वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा महर्षि शुनशेफ निकै श्रद्धापूर्वक लिइने नाम हो । सत्यधर्मका वफादार प्रहरी यी महर्षिको आत्मिक अनुशासन र पितृभक्तिको सन्देशप्रति सारा विश्वसमाज नतमस्तक छ । कल्याण वेदकथाङ्कमा उल्लेख भएअनुसार वैदिक ऋषिहरूको कुल सङ्ख्या ४०३ रहेको छ । तिनमा एकाकी ऋषिको संख्या ८८ छ भने पारिवारिक ऋषिको संख्या ३१५ भेटिएको छ । महर्षि शुनशेफ तिनै पारिवारिक समूहमा पर्ने ऋषि हुन् । महर्षि विश्वामित्रका भागिनेय मानिएका यी महर्षि आफैंमा भृगुवंशी हुन् । उनको बाबुको नाम अजिगर्त हो तर उनले राजा हरिश्चन्द्रको यज्ञमा विश्वामित्रका कारण जीवनदान पाएकाले. अन्ततः उनै विश्वामित्र नै उनका बाबु हुन पुगेका मात्र छैनन् उनको गोत्र नै परिवर्तन भई कौशिक हुन पुगेको छ ।
वस्तुतः ऋग्वेद प्रथम मण्डलको २४ देखि ३० सम्म कुल सातवटा सूक्त यिनै महर्षि शुनशेफद्वारा दृष्ट मन्त्रको सँगालो मानिएको छ । इन्द्र, अग्नि, वरुण, सविता, अश्विनिकुमार आदि देवताको प्रशस्ति गाइएका यी सूक्तहरूमा कुल ९७ वटा मन्त्र छन् । यी मन्त्रहरूमा महर्षि शुनशेफले आध्यात्मिक ज्ञान र भौतिक विज्ञान दुवै पाटोलाई जुन किसिमको गहिराइमा गएर केलाउने काम गरेका छन्, साँच्चै त्यो वन्दनीय छ । यसबाहेक उनको ध्यान शान्ति, सद्भाव, सदाचार र समाज विकास तथा सामाजिक अनुशासन आदि जीवनोपयोगी अन्य पक्षमा पनि उत्तिकै पुगेको छ ।
ऋग्वेद मण्डल एक सूक्त २५ को २१ औं मन्त्रमा महर्षि शुनशेफले जसरी वरुणदेवतासित उत्तमपाश, मध्यमपाश र अधोपाश गरी तीनवटा पाशको प्रसङ्ग उठान गर्दैै त्यसबाट मुक्तिको कामना गरेका छन् त्यसलाई आध्यात्मिक ज्ञानको विशेष नमूना नै मान्न सकिन्छ । मानव जीवन सदैव सञ्चित, क्रियमाण र प्रारब्ध गरी तीन किसिमको कर्मसंस्कारको पासोमा बाँधिएको हुन्छ । दार्शनिकहरूले यसैलाई पाश भनेका छन् । अर्थात् पासोको रूपमा अर्थ्याउने गरेका छन् । साङ्ख्यशास्त्रीहरूको मत अनुसार भन्ने हो भने यिनै तीनवटा पाशलाई नै सत्व, रज र तम तीन गुणको रूपमा लिन सकिन्छ, जसले अन्ततः पासो नै बनेर जीवलाई बाँध्ने काम गरिरहेको हुन्छ । जीवनमा सुख, शान्ति र आनन्द चाहनेले यसबाट मुक्त हुनै पर्छ । महर्षि शुनशेफको उल्लिखित मन्त्रको आशयलाई यसैभित्र राखेर हेर्न सकिन्छ ।
शुनशेफको विज्ञान र प्रविधिसम्बन्धी चेतना पनि उत्तिकै प्रौढ देखिएको छ । कतिपय प्रसङ्गमा आधुनिक विज्ञानले सोच्नसम्म पनि नभ्याएको स्थानमा समेत उनको चेतनाले हजारौं वर्षपूर्व नै कब्जा जमाइसकेको देखिन्छ । उदाहरणका लागि यसै मण्डलको सूक्त ३० को १९ औं मन्त्रलाई नै लिन सकिन्छ । यहाँ उनले जुन किसिमको एकैसाथ एउटा पाङ्ग्रो पृथ्वीमा र अर्को पाङ्ग्रो आकाशका अड्याएर रोकिन सक्ने विमानको चर्चा गरेका छन् त्यस्तो विमान सम्भवतः आधुनिक वैज्ञानिक प्रयोगशालामा बनेका त यसै पनि छैनन् नै त्यस्तो सोच्नसम्म पनि अरू कति वर्ष कुर्नपर्ने हो यसै भन्न सकिन्न । त्यसैगरी ऋग्वेद नवौं मण्डलको तेस्रो सूक्त पनि उनै शुनशेफद्वारा दृष्ट मन्त्रहरूको सँगालो मानिन्छ । पवमान सोमको प्रशस्ति गाइएको यस सूक्तमा कुल १० वटा मन्त्र छन् ।
