेत्रमा श्रेष्ठ परिवारकै घर धेरै छन् । मैयादेवीका पिता तनहुँको बन्दीपुरबाट चितवन झरेका हुन्, जतिबेला नारायणगढले बजारको स्वरूप लिएको थिएन । आज भन्दा ६० वर्ष अगाडिसम्म अहिलेको नारायणगढ बजार तोरी बारी थियो । 

मैयादेवीका पिताले बस्ती बसाल्नका लागि जग्गा ठेक्कामा लिएर घडेरी बेचेका थिए । ʻहजुरबुवाले २० रूपैयाँको दरले ३५ वटा घडेरी बेच्नु भएको थियो,ʼ मैयादेवीका भतिजा समाजसेवी प्रेमकुमार श्रेष्ठ स्मरण गर्छन् ।

आफ्नो नाममा रहेको अथाह जमिन तीन भाग लगाएर वीरबहादुरले एकभाग छोरी मैयादेवीको नाममा हस्तान्तरण गरेका थिए । नारायणगढ बजारमा २ बिघाह र बसेनीमा १० बिगाह मैयादेवीको नाममा परेको थियो । बजार विस्तारपछि ती जग्गा अमूल्य भए, मैयादेवीको दानको स्रोत त्यही थियो । 

आफ्नो भागमा आएको सम्पत्तिमध्ये केही जमिन तथा जमिन बेचेको पैसा मैयादेवीले दान गरिन् । दिन दुःखीलाई कति दान गरिन् भन्ने यकिन रेकर्ड छैन्, तर जमिन दान मात्र ४५ भन्दा बढी गरिसकेकी छिन् । 
संस्थागत रूपमा पहिलो जमिनदान उनले नेपाली कांग्रेस चितवनको भवन निर्माणका लागि गरेकी थिइन् । मैयादेवी मार्गमा रहेको त्यही भवनमा अहिले पनि कांग्रेसको पार्टी कार्यालय बसिरहेको छ । 

कांग्रेस पार्टी कार्यालय मात्र होइन अन्य संघसंस्था र व्यक्तिलाई समेत मैयादेवीले जग्गा दान गरेकी छन् । मैयादेवीबाट दान पाएकाहरूमध्ये कतिको जीवनमा कायापलट भएर उनीहरू नै दानवीर भएका छन् । 
ʻमैयादेवीले दिएको जग्गा दानबाटै केही त नारायणगढमा करोडपति भइसकेका छन्,ʼ एक स्थानीयले भने । 

कांग्रेसको पार्टी कार्यालय राख्न घर दान

सानेपामा अहिलेको पार्टी कार्यालय बन्नुअगाडि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भाडाको घरमा थियो– टेकुमा । चितवनमा कांग्रेसले आफ्नै भवन बनाएपछि एकदिन नेता कृष्णप्रसाद भट्टराइले पार्टी कार्यालयका लागि एउटा घर दिन आग्रह गरे, मैयादेवीसँग । 

मैयादेवीले तत्कालै घर दिन राजी भइन् । भोलिपल्ट बालुवाटारमा पत्रकार सम्मेलन गरेर काठमाडौंको रविभवनमा रहेको १८ आना ओगटेको जग्गामा रहेको घर कांग्रेसको नाममा नामसारी गरिन् । 

मैयादेवीले नारायणगढ बजारमा आफू बस्दै आएको करोडौं रूपैयाँ मूल्य पर्ने घर जग्गा पनि समाजिक कामका लागि ट्रस्ट बनाएर त्यसैलाई हस्तान्तरण गरेकी छन् । अध्यक्ष प्रेमकुमार श्रेष्ठका अनुसार मैयादेवीको नाममा खुलेको ट्रस्टले विभिन्न सामाजिक क्षेत्रमा काम शुरू गरेको छ । देवघाटमा पनि मैयादेवीको नाममा अर्को ट्रस्ट छ । 

राजनीतिमा बीपी, गणेशमान र किसुनजीको संगत

जतिबेला नेपालका महिलाहरू घरधन्दामै व्यस्त रहन्थे सो समयमा मैयादेवी राजनीतिमा लागेकी थिइन् । आफ्नो घरमा आउने बीपी र गणेशमानको प्रेरणाबाट उनी राजनीतिमा लागिन् । ब्लेडले बूढी ओलाको रगत निकालेर प्रजातन्त्रको पक्षमा आजीवन लड्ने प्रतिज्ञा सहित उनले कांग्रेसको सदस्यता लिएकी थिइन् । 

२०१५ सालमा भएको पहिलो संसदको चुनावमा मैयादेवीले चितवनबाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । चुनाव चिह्न हात्ती पाइसकेकी थिइन् । बीपी र सुवर्ण शमशेरको आग्रहपछि उनले उम्मेदवारी फिर्ता लिइन् । 

यसबीचमा उनको राजनीतिक र सामाजिक अभियान जारी नै थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ सालमा भएको प्रतिनिधिसभा चुनावमा उनले गोरखाबाट टिकट पाइन् र चुनाव जितिन् । २०५६ सालमा उनी राष्ट्रियसभाको सदस्य भइन् । २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसदको सदस्य बनेकी थिइन् । सांसद बैठकमा जाँदा पनि उनले कहिले कर्मचारी, कहिले मर्यादापालक र कहिले पत्रकारलाई काजु किसमिस बाँढ्ने गर्दथिन् । 

२०६४ सालको संविधान सभासदस्य निर्वाचनमा उनी चितवन क्षेत्र नं. ३ बाट पराजित भइन् । यसपछि उनी राजनीतिबाट विस्तारै निष्क्रिय बन्दै गइन् । मैयादेवी राजनीतिमा निष्क्रिय भएपनि कांग्रेसका नेताहरू अहिले पनि उनलाई भेट्न गइरहन्छन । चितवन पुगेको बेलामा रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला मैयादेवीलाई भेट्न आइरहने गरेको परिवारका सदस्यहरू बताउँछन् । 

दानकी पर्याय बनेकी मैयादेवीले विवाह र घरजम गरिनन् । दाइको छोरासँग बस्दै आएकी मैयादेवीले केहीलाई धर्मपुत्र बनाएकी छिन् । 

धर्मप्रति अटूट आस्था 

बाल्यकालमा देवघाट क्षेत्रमै हुर्केकी मैयादेवी फुर्सद हुनासाथ त्यहाँ पुगिहाल्ने । ʻअहिले पनि मलाई यसो घुम्न देवघाट लैजाओ भन्नुहुन्छ, हामीले कहिले देवघाट कहिले चौबीसकोठीको कलेजमा पुर्‍याएर ल्याउँछौं,ʼ प्रेमकुमारले लोकान्तरसँग भने । 

तीर्थाटनको शिलशिलामा मैयादेवी केही समय भारतको हरिद्वारमा पनि बसिन् । त्यहाँ पुगेर पनि उनले दान गरिन् । बनारसमा गएर पनि दान गरिन् । 

ʻमेरो फुपू दानवीर हुनुहुन्छ, दान गर्नु नै धर्म हो भन्नुहुन्छ,ʼ भदा प्रेमकुमारले भने । मैयादेवीको प्रेरणाका कारण प्रेमकुमार पनि समाजसेवा र दान गर्नमा अगाडि छन् । 

प्रेमकुमारले नारायणगढमा किरियापुत्री भवन बनाएका छन् । ७५ वर्षको उमेरमा पनि फुर्तिलो देखिने प्रेमकुमारको कोठाको भित्तामा ६० वटा प्रशंशापत्र र सम्मानपत्र राखिएका छन् । 

सम्पत्ति भएकाले दान गरुन् भन्ने उनको सुभेक्षा छ । दान गर्नका लागि कुनै धक नमान्ने मैयादेवीले एउटा वाक्य सधै दोहोर्‍याउँछिन् –

लामो सारी कुर्कुच्चा झारी, 
नपुगे बेचौंला घरबारी !

मंसिर २, २०७५ मा प्रकाशित

सुशील पन्त

लोकान्तरका समाचार संयोजक सुशील पन्त समसामयिक राजनीति र  संसदीय मामिलामा कलम चलाउँछन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस