×

NMB BANK
NIC ASIA

गाउँमा सिंहदरबारः स्थानीय तहलाई कसरी सफल बनाउने ?

कात्तिक २०, २०७४

NTC
Premier Steels

दुई नम्बर प्रदेशबाहेक अन्य ६ प्रदेशमा स्थानीय तहको निर्वाचन मतदाताको अत्यन्त उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको तथ्यमा कुनै विवाद छैन ।

नेपालको वर्तमान संविधानले राज्यलाई तीन संरचनामा विभाजित गरेको छ । राज्यका संरचनामा संघ, प्रदेश र स्थानीय गरी तीन तह रहने प्रावधान राखिएको छ ।

तीन तहबीच राज्य शक्तिको विनियोजन संविधानबाटै भएको छ । संविधानतः स्थानीय तह जनतामा निकट रहने स्थानीय सरकार हो । अब दुई नम्बर प्रदेशमा पनि निर्धारित समयमा स्थानीय तहको निर्वाचन मतदाताको उस्तै सहभागितामा शान्तिपूर्ण रूपमा सम्पन्न हुने नै छ ।

स्थानीय तह निर्वाचनले स्थानीय तहमा लामो समयदेखि विद्यमान स्थानीय जनप्रतिनिधिको रिक्तता अन्त्य गर्नुका साथै अतिरिक्त नयाँ राजनीतिक प्रक्रिया प्रारम्भ गरेको छ ।

मौसमको प्रतिकूलता र राजनीतिक संवेदनशीलताका विपरीत दुवै चरणका निर्वाचनहरू मतदाताको अत्यन्त उत्साहपूर्ण सहभागितामा सम्पन्न हुनुले जनसामान्य लोकतान्त्रिक प्रक्रियाद्वारा स्थानीय विकासलाई गति दिन आतुर रहेको सिद्ध हुन्छ ।

लोकतान्त्रिक प्रक्रियाअनुरूप स्थानीय विकास अघि बढाउन स्थानीय तह नै सर्वस्वीकार्य उपकरण रहेको तथ्य पनि पुष्टि भएको छ ।

दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनले नेकपा एमालेलाई पहिलो स्थानमा पु–याएको छ भने पछिल्लो संविधानसभा निर्वाचनमा पहिलो शक्ति बनेको कांग्रेस एमालेभन्दा निकै पछि दोस्रो स्थानमा खुम्चिन पुगेको छ । माओवादी केन्द्रले भने आफ्नो तेस्रो स्थान सुरक्षित गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको हरिबिजोग भएको छ भने नेपाल लोकतान्त्रिक फोरम तथा संघीय समाजवादी फोरमले आफ्नो अस्तित्व जनाउन सकेका छन् ।

दुई चरणमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामलाई दृष्टिगत गर्दा मूलतः तीन प्रमुख राजनीतिक दलहरूले नै स्थानीय तहको राजनीतिमा पनि आफ्नो वर्चस्व कायम गर्न सफल भएको स्पष्ट हुन्छ ।

अहिले राष्ट्रिय राजनीतिका तीन प्रमुख खेलाडी पनि यिनै तीन दलहरू हुन् । यसबाट स्थानीय तहको राजनीति पनि यी तीन दलहरूबीचको जोडघटाउमा सञ्चालन हुने निश्चित भएको छ । पार्टीबाट मनोनयन प्राप्त गरी निर्वाचित भएपनि स्थानीय तहका जनप्रतिनिधिले निष्पक्ष रहेर स्थानीय जनसमुदायको प्रत्यक्ष हितका कार्यक्रममा आफूलाई समर्पित तुल्याउनुपर्दछ । सार्वजनिक पद धारण गरेपछि पनि आफ्नो मातृपार्टीप्रति बफादार रहनु र दलीय स्वार्थअनुरूप काम गर्नु वाञ्छनीय अवस्था होइन ।

स्थानीय तहलाई सबै हिसाबले अधिकारसम्पन्न बनाउने दिशामा विवाद हुनुपर्ने कुनै कारण छैन । वास्तविक रूपमा सिंहदरबारमा केन्द्रीय अधिकार गाउँ तहसम्म नपु–याइहुँदैन । तृणमूल तहका जनता जति अधिकारसम्पन्न हुँदै जान्छन्, लोकतन्त्रका जरा पनि त्यत्तिकै मजबूत हुँदै जान्छन् भन्ने राजनीतिक वास्तविकतालाई हामीले पन्छाउन मिल्दैन । नबुझी नहुने गाँठी कुरा के हो भने क्रियाशील लोकतन्त्र भनेको विधिसम्मत कार्यप्रणाली हो । विधि, प्रक्रिया र औचित्यलाई पन्छाएर निर्वाचित भएकै भरमा जनप्रतिनिधिले हुकुमप्रमांगीको शैलीमा काम गर्न मिल्दैन । त्यस्तो ढंगले हुने कार्य निस्सन्देह विवाद निम्त्याउन सहायक हुन्छ । अर्को त्यत्तिकै महत्त्वपूर्ण पक्ष के हो भने निर्वाचित जनप्रतिनिधिले व्यक्तिगत लोकप्रियताको मोहमा परेर सत्ता र अनुत्पादक कार्यहरूलाई पनि प्रश्रय दिनु हुँदैन । स्मरणीय तथ्य के रहेको छ भने अहिलेका स्थानीय जनप्रतिनिधिहरूका काँधमा असल परम्पराको जग राख्ने ऐतिहासिक अभिभारा छ ।

