संगीतमा कुशेश्वरको चिन्ता -  मादलको खरीदेखि मुर्चुङ्गासम्म

मंसिर २९, २०७५

विराटनगर – कुशेश्वरप्रसाद राईले पूर्वमा शास्त्रीय संगीतलाई जीवन्त बनाउन प्रयास गरेका छन् । गीत संगीतको क्षेत्रमा बाल्यकालदेखि नै लागेका कुशेश्वरले २४ वर्ष पहिला संगीतालय स्थापना गरेका हुन् ।

उनले विराटनगरमा संगीतालय शुरू गर्दा कुनै पनि गीत र संगीत सिक्ने ठाउँ थिएन । बसपार्कको एउटा सानो घरबाट शुरू भएको संगीतालय अहिले विराटनगरको मुख्य बजारमा छ ।


ADVERTISEMENT

विगत लामो समयदेखि शास्त्रीय संगीतमा अनवरत लाग्दै आएका उनले करीब २४ वर्ष अगाडिसम्म व्यक्तिका घरघरमा गएर संगीत सिकाउँथे । तर संस्थागत संगीत सिकाउन भने २०५१ सालदेखि शुरू गरेका हुन् । श्वर संगम संगीतालय सञ्चालन गरेर संगीत सिकाउँदै आएका उनी अहिले पनि निरन्तरता दिँदै आएको बताउँछन् ।

हरेक दिन बिहान–बिहान ३ बजेर ४५ मिनेटमा जाग्ने राई डेढ घण्टाको योगपछि ६ बजे संगीतालय पुग्छन् । राति ६ घण्टा र दिउँसो २ घण्टा सुत्नेबाहेक सबै समय संगीतको सिर्जनामा बिताएको उनले बताए ।

संगीतको वास्तविक शिक्षा उनले पटनामा सिकेर आए । शुरूमा रहरै–रहरमा संगीतमा लागेको राई संगीतको सिकाइ र संगतको कारण यसैमा भिजेका हुन् । विशेष गरी उनले सिकाउने शिक्षा शास्त्रीय संगीतको हो । तर त्यही शास्त्रीय संगीतबाट लोक संगीतको जगेर्ना गर्न सकिन्छ भन्ने उनलाई लागेको छ ।

‘मेरा हजुरबुबाहरू गाउँमा भजनकीर्तन गर्नुहुन्थ्यो । त्यसले मलाई उत्साह प्रदान गर्यो,’ उनले भने । संगीत शिक्षालाई गाउँगाउँसम्म पुर्याउँदै अहिले देखिएको लोक संस्कृतिको विकृती अन्त्य गर्न सकिने उनले बताए । उनी अहिलेका गीत र संगीतले मौलिकता दिन नसकेको बताउँछन् । राई भन्छन्, ‘संगीतले मौलिकता दिन सक्नुपर्छ, लोक संस्कृतिको जगेर्ना गर्न सकियो भने पुराना मौलिक बाजाको पनि संरक्षण हुनेछ ।’ 

गीत रेकर्ड नै गराइनँ

मान्छेका अनेक सौख आ–आफ्नै हुन सक्छन् । तर उनको सौख भनेको गीत गाउनुभन्दा सिकाउनु थियो । उमेरले ६४ वर्ष पुगेका राई यही संगीतको नशाले गर्दा अहिले पनि स्वस्थ नै रहेको दाबी गर्छन् । अझ केही वर्ष काम गर्न सक्छु भन्ने उनमा जोश छ । १ दिन शास्त्रीय संगीतको विधालाई आधार बनाएर लोक संगीत खोज्ने बाटो खन्दै गरेको उनी बताउँछन् ।

‘थोरै भएपनि राम्रो मान्छेले मलाई चिनेका छन्,’ उनले खुसी हुँदै भने । सबैभन्दा पहिला संगीतको परीक्षा लिइनुपर्छ भन्ने काम काठमाडौंमा पहिलादेखि नै चलेको भएपनि पूर्वमा जिराटनगरबाट आफूले शुरू गरेको उनले बताए ।

निरीह राज्य

राज्यबाट लोक संगीतको संरक्षणको लागि खासै काम भएको छैन । सरकारले सधैं काठमाडौलाई मात्र जनता देख्यो र देश देखेपछि क्षेत्रीय रुपमा कुनै पनि संगीतको संरक्षणको कामै नभएको उनले बताए ।

नेपाली लोक संगीत शिक्षालाई हरेक विद्यालय र कलेजमा पुर्याउने काम गर्ने हो भने पूर्वको लोक संगीतबारे सिक्नको लागि विदेशीको ओइरो लाग्ने उनको तर्क छ । ‘बाहिरको संगीतका प्रेमीलाई हाम्रो संगीतको माटोको लयको सुगन्ध बुझाउन सकिएको छैन,’ उनले भने, ‘शास्त्रीय संगीत सिकेर लोक गीतको मौलिकताको जगेर्ना गर्न सकिन्छ भनेर नै म लागेको हो ।’

संगीतको प्रेमीलाई नेपालको सुगन्ध र सौन्दर्यलाई चिनाउन सक्नुपर्ने भन्दै उनले पूर्वको लोक संगीतलाई चिनाउन सक्ने हो भने १ नम्बर प्रदेशले विदेशी पर्यटक थेग्नै नसक्ने गरी भित्र्याउने उनको दाबी छ ।