विडम्बना नै मान्नुपर्छ त्यति ठूलो महर्षि भइकन पनि उनको जीवनवृत्त भने निकै दर्दनाक छ । पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार उनलाई राजा हरिश्चन्द्रको यज्ञपशुका निम्ति केही रकम लिएर आफ्नै बाबुले बेचिदिएका थिए । त्यति मात्र होइन थप पैसाको प्रस्ताव राख्दै आफैं बलिवेदीमा चढाउन तत्परसमेत भएका थिए । जसलाई पैसाको लोभमा आफ्नै बाबुले बेचिदिएका छन् र थप पैसाको आशा गर्दै तिनै बाबु आफैं काट्नसमेत तत्पर भइरहेका छन् भने त्यसभन्दा अभागी सन्तान संसारमा को नै हुन सक्छ होला र ? तथापि आश्चर्य त के भने उनले न त्यसतर्फ ध्यान दिएका छन् न त्यस्तो भाव अनुहारमा आउनै दिएका छन् । उल्टै बुवाआमाको सेवा गर्ने अवसर नगुमोस् भनेर देवीदेवतासित पुकारा गरिरहेका देखिन्छन् । उनलाई न बेचिन परेकोमा चिन्ता छ न काटिन पर्छ कि भन्ने चिन्ताले नै सताएको छ । यदि चिन्ता छ भने बुवाआमाको सेवा गर्ने अवसर गुम्ने हो कि भन्ने नै छ । यस प्रसङ्गको सम्यक् विवेचन ऋग्वेद प्रथम मण्डलको सूक्त २४ को पहिलो मन्त्रमा भएको छ, पितृभक्तिको विशिष्ट नमूना मानिएको यस प्रसङ्गलाई कहीँ कतै नैतिक शिक्षामा राख्ने गरिएको समेत पाइएको छ ।
दया, माया, मैत्री र करुणाको खानी नै मानिएका यी महर्षि बरू संसारभरिकै दुःख हाँसी हाँसी आफ्नै काँधमा लिन तत्पर हुन्छन् तैपनि अरूको दुःख हेर्न सक्दैनन् । आफू स्वयं वरुण यज्ञको मौलोमा बाँधिएको छ र अहिले भर्खरै कतिबेला काटिने हो थाहा छैन तर उनलाई भने यसको कुनै परवाह नै छैन । उनी त त्यतिबेला पनि आध्यात्मिक, आधिदैविक र आधिभौतिक तापबाट मानवमात्रलाई नै मुक्तिका लागि उनै वरुण देवतासित प्रार्थना गरिरहेका अवस्थामा फेला पर्छन् । ऋग्वेद प्रथम मण्डलको सूक्त २४ को १५ औं मन्त्रमा यस प्रसङ्गको सुन्दर झाँकी फेला पर्छ ।
उनी आफैं धनी छैनन् । उनको जन्म नै त्यस्तो तन्नम गरीब कुलमा भएको छ, जहाँ बाबु आफैं पारिवारिक गर्जो टार्न आफ्नै सन्तान बिक्री गर्दैैै हिँडिरहेका छन् । तैपनि उनको मन भने गरीब छैन । उनका सामु संसारका ठूला ठूला राजा महाराजा झुकेका छन् । हरिश्चन्द्र जस्ता तत्कालीन भूगोलका सम्राट् आफैं भिखारी बनेर हात फैलाइरहेका छन् भने देवीदेवताहरू समेत प्रशस्तिगानमा तत्पर भइरहेका देखिन्छन् । उनलाई बलिवेदीमा उभ्याउँदा उनको निश्छल स्वभाव, धैर्य, साहस, सत्य र धर्मप्रतिको निष्ठा देखेर सारा संसार रोएको छ । एक किसिमले सिङ्गो प्रकृति नै रोएर निःशब्द हुन पुगेको छ । देवीदेवताहरू समेत आफूलाई थाम्न नसकेर उनको जीवन रक्षाका लागि हारगुहार लगाउन थालिसकेका छन् तर उनले भने त्यतिबेला पनि ‘पितृभ्यः स्वधायिभ्य स्वधा नमः पितामहेभ्य स्वधायिभ्य स्वधा नमः’ को स्वाध्यायमा अडिग रहेर अद्भुत दृष्टान्त प्रस्तुत गरेका छन् ।
कतै कतै महर्षि शुनशेफलाई देवरात भन्ने गरिएको पनि पाइएको छ । मृत्युको मुखमा पुगेको बेला देवताहरूले बचाएकाले देवरात भनिएको हो । त्यसैले उनको गोत्र कौशिक भए पनि उनका सन्तानको प्रवरमा भने देवरात थपिन पुगेको छ । हाल आफ्नो प्रवरमा देवरात र ओदल लेख्ने जति पनि कौशिक गोत्रीयहरू छन् ती सबै उनकै वंशज मानिन्छन् । सम्प्रति यस्ता ज्ञान र विज्ञानका बेजोड प्रतिविम्ब महर्षि शुनशेफको भौतिक शरीर त हामी माझ छैन तर उनले देखाएका बाटो र दिएका सन्देश भने अहिले पनि उत्तिकै सान्दर्भिक छ ।
Advertisment
Advertisment