सरकारले स्थानीय तहको निर्वाचनमा हुनुअगावै स्थानीय शासन सञ्चालन ऐन निर्माण गरी जारी गरिसक्नुपर्ने थियो किन्तु त्यसो हुन सकेन । त्यो विधेयक अहिले संसदमा छलफलकै प्रक्रियामा छ । सम्बन्धित कानूनको अभावमा नवनिर्वाचित प्रतिनिधिहरूलाई कार्यसम्पादन गर्न अप्ठ्यारो भोग्न नपरोस् भनेर नै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मार्ग तर्जुमा गरेर सबै स्थानीय तहमा सम्प्रेषण गरेको छ । गाउँ तथा नगरपालिकाहरूले यही मार्गनिर्देशनलाई अनुसरण गर्दै आआफ्ना नीति तथा कार्यक्रमका साथै बजेट तर्जुमा गर्ने र बजेट रकम खर्च गर्ने कार्य गर्नुपर्दछ ।

जथाभावी र मनपरी ढंगले खर्च गर्ने प्रवृत्तिले प्रश्रय पाउँदा भोलि महालेखाबाट लेखापरीक्षण हुँदा बेरुजु र अनियमितता ठहर हुनसक्छ । त्यस्तो बेरुजुको फर फारक सम्बन्धित अधिकारीबाटै हुनुपर्छ । विधि र प्रक्रियाको उपेक्षा गरेर सम्पादन गरिने कार्य प्रश्नको घेरामा पर्दै जान्छन् र त्यस्तो कार्यले स्वभावतः कारवाही निम्त्याउँछ ।

संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न स्वायत्त स्थानीय सरकारका रूपमा परिकल्पना गरेको छ । त्यसैले स्थानीय तहबाट न्यायपूर्ण र निष्पक्षताका आधारमा कार्यसम्पादन गरिनु आवश्यक छ । स्थानीय तहका लागि संविधानको अनुसूची ८ र ९ मा अधिकारको व्यवस्था गरिएको छ र व्यवस्थित अधिकारको प्रयोगका लािग अब विना कुनै विलम्ब स्थानीय शासन सञ्चालन ऐन पारित गरिनु जरूरी छ । निर्वाचित जनप्रतिनिधिले ऐनसम्मत तथा व्यवस्थित ढंगबाट कार्य सञ्चालन गर्न ऐन नभई हुँदैन ।

आवश्यक पूर्वतयारी विना स्थानीय तहको व्यवस्था गरियो । दुई नम्बर प्रदेशलाई छोडेर अन्य सबै प्रदेशमा स्थानीय निर्वाचनबाट गाउँ तथा नगरपालिकाहरूमा निर्वाचित भएर जाने जनप्रतिनिधिहरू आइसकेपनि कतिपय स्थानीय तहमा भौतिक संरचनाको अभाव छ । अहिलेसम्म कतिपय स्थानीय तहमा कार्यालय व्यवस्थापन नै हुन नसकिरहेको यथार्थ विद्यमान छ । कार्यालयको व्यवस्थापन हुन नसक्दा संस्थागत रूपमा काम हुन र सामाजिक आर्थिक विकासले गति लिन नसक्ने निश्चित छ ।

स्थानीय तहमा आवश्यकताअनुसार कर्मचारी व्यवस्थापन गर्ने कार्य पनि समस्यामूलक बन्दैछ । स्थानीय तहमा खटाइएका कर्मचारीले वरिष्ठ र कनिष्ठको किचलो झिक्दै जान मानिरहेका छैनन् । जनशक्तिको समुचित व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । पर्याप्त कर्मचारी नहुने हो भने नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्नो कार्य आरम्भ गर्न पनि कठिनाइ पर्नु स्वाभाविकै हुन्छ ।

स्थानीय तहले राज्यका तीनै अंगको कार्य गर्नुपर्दछ । गाउँ तथा नगर परिषद्हरूले अन्य व्यवस्थापकीय अधिकार प्रयोगको प्रक्रिया प्रदेश कानूनबमोजिम हुने प्रावधान भएकाले प्रदेश सभाले कानून बनाएपछि मात्र स्पष्ट हुनेछ ।

संविधानले गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था गरेको छ । यसअनुरूप न्यायिक समिति गठन भएपनि कानूनको अभावमा उक्त समितिले कुनै पनि काम गर्न सकेको छैन ।

स्थानीय तहबीचको समन्वयका लागि जिल्ला सभा र समन्वय समितिलाई मूर्त रूप दिनुपर्ने खाँचो छ । स्थानीय तहलाई आर्थिक स्रोत बाँडफाँड समेतका लागि प्राकृतिक स्रोत तथा वित्त आयोग गठन हुनु पनि त्यत्तिकै जरूरी छ ।

संविधानले स्थानीय तहलाई सरकारका रूपमा परिकल्पना गरेको छ । त्यसैले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले स्थानीय सरकारका रूपमा कार्यसम्पादन गर्नुपर्छ ।

गाउँपालिका र नगरपालिकामा विजयी प्रतिनिधिहरूले बहुमतको दम्भ प्रदर्शन गर्ने र अल्पमतमा पर्नेहरूले पनि रडाको मच्चाएर काममा अवरोध गर्ने होइन ।

बहुमत ल्याउने र अल्पमतमा पर्ने दुवै पक्षले आपसमा हार्दिक समन्वय कायम राखेर जनसाधारणको हितमा कार्य सम्पादन गर्नुपर्दछ । बहुमतको दम्भ प्रदर्शन गर्दा अल्पमतको चर्को दबाब र काममा अवरोध आउनसक्छ ।

गतिरोधको अवस्था उत्पन्न हुनबाट रोक्न र समस्यालाई विकराल रूप लिन नदिन बहुमत र अल्पमतको राजनीतिक घनचक्करमा पर्नबाट स्थानीय प्रतिनिधि बच्नु जरूरी छ । बहुमतका आडमा नगरसभाबाट कथित जनयुद्धकालको जनसत्ता निर्णयलाई कानूनी मान्यता दिने निर्णय न्यायसम्मत र सर्वमान्य हुनै सक्दैन । यस्तो निर्णय कार्यान्वयनमा ल्याउन खोज्दा विवाद उत्पन्न हुनु कुनै अनौठो होइन । जनसत्ताको निर्णयलाई प्रचलित कानूनअनुरूप वैधानिकता प्रदान गर्न खोज्नु बहुमतका आडमा जोर जबर्जस्तीसिवाय केही होइन ।

संघीय, प्रादेशिक तथा स्थानीय तहका सबै सरकार राष्ट्रिय विकास लक्ष्यका सहयात्री हुन् । समष्टिमा सबैको उद्देश्य राष्ट्रिय विकास प्रक्रियालाई गन्तव्यमा पु–याउने, समृद्धि हासिल गर्ने र जनजीवनको स्तर माथि उकास्ने हो । स्थानीय तहका जनप्रतिनिधिले हामी एउटा प्रणालीको जग बसाउने बृहत्तर कार्यमा लागिरहेका छौं भन्ने यथार्थलाई बोध गर्नु जरूरी छ । त्यसो भएमा आवश्यक द्वन्द्व र तनावमा हाम्रो महत्त्वपूर्ण समय व्यतित हुने छैन । स्थानीय तहलाई संविधानले प्रदान गरेको अधिकार कसैले खोस्न वा सीमित तुल्याउन सक्दैन । सिंहदरबारले अधिकार कटौती गर्न खोज्यो भनेर कोकोहोलो मच्चाउनुको कुनै अर्थ समेत छैन ।

स्थानीय सरकारले संविधानद्वारा आफूलाई प्राप्त अधिकारको प्रयोग र पालना संघीय संसदबाट पारित कानूनबमोजिम गर्नुपर्ने तथ्य मननीय छ ।

स्थानीय तहको गठन हाम्रो सन्दर्भमा नयाँ अभ्यास हो । हिजो स्थानीय निकायबाट कार्यसम्पादन गर्दा जुन परिपाटी विद्यमान थियो अहिले त्यसैलाई सरक्क देखासिकी गर्न सकिने अवस्था छैन । त्यसैले स्थानीय जनप्रतिनिधिले काम गर्नै अनि सिक्दै जाने र असल परम्परा स्थापित गर्ने कार्य गर्नुपर्दछ ।

मूल कुरा आफूले सार्वजनिक पद धारणा गरेको तथ्यलाई ध्यानमा राखी सदासर्वदा सदाशयता राखी काम गर्नुपर्दछ ।

जनताबाट निर्वाचित भएको भनेर पद्धतिसम्मत प्रक्रियालाई पन्छाई व्यक्तिगत तवरमा काम गर्न पटक्कै मिल्दैन । हिजो स्थानीय निकायले गर्नेभन्दा अहिलेका स्थानीय तहले गर्नुपर्ने काम फरक छ । भनिरहन परोइन, फरक कामका लागि फरक क्षमता चाहिन्छ । तुरन्तै केही गरेको देखाउने लोभमा परेर स्थानीय तहका प्रतिनिधिहरूले तत्कालीन महत्त्वका अनुत्पादक कार्यहरूमा हात हाल्न थालेका छन् ।

व्यक्तिगत रूपमा लोकप्रिय देखिने कार्य गर्नेतिर नलहसिएर स्थानीय जनप्रतिनिधिहरूले सार्वजनिक हित र कल्याणका कार्य अगाडि बढाउने प्राथमिकता दिनुपर्छ । स्थानीय जनप्रतिनिधिले सार्वजनिक हित र कल्याणका कार्य अगाडि बढाउन प्राथमिकता दिनु जरूरी छ ।

स्थानीय जनप्रतिनिधिले भावी पुस्ताले स्मरण गर्न लायक दिगो कार्यमा हात हाल्नुपर्दछ । स्थानीय स्रोतसाधन, सम्भाव्यता र क्षमतालाई ध्यानमा राखी जनसमुदायका आवश्यकतालाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै जानु उचित हुन्छ ।

बाटोघाटो, पुलपुलेसा, विद्यालय भवन, खानेपानी, स्वास्थ्य संस्थालगायत जनसमुदायका आवश्यकता सम्बोधन गर्नेतिर पहिलो ध्यान जानुपर्दछ । जनताको उत्पादनशीलता र जीवनस्तर उकास्न सहायक क्रियाकलापहरू कार्यान्वयनमा ल्याउनु जरूरी छ । आफ्नो स्वायत्तता सुनिश्चित गर्न गाउँ तथा नगरपालिकाहरूले आत्मनिर्भर बन्नेतर्फ जानैपर्दछ । गाउँघरमा समस्यै समस्या छन् । सबै समस्या एकैपटक समाधान हनै सक्दैनन् । त्यसैले स्थानीय जनप्रतिनिधिहरूले आधारभूत पक्षमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ । छिटो प्रतिफल प्राप्त हुन सम्भव हुने कुरामा हात हाल्दा आफूप्रति जनविश्वास बढ्न जान्छ भन्ने यथार्थ जनप्रतिनिधिहरूले मनन गर्नु जरूरी छ । फजुल र अनुत्पादक खर्च गर्न हौसिनु उचित हुँदैन ।

शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । यी दुवै क्षेत्रमा राज्यले ठूलो लगानी गर्दै आइरहेको पनि छ । परन्तु यी दुवै क्षेत्रमा व्यापक बेथिति छ । जनसाधारणले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सास्ती बेहोर्नुपरिरहेको छ । समाजलाई शिक्षित र स्वस्थ तुल्याउने प्रयत्नले कालान्तरमा निश्चित रूपमा राम्रो प्रतिफल दिन्छ ।

शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका क्षेत्रमा सेवा प्रवाहको निरन्तरता र गुणस्तरीयतामा सुनिश्चित तुल्याउन स्थानीय जनप्रतिनिधिको ध्यान आकृष्ट हुन जरूरी छ ।

सामुदायिक विद्यालयको दयनीय अवस्थामा सुधारको कार्यले सर्वोपरि प्राथमिकता पाउनैपर्दछ ।

सामुदायिक शिक्षाको गुणस्तरमा व्यापक ह्रास आएको छ । पठनपाठनको वातावरणको एकदमै निराशाजनक छ । स्थानीय जनप्रतिनिधिहरूले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको उद्देश्यलाई सार्थक तुल्याउन नसक्ने कुनै कारण छैन ।

थप स्रोत र साधन आवश्यक नपर्ने बेथिती र अव्यवस्थाका कारण उब्जिएका जनसरोकारका सवाल सम्बोधनलाई प्राथमिकतमा राखेर नेतृत्वले आफ्नो प्रभावकारिता बढाउन सक्दछ ।

समय निःसन्देह बदलिएको छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा पु–याउनुछ । स्थानीय तहका जनतालाई हर दृष्टिले सबल नतुल्याई हुँदैन । सर्वसाधारण जनतालाई सिंहदरबारमा रहेको अधिकार गाउँमा आइपुगेको आभास गराउन जनजीवनको स्तरमा सुधार ल्याउन सहायक कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुपर्दछ र कार्यशैलीमा परिवर्तन ल्याउनै पर्दछ । पुरानै ढर्रामा काम गर्ने हो भने अहिलेको नयाँ संरचना पनि जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात झैं हुने निश्चित छ ।
(लेखक पूर्व गृहसचिव हुन्)

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x