‘जबसम्म आफ्नो पहिचान के हो भन्ने चिन्न सक्दैनौ, त्यो दिनसम्म आयातीत संगीतको भरमा हामीले हाम्रो मौलिकता भुल्दै जाँदैछौं,’ शास्त्रीय संगीतका गुरू राई भन्छन्, ‘बाहिरको राम्रा कुरा हेरौं । तर त्यसबाट केही सिकौं र हामीले हाम्रो कुरालाई राम्रो बनाउन प्रेरित गरौं ।’ लोक संगीत भनेको माटोको लय भएकाले लोक संगीतको सही प्रारुप ‘स्ट्रक्चर’ दिन नसकेकोमा उनलाई चिन्ता लागेको छ । 

आयातीतले खाएको मौलिकता

‘मादलको खरी झरिसक्योे, बिनायो खै कहाँ हरायो ? सारंगीको तार टुटेको लामै समय भइसक्यो, मुर्चुङ्गा कता गयो ? थाहा छैन । कहीँकहीँ झ्याम्टा र ढोल देख्छौं । तर पनि त्यो हराइसक्यो । कसरी हुन्छ संगीतको विकास ?’ उनले प्रश्न गर्दै भने, ‘यस्ता संगीत भनेको मनोरञ्जन मात्र हैन, बाँड्ने विधा पनि हो ।’

शास्त्रीय संगीतबाट अनुशासन सिकेर लोक संगीतको विकास गर्नको लागि अहिले उनले आफ्नै क्लबमा मादल, सारंगी, बिनायो, मुर्चुङ्गा र बाँसुरी बजाउने व्यक्तिकोे खोजी गरिरहेका छन् ।

४० सालदेखि भाडाको घरमा 

हजारौं विद्यार्थीलाई संगीत सिकाए उनले । तर पैसा कमाउन सकेनन् । उनले आफ्ना छोराछोरीको लालनपालन र आफ्नो गुजारा चलाउनेबाहेक कुनै रकम संकलन गर्न नसकेको बताए । २०४० सालदेखि भाडाको घरमा बस्दै आएका उनी अहिले पनि घर बनाउन नसकेको बताउँछन् ।

‘बिहानैदेखि रातिसम्म संगीतमा लागे । संगीतमै लागेको कारण अहिलेसम्म पैसा कमाउन सकिन होला । तर भोकले मरेको छैन,’ उनले भने, ‘घर त बनाउने मन छ नि ! पैसा कहाँबाट ल्याउने, कहाँबाट कमाउने ? १÷२ लाखले घर बन्दैन । तर घर नभएकोमा अलिकति पनि चिन्ता छैन ।’

उनको जीवनमा कुनै दिन यस्तो आयो, घरको भाडा ७ सय रुपैयाँ तिर्न नसक्दा घरमा दोहोरो ताला लागेर हिँड्नुपरेको थियो । त्यो बेला श्वर संगीतालय बसपार्कमा थियो । संगीत सिक्न आउने विद्यार्थीसँग महिनाको १ सय रुपैयाँ लिन पनि गाह्रो थियो । तर पहिलेभन्दा अहिले केही परिवर्तन भएको छ । अहिले महिनाको १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म तिरेर संगीत सिक्नको आउनेको भीड हुने उनको अनुभव छ ।

संगीत सिकाउन हप्तामा ३ दिन बाहिर

हप्तामा ३ दिन विराटनगरभन्दा बाहिरै हुन्छन् उनी । नियमित बसमा चढेर उनी झापाको हडैया बुधबारे, काँकडभिट्टा, भद्रपुर, बिर्तामोड, सुनसरीको इटहरी चक्रघट्टी, झुम्का तथा मोरङका धेरै ठाउँमा पुगेका हुन्छ । शुक्रबार विराटनगरबाट हिँड्का उनी आइतवार मात्र फर्किने गरेका छन् ।   

आफ्नो घर बनाउन नसकेपनि संगीतको घर बनाउने उद्देश्यमा रहेका उनले संगीतको घर भनेको अधिराज्यभर आफूले सिकाएका संगीतकर्मी रहेको आफूले बनाएको घरको नमूना घर भएको उनले बताए । ‘कुनै पनि संगीतालयमा देशका जुनसुकै ठाउँमा गएपनि कोही न कोही आफूले पढाएका विद्यार्थी रहेका छन्, त्यही नै मेरो संगीतको घर हो,’ उनी भन्छन्, ‘त्यसलाई पूर्णता दिने दायित्व मेरो काँधमा छ, कुन दिनसम्म सक्छु, त्यो दिनसम्म मेरो संगीतको यात्रा निरन्तर रहने छ ।’ संघर्षको बिन्दू भनेको ‘कर्म गर्दै गर, फल नसोच’ भन्ने रहेको उनले बताए ।

उनले पाएका पुरस्कार 

२०५३ सालमा विराटनगर उपमहानगरपालिकाद्वारा नगद तथा सम्मान पत्रसहित प्रतिभा पुरस्कार प्राप्त  गरेपछि सम्मानित तथा पुरस्कृत हुन थालेका उनले हालसम्म २६ बढी सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन् । उनले पाएका महत्त्वपूर्ण पुरस्कारमा कलानिधि इन्दिरा संगीत महाविद्यालय काठमाडौंद्वारा कलानिधि राष्ट्रिय सम्मान २०७१ प्राप्त गरेका छन् भने सुकर्म अतुल स्मृति कला सम्मान, तीर्थप्रसाद अधिकारी स्मृति रानु संगीत पुरस्कार २०७४, भानु कलाकारिता सम्मानबाट समेत उनी पुरस्कृत भइसकेका व्यक्ति हुन् ।
 

मंसिर २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस