नवरात्रिको आठौं दिन महागौरीको पूजा गर्दा बढ्छ सकारात्मक ऊर्जा

असोज १९, २०७६

काठमाडौं – नवरात्रिको आठौं दिन माता महागौरीको पूजा गरिन्छ । आदिशक्ति श्री दुर्गाको अष्टम रूप महागौरी हुनुुहुन्छ । 

महागौरीको रंग सेतो भएका उहाँलाई त्यो नाम दिइएको हो । मान्यताअनुसार, कठिन तपस्यापछि देवीले गौर वर्ण प्राप्त गर्नुभएको थियो । 


ADVERTISEMENT

उहाँलाई उज्ज्वला स्वरूपा महागौरी, धन ऐश्वर्य प्रदायिनी, चैतन्यमयी त्रैलोक्यपूज्य मंगला पनि भनिन्छ । शारीरिक, मानसिक तथा सांसारिक ताप हरण गर्ने माता महागौरीको वैशिष्ट्य हो । 

महागौरी देवी मंत्र
श्वेत वृषे समारूढ़ा श्वेताम्बरधरा शुचिस्।

महागौरी शुभं दद्यान्महादेवप्रमोददा॥

देवीको स्वरूप
महागौरी देवीको स्वरूप अत्यन्त सौम्य छ । उहाँको रूप सरस, सुलभ र मोहक छ । उहाँको वर्ण मात्र नभई वस्त्र र आभूषण समेत सेता छन् । उहाँका चार भुजा छन् । वाहन साँढे हो । देवीको दाहिनेतर्फको मास्तिरको हात अभय मुद्रा र तल्तिरको हातमा त्रिशूल छ । देब्रेतर्फको माथिल्लो हातमा डमरु र तल्लो हातमा वर मुद्रा छ । उहाँको स्वभाव अत्यन्त शान्त छ । 

नवरात्रिको आठौं दिन माता महागौरीको पूजा गर्दा सबै पाप पखालिन्छन् । मन र शरीर पूर्णरूपमा शुद्ध हुन्छ । उहाँ भक्तहरूलाई सन्मार्गतर्फ लग्नुहुन्छ । उहाँको पूजाले अपवित्र र अनैतिक विचार नष्ट हुन्छन् । उहाँको सौम्य रूपको पूजाले मनको पवित्रता र सकारात्मक ऊर्जा बढाउँछ । मन एकाग्र गर्न पनि उहाँको पूजाले सहयोग गर्छ । उहाँको उपासनाले सबै कष्ट हट्छन् ।

असोज १